close

नगरपालिकाको बहीखाता खोज्दै बूढीनन्दाबासी

नगरपालिकाको बहीखाता खोज्दै बूढीनन्दाबासी

Trulli
ADVERTISEMENT

बाजुरा– बाजुराको बूढीनन्दा नगरपालिका वडा नम्बर ३ स्थानीयले नगरपालिकालाई ध्यानाकर्षण पत्र सुम्पिएका छन् । नगरबाट भइरहेका विकास निर्माणमा स्थानीयले लाभ लिन नसकेको बताउँदै उनीहरूले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

 

वडा नम्बर ३ वडाध्यक्ष रामबहादुर बोहराको नेतृत्वमा नगर कार्यालय पुगेको टोलीले नगरपालिकाबाट विनियोजित योजना र बजेट जनतामुखी हुनुपर्ने माग राख्दै अलपत्र र अपूरा योजनाको तत्काल निमार्ण अगाडि बढाउन पत्रमार्फत ध्यानाकर्षण गराएको हो ।

 

वडा नम्बर ३ मा निर्माण भएका अलपत्र अवस्थाका सडक सञ्चालनमा ल्याउन आवश्यक पहल गरिदिन नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको वडाध्यक्ष बोहराले जानकारी दिए ।


‘वडा नम्बर ३ का लागि ३ वटै सडक निर्माण भए पनि गाडी सञ्चालनमा नआएकाले यसको औचित्य पुष्टि गर्न नगरपालिकासँग आग्रह गरेका हौँ । नगरपालिकाले सडकको नाममा गरेको विकास र छुट्याएको रकम सदुपयोग हुन नसकेकै कारण निर्माण भएका सडकमा यातायात चल्न नसकेका हुन्’, उनले भने ।

 
स्थानीय सरकारले करोडौँ रकम खर्चिएर निर्माण गरेका सडक अलपत्र र अपूरा अवस्थामा रहेकाले गाडी गुड्ने ठेगान नभएको स्थानीय जंगवीर रोकाया सुनाउँछन् । सडक सञ्चालनमा नआउँदा वडा ३ गर्भवती महिला, बालबालिका र ज्येष्ठ नागरिकलगायतलाई समस्या भएको उनको भनाइ छ ।

 

नगरपालिकाबाट भए÷गरेका सेवा–सुविधा र विकासे योजनाबाट वडा नम्बर ३ का स्थानीय प्रभावित भएको अवस्थामा तत्काल माग सुनुवाइका लागि ध्यानाकर्षण गराउनुपरेको वडाबासी बताउँछन् । अपूरो सडक निर्माणलाई पूर्णता दिएर तत्काल यातायातका साधन सञ्चालन नगरिए आन्दोलनमा जाने चेतावनी उनीहरूले दिएका छन् ।