close

भोजपुरका आधा दर्जन बढी मतदानस्थल परिवर्तन

भोजपुरका आधा दर्जन बढी मतदानस्थल परिवर्तन

Trulli
ADVERTISEMENT

भोजपुर– सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै जिल्ला निर्वाचन कार्यालय भोजपुरले सकृयता बढाएको छ । कार्यालयले सम्भावित मतदान स्थल र केन्द्रहरुमा हेरफेर गर्ने लगायत सामान्य त्रुटी सच्चाउने काम सुरु गरेको हो ।

 

सरकारले प्रतिनिधिसभा विघटन गरी निर्वाचन गर्ने घोषणा गरेपछि स्थानीय तहका प्रमुखहरुसँग छलफल गरेको छ । बुधबार प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद भण्डारीको अध्यक्षतामा सम्पन्न बैठकले विभिन्न स्थानीय तहमा रहेका फेरबदल गर्नुपर्ने मतदान स्थल तथा मतदान केन्द्र छनोट समेत गरेको छ ।  

 

बैठकले षडानन्द नगरपालिका–२ साविककोे गाविस भवनमा रहेको मतदान स्थललाई परिर्वतन गरेर सावित्री माध्यमिक विद्यालय कुदाकाउलेमा कायम गर्ने निर्णय गरेको छ ।

त्यस्तै सोही नगरपालिका वडा नम्वर ६ जनकल्याण आधारभुत विद्यालयको स्थललाई हटाएर सरस्वती आधारभूत विद्यालय साल्मा कायम गर्ने भएको छ ।

 

अरुण गाउँपालिका–६ साविकको गाविस भवनमा रहेको मतदान स्थललाई हटाएर नयाँ मतदान स्थलका रुपमा महेन्द्रोदय माध्यमिक विद्यालय जरायोटार राख्ने र आमचोक गाउँपालिका– ६ देवानटारको साविकको गाविस भवनमा रहेको मतदान केन्द्र हटाएर नयाँ मतदान स्थल शिक्षाकन्या माध्यमिक विद्यालय देवानटारलाई कायम गर्ने निर्णय भएको छ ।

 

वडा नम्वर ७ मान्द्रे चम्पाला सामुदायिक भवनमा रहेको मतदान स्थललाई परिवर्तन गरेर महिला विकास भवनमा र वडा नम्वर ८ जनजागृति निमावि जरेकोटमा रहेको मतदान स्थललाई हटाएर मुक्ति प्राथमिक विद्यालयमा नयाँ मतदानस्थल कायम गरिएको निर्वाचन कार्यालय भोजपुरका प्रमुख पवनकुमार रेग्मीले जानकारी दिए ।

 

मतदात शिक्षा तथा स्थल र केन्द्रका विषयमा राजनीतिक दल र स्थानीय तहसँग छलफल समेत भइरहेको उनको भनाइ छ । जिल्लाभर ८७ मतदान स्थल र १ सय ५४ मतदान केन्द्र छन् । यसअघिको निर्वाचनमा भन्दा ६ ओटा मतदान केन्द्र थप भएको कार्यालयले जनाएको छ । अबका दिनमा मतदाता अध्यावधिकको काम शुरु गर्ने कार्यालयले जनाएको छ ।