close

३ दिन बिते पनि उठेन शव : अरुण तेस्रो आयोजनामा तोडफोड हुँदा कराडौँको क्षति 

३ दिन बिते पनि उठेन शव : अरुण तेस्रो आयोजनामा तोडफोड हुँदा कराडौँको क्षति 

Trulli
ADVERTISEMENT

संखुवासभा- दुर्घटना भएको ३ दिन बिते पनि घटनास्थलबाट शव उठाइएको छैन । मृतकका आफन्तले निर्माण कम्पनी अरुण तेस्रोसँग माग गरेबमोजिमको क्षतिपूर्ति नदिएसम्म शव नउठाउने बताउँदै आएका छन् । 

 

गत २९ माघमा मकालु गाउँपालिका वडा नम्बर ३ राजारानी आधारभूत विद्यालयका ४२ वर्षीया शिक्षक खड्गबहादुर राईको अरुण तेस्रो जलविद्युत् आयोजनाको टिपरले ठक्कर दिँदा ज्यान गएको थियो । 

 

मृतकका सन्तानको उच्च शिक्षाको ग्यारेन्टी गरिदिनुपर्ने, श्रीमतीसहित सबै परिवारको जीवन बिमा गरिदिनुपर्ने, मृतकको अन्त्येष्टिका लागि आवश्यक काजकिरिया खर्च दिनुपर्ने, काम गर्दै आएको मकालु गाउँपालिका वडा नम्बर ३ राजारानी आधाभूत विद्यालयमा अक्षय कोष स्थापना गरिदिनुपर्ने, २ शिक्षकको व्यवस्थापन खर्च दिनुपर्नेलगायत ग्यारेन्टी नभएसम्म शव नउठाउने मृतकका भाइ दिलबहादुर राईले बताए ।


समस्या समाधान गर्न कम्पनीका प्रतिनिधिसँग पटक-पटक स्थानीयका मागको विषयमा छलफल भए पनि निष्कर्षमा पुग्न नसकिएको गाउँपालिका उपाध्यक्ष चमेली राईले जानकारी दिइन् । ‘कम्पनीले स्थानीय नागरिकप्रति सद्भाव नदेखाएकाले माग पूरा गर्ने ग्यारेन्टी नभएसम्म शव उठाउने पक्षमा छैनौँ’, उनले भनिन् ।


क्षतिपूर्ति सुनिश्चित गरेर दुर्घटना गराउने चालकलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने, कम्पनी र नागरिकबीचको सम्बन्ध सुधारमा सरकारले ध्यान दिनुपर्ने स्थानीयको माग छ । 


मृतकका आफन्तले भने कम्पनीका प्रतिनिधि क्षतिपूर्तिको विषयमा बोल्न नचाहेकाले यसको ग्यारेन्टी नभएसम्म शव नउठाउने अड्डी लिइरहेका छन् ।


कम्पनीले भन्यो : क्षतिपूर्तिबारे छलफल चल्दै छ 

 

अनपेक्षित दुर्घटनाको क्षतिपूर्तिको विषयमा छलफल भइररहेको निर्माण कम्पनीले जनाएको छ । कम्पनीका आलोक श्रीवात्सवले क्षतिपूर्तिको माग बढी भएकाले टुंगोमा पुग्न नसकिएको दाबी गरे ।


कम्पनीको व्यक्तिगत प्रशासनिक फाँटका प्रमुख जितेन्द्रसिंह रावलले दुर्घटनाको विषयमा ट्राफिक नियमअनुसार क्षतिपूर्ति दिने बताउँदै यस विषयमा सम्बन्धित पक्षसँग वार्ता गरेर निष्कर्षमा पुग्नुपर्नेमा जोड दिए ।


कम्पनी र मृतकका आफन्तबीच क्षतिपूर्तिका विषयमा पटक-पटक छलफल भए पनि यो समाचार तयार पर्दासम्म सहमति जुट्न नसकेको छलफलमा सहभागीले बताए । उनीहरूका अनुसार कम्पनीका आधिकारिक व्यक्ति, स्थानीय प्रशासनलगायतको भेलापछि पीडित पक्ष र कम्पनीबीच छलफल हुने गाउँपालिकाले जनाएको छ ।


कम्पनीको कार्यालयमा तोडफोड 

 

जानीजानी दुर्घटना गराएको भन्दै स्थानीयले अरुण तेस्रो आयोजना कार्यालयमा तोडफोड गरेका छन् । उनीहरूले प्रशानिक भवन र आवासगृहमा प्रवेश गरी तोडफोड गरेका हुन् ।


तोडफोडमा २ दर्जन बढी कम्प्युटर, ल्यापटप, कुर्सी, दराज, टेबल, झ्यालढोकाका सिसा क्षतविक्षत भएका छन् । ५ वटा भारतीय नम्बर प्लेटका गाडी जलाइदिँदा करोडौँ रुपैयाँको क्षति भएको कम्पनीका प्रतिनिधिले बताए । 

क्षतिपूर्तिको विषयमा कम्पनीले ढाँटेको भन्दै घटना भएको भोलिपल्टै आक्रोशित स्थानीयले भारतीय एउटा टिपर जलाइदिएका थिए । 


नेपाली सुरक्षाकर्मीले सुरक्षा दिन सकेनन्

 

घटनापछि तोडफोड र आगजनी हुँदा पनि नेपाली सुरक्षाकर्मीले सुरक्षा दिन नसकेको निर्माण कम्पनीका प्रतिनिधिले बताए । कम्पनीका प्रशासन विभागका जितेन्द्रसिंह रावलले सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी भए पनि प्रशासनिक भवन, आवास, गोदाम तोडफोडसँगै सवारी साधनमा भएको आगजनीले आफूहरू असुरक्षित रहेको बताए ।

 

रावलले भने, ‘कम्पनीका कर्णेल क्षेत्रीलाई कुटपिट गरे । लछारे, कपडा च्यातिदिए । हामीले कसरी सुरक्षानुभूति गर्ने ? स्थानीयले धम्की दिन छाडेका छैनन् । सुरक्षाको विषयमा छलफल भए नेपाली सुरक्षाकर्मीले सुरक्षा दिन नसक्ने प्रस्ताव पेस गर्छु ।’

 

तोडफोडका क्रममा पैसा, ल्यापटप र मोबाइलसमेत लुटेर लगेको दाबी रावलको छ ।

 

कामदार विभेदको परिणाम

 

तोडफोड दुर्घटनाको कारण नभई कामदारबीचको विभेदको परिणाम भएको दाबी छ । घटनापछि आक्रोशित स्थानीयले भन्दा कम्पनीकै कामदार तोडफोडमा उत्रिएकोे देखिएको सुरक्षामा खटिएका सुरक्षाकर्मीले बताए । 


‘प्रशासनिक भवनको प्रत्येक कोठा तोडफोड भएका छन् । कम्पनीको महत्त्वपूर्ण डकुमेन्ट भएका सामग्री जलाइएको छ । नयाँ मान्छेलाई यसबारे जानकारी हुँदैन । यो विभेदमा परेका कामदारको काम हो’, प्रत्यक्षदर्शी स्थानीयले भने, ‘सुरक्षा घेरा तोडेर प्रशासनिक भवनमा आक्रोशित भीड नपसेको र कम्पनीकै कामदार हेलमेट वालाले तोडफोड गरेका हुन् ।’


वडा नम्बर ५ मा रहेको विद्युुत् आयोजनाको भारतीय बीपी-२-ए-७६१० नम्बरको टिपरले ठक्कर दिँदा राईको ज्यान गएको प्रहरीले जनाएको छ । श्रीमतीसहित गाउँपालिका केन्द्र नुम बजार आउँदै गरेको को ३३ प ४८१५ नम्बरको मोटरसाइकलमा सँगै रहेकी श्रीमती प्रेमकुमारी राई शक्त घाइते भएकी छन् ।

 

घाइते प्रेमकुमारीलाई हेलिकोप्टरबाट उपचारार्थ काठमाडौंको हेल्पिङ हेन्ड्स सामुदायिक अस्पतालमा लगिएको संखुवासभाका डीएसपी नवराज मल्लले जानकारी दिए ।

 

दुवै सवारी साधन उत्तरबाट दक्षिणतिर आइरहेका थिए । आयोजनाको टिपर माटो फाल्न आइरहेकामा मोटरसाइल सोही दिशामा जाँदै थियो । माटो फाल्न टिपर केही ब्याक सर्दा जानाजान ठक्कर दिएको घटनाका प्रत्यक्षदर्शी किशोर राईले दाबी गरे ।

 

ठक्कर दिएर ढलेको मोटरसाइलमा सवार उनकै श्रीमतीलाई समेत ब्याक गरेर किच्न खोज्दा आफूहरू आएर बचाएको उनले दाबी गरे । घटनालगत्तै कम्पनीका कर्णेल क्षेत्री भने शव गाड्न गाडीसहित आएपछि घटनास्थलबाट शव उठाउन नदिएर पुलको काम गरेको किशोर राई सुनाउँछन् ।