close

हिउँ परेकोे मौका छोपेर दुर्लभ वन्यजन्तुको चोरी सिकारी 

हिउँ परेकोे मौका छोपेर दुर्लभ वन्यजन्तुको चोरी सिकारी 

Trulli
ADVERTISEMENT

बाजुरा- बाजुराको उच्च भेगमा हिमपातसँगै चिसो सुरु भएपछि दुर्लभ वन्यजन्तुको चोरी सिकार बढेको छ । जिल्लाका मार्तडी, दहकोट, मानाकोट, तोली, कैलाशमाडौं, काँडा, रुगिन, छतारा, डोगडीलगायत दर्जनौँ गाउँमा वन्यजन्तुको चोरी सिकार बढेको स्थानीय बताउँछन् ।

 

बाजुराका उच्च भागमा स्थानीय सिकार खेल्न बन्दुक, भाला, खुकुरी लिएर जगंल गएको हिमाली वडा नम्बर २ का धनमल विकले बताए । जिल्लाका हिमाली भेगमा बाक्लो हिमपात सुरु भएसँगै वन्यजन्तु बेंसीतिर आउने भएकाले सिकारीहरू सिकार खेल्न जाने गरेको स्थानीय मंगल कैला सुनाउँछन् ।

 

उनले भने, ‘जंगलमा गएर दुर्लभ तथा संरक्षित वन्यजन्तु डाँफे, कालिज, बँदेल, कस्तुरी मृग, घोरल, बाघ, भालुको सिकार गर्ने गरेका छन् । सिकार खेल्न स्थानीयको समूह १–२ सातासम्म जंगलमा बस्ने गर्छन् ।’

 

सिकारीले भरुवा बन्दुकको प्रयोग तथा पासो प्रयोग गरेर वन्यजन्तु मार्ने गरेका छन् । केहीले भने कुकुर प्रयोग गरेर मृगको सिकारसमेत गर्ने गरेका छन् ।

 

जिल्लाका उच्च भेग पर्ने बडिमालिका, बूढीनन्दा र खप्तड राष्ट्रिय निकुञ्जमा अहिले हिमपात भएपछि वन्यजन्तु काँडा, जयबागेश्वरी, बाह्रबिस, केलाशमाडाैं, रुगिन, बिच्छँया, दहकोट, छतारा, मार्तडीका जंगलमा आउने गर्छन् । 

 

त्यही मौका छोपी स्थानीय सिकार खेल्न जाने गर्छन् । वन्यजन्तुको सिकार गरी सदरमुकाम मार्तडी र गाउँगाउँमा खुलेआम बिक्री हुने गरेको मार्तडीका होटल व्यवसायी बताउँछन् छन् ।

 

एक जना होटल व्यवसायीले भने, ‘जंगलबाट वन्यजन्तु मारेर सदरमुकाम मार्तडीमा डाँफे, मुनाल, कालिज, बँदेल, कस्तुरी मृग, घोरललगायतको मासु बिक्री हुने गरेको छ ।’

 

सदरमुकाम मार्तडीमा प्रतिडाँफे र मुनाल १ हजार ५ सयदेखि २ हजार, कालिज १ हजार रुपैयाँभन्दा बढी मूल्यमा बिक्री हुने गरेको छ । त्यस्तै बँदेल, घोरलको प्रतिकेजी ५ सय र कस्तुरी मृगको मासु प्रतिकेजी १ हजार रुपैयाँमा बिक्री हुने गरेको मार्तडीमा मृगको मासु बेच्दै एक सिकारीले बताए ।


उनले भने, ‘चिसो याममा जंगली वन्यजन्तुको मासु बिक्री बढी हुने हुँदा मूल्य पनि बढी पाइने गरेको छ ।’ सदरमुकाममा सबैभन्दा बढी ठेकेदार, सरकारी कार्यालयका कर्मचारी र व्यापारीले वन्यजन्तुको मासु खरिद गर्ने उनले जानकारी दिए ।

 

यस्तै, बाघको छाला र भालुको पित्त भने चीन, तिब्बत र भारतमा बिक्री हुने गरेको छ ।

 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२० अनुसार संरक्षित पक्षी तथा वन्यजन्तुको सिकार गर्नेलाई ५ वर्षदेखि १५ वर्षसम्म कैद र नगद ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिमाना हुने कानुनी प्रावधान छ ।