close

६ महिनापछि मार्तडी पुग्यो बस 

६ महिनापछि मार्तडी पुग्यो बस 

Trulli
ADVERTISEMENT

बाजुरा- साँफे-मार्तडी सडक खण्ड अवरुद्ध भएको करिब ६ महिनापछि सदरमुकाम मार्तडीमा पहिलोपल्ट ३ वटा बस पुगेका छन् । साँफे-मार्तडी सडक खण्डअन्तर्गत बार्जुगाड, ताँप्रीसेरा, बल्दे, दवारी, तिपाडा, ओलेना र पानीनाउलासम्म सडक भत्किएपछि बस सेवा अवरुद्ध थियो ।


सडक विभागले सडक निर्माण गरेपछि मार्तडीमा बस पुगेको हो । मंगलबार बिहान जयमालिका, भेरी र पवनदूत यातायातका ३ वटा बस यात्रुसहित मार्तडी पुगेका हुन् ।

 

जडांगामा बनाइएको अस्थायी काठे पुलमा जोखिम मोलेरै बस मार्तडी पु¥याइएको चालकले बताए । बल्देदवारी सडक स्तरोन्नति र जडांगा नदीमा बन्ने बेलीब्रिज छिटो निर्माण गर्न सके मार्तडीसम्म नियमित बस सेवा सुरु गर्न सकिने यातायात व्यवसायी बताउँछन् ।

 

लामो समयपछि सदरमुकाम मार्तडीबाटै बसमा यात्रा गर्न पाइने भएपछि स्थानीय खसी भएका छन् । स्थानीय टेक बडुवालले भने, ‘यसअघि धनगढीसम्म जान ३ वटा गाडी फेरेर पाइलैपिच्छे भाडा तिर्नुपथ्र्यो । अब सीधै मार्तडीबाट बसमा धनगढी, महेन्द्रनगर, काठमाडौं र नेपालगञ्ज जान पाइने भयो ।’

 
बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बाजुराबासीका लागि सदरमुकाम मार्तडीबाटै नियमित बस सेवा सञ्चालनका लागि सम्बन्धित निकायसँग पहल गरिरहेको बताए । 

 

गत २५ साउनको बाढीका कारण जडांगामा रहेको बेलीब्रिज बगाएको करिब साढे ४ महिनापछि उक्त ठाउँमा नयाँ बेलीब्रिज निर्माणका लागि सडक डिभिजन कार्यालयले १ करोड ८८ लाख रुपैयाँको ठेक्का खोलेर निर्माण भइरहेको सडक डिभिजन कार्यालय साँफेबगरले जनाएको छ ।

 

करिब २३ वर्षपछि सदरमुकाम मार्तडीसम्म पक्की बनेको सडक बर्खामा सडकमाथि र तलबाट खसेको पहिरोका कारण तहसनहस भएको छ । यसले गर्दा असार, साउन र भदौसम्म सदरमुकाम मार्तडीसम्मको सडकमा नियमित बस सेवा अवरुद्ध हुने गरेको छ ।