close

खप्तड छेडेदह देशकै नमुना गाउँपालिका घोषित 

खप्तड छेडेदह देशकै नमुना गाउँपालिका घोषित 

Trulli
ADVERTISEMENT

बाजुरा- बाजुराको खप्तड छेडेदह गाउँपालिमा ‘एक घर एक बैंक खाता’ अभियान सम्पन्न गर्ने नेपालकै पहिलो गाउँपालिका घोषणा भएको छ । हिमालयन बैंकको छेडेदह शाखाको सहकार्यमा उक्त अभियान सम्पन्न भएको हो ।

 

पालिकामा ३ हजार २ सय ३४ घरधुरी छन् । सबै परिवारको १ जना बढीको बैंकमा खाता रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णराज जोशीले बताए ।

 

२२ हजार १ सय ३५ जनसंख्या रहेको गाउँपालिकामा करिब १ वर्षको अवधिमा बैंकले उक्त अभियानअन्तर्गत ९ हजार ४ सय ७६ खाता खोली सञ्चालनमा ल्याएको थियो ।


'वित्तीय चेतनामा अभिवृद्धि : सन्तुलित आर्थिक गतिविधि आत्मनिर्भरताका लागि बैंक खाताबाट बचत वृद्धि’ नारा तय गर्दै गाउँपालिकाले हिमालयन बैंकमार्फत अभियान चलाएको पालिका अध्यक्ष नरबहादुर रावतले जानकारी दिए ।

 

शुक्रबार गाउँपालिकामा आयोजित कार्यक्रममा उक्त घोषणा गरिएको हो । २०७६ को नयाँ वर्षमा सरकारले ‘समृद्धिसँग जोडौँ नाता : सबै नेपालीको बैंक खाता’ नारासहित खोलौँ बैंक खाता अभियान घोषणा गरेको थियो ।

 

कार्यक्रम उद्घाटन गर्दै राष्ट्र बैंक सुदूरपश्चिम प्रादेशिक कार्यालयका निर्देशक शुभाषचन्द्र घिमिरेले बैंक तथा वित्तीय संस्थाको सहभागितामा मात्र आर्थिक गतिविधि सहज हुने तथा विकासका कार्यक्रमले गति लिने बताए ।
 

घिमिरेले भने, ‘यस क्षेत्रको बैंकिङ चेतना स्तर निकै उच्च रहेको देखियो । यो नेपालकै वित्तीय साक्षरता अभियानका लागि नमुना भएको छ ।’

 

कार्यक्रममा बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले छोटो समयमै सम्पन्न यस खाले कार्यक्रमले गाउँपालिकाको 'वित्तीय चेतनामा अभिवृद्धि : सन्तुलित आर्थिक गतिविधि आत्मनिर्भरताका लागि बैंक खातामार्फत बचत वृद्धि' नारालाई वास्तविकतामा परिणत गर्ने बताए ।

 
स्थानीय सुर्जादेवी रावतले हिमालयन बैंकले सञ्चालन गरेको अभियानले गाउँपालिकालाई नै नमुना पालिकाको रूपमा चिनाएको तथा स्थानीयलाई बैंकिङ सचेतना र सेवामा उल्लेख्य वृद्धि गरेको बताइन् ।

 

स्थानीय व्यवसायी लालबहादुर रावतले हिमालयन बैंकको शाखा स्थापनाले जिल्ला सदरमुकाम मार्तडी तथा धनगढीबाट लिइरहेको आधुनिक बैंकिङ सेवा आफ्नै घरदैलोमा आएकाले नागरिकको जीवनस्तरमा सकारात्मक सुधार भइरहेको जानकारी दिए ।
 
गाउँपालिका अध्यक्ष नरबहादुर रावतले नेपालमा बैंकिङ सेवाको सुरुआत भएको ८६ वर्षपछि मानव विकास सूचकांकको अन्तिम स्थानमा रहेको बाजुराको स्थानीय निकाय वित्तीय साक्षरता अभियानमा नमुनाको रूपमा उदाएकामा खुसी व्यक्त गरे । 

 

कार्यक्रममा बाजुराका सबै सुरक्षा निकायका प्रमुख, ३१ वटा सार्वजनिक विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थी, राजनीतिक दलका प्रतिनिधि, सर्वसाधारणलगायत करिब ५ हजार जनाको उपस्थिति थियो ।