close

काल्चेको डरलाग्दो भीरमा सिँढी छोपेर जोखिमको यात्रा

चिप्लिए बूढीगंगाले खाने त्रास 

काल्चेको डरलाग्दो भीरमा सिँढी छोपेर जोखिमको यात्रा

चिप्लिए बूढीगंगाले खाने त्रास 

Trulli
ADVERTISEMENT

बाजुरा– बाजुराको गौमूल गाउँपालिकामा रहेको काल्चेको भीरमा सिँढीको सहारामा स्थानीय जोखिम मोलेरै यात्रा गर्न विवश छन् ।

 

गत २५ भदौमा आएको बाढीपहिरोले बनाएको बाटो र सडक बगाएपछि स्थानीयले जोखिम मोलेरै आउजाउ गर्नुपर्ने बाध्यता आइलागेको हो । 

 

देख्दै निकै डरलाग्दो भीर । त्यसैमा काठको सिँढीमा जोखिम यात्रा गर्नु परेको स्थानीयको गुनासो छ । काल्चेको भीर गौमूल गाउँपालिका वडा नम्बर ६ र २ को बीचमा पर्छ । 

 

‘यो भीरमा आउजाउ गर्दा आङै सिरिंग हुन्छ । त्यसैमा काठको सिँढीको सहायता लिएर त्रासपूर्ण वातावरणमा ओहोरदोहोर गर्नुपरेको छ’, गाँउपालिका अध्यक्ष हरिबहादुर रोकायाले भने ।
 
काठको सिँढीमा ओहोरदोहोर गर्दा अलिकति चिप्लियो सीधै तल बूढीगंगा नदी खसिने स्थानीय पदम नेपाली सुनाउँछन् । यो भीरलाई जिल्लामै जोखिम यात्राका रूपमा लिने गरिएको उनले बताए । ‘पहिला पनि निकै जोखिम हुने गरेको थियो । बाढीपहिरोले बाटो बगाएपछि थप जोखिम बढेको छ’, नेपालीले भने ।
 
भीरमा खाली हिँड्दा ज्यान जोखिममा पर्ने अवस्था रहेकाले भारी बोकेर गए बूढीगंगामा हराइने त्रास रहेको वडा नम्बर १ का वडाध्यक्ष बलबहादुर रोकायाले बताए । ‘यो बाटो भएर गौमूलको वडा नम्बर १, २ र ३ का स्थानीय ओहोरदोहोर गर्छन् । ३ वटै वडाबासीले गाउँपालिकाको कार्यालय आउन पनि यही बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ,’ रोकायाले भने ।

 

सामान ढुुवानी साधनको रूपमा रहेको खच्चर पनि भदौबाट बन्द हुँदा गाउँपालिकाको वडा नम्बर १, २ र ३ मा विकास निर्माणका कामसमेत प्रभावित रोकायाले जानकारी दिए ।
 
गाउँपालिका अध्यक्ष हरिबहादुर रोकाया बाढीपहिरोका कारण बाटो निर्माण गर्न समस्या रहेको बताउँछन् । ‘काम गर्न लगाइरहेका छाँै । धेरै अप्ठेरो भएकाले समय लाग्छ । नागरिकलाई केही सहज होस् भनेर गाउँपालिकाले सिँढी निर्माण गरेको हो’, अध्यक्ष रोकायाले भने ।


भीरमा सिँढी आउजाउ गर्न महिला, बालबालिका र वृद्धलाई झनै समस्या रहेको स्थानीय हीरेन्द्र रोकायाले सुनाए । ‘बलियाबांगाले त जसोतसो पार गर्छन् । अशक्त, अपांगलाई निकै सकस हुने गरेको छ,’ उनले भने ।

 

गाउँपालिका उपाध्यक्ष सीता रोकायाले पनि जोखिम यात्राले सास्ती दिएको बताइन् । गाउँपालिकाबाट वडामा सामान ढुुवानीसँगै स्थानीयलाई खाद्यान्न लैजान समस्या भएको उनले भनाइ छ ।