close

पोखरामा पार्किङ विवादः महानगरको टेण्डरविरुद्ध वडाको सूचना

पोखरामा पार्किङ विवादः महानगरको टेण्डरविरुद्ध वडाको सूचना

Trulli
ADVERTISEMENT

पोखरा- अहिले पोखराका सार्वजनिक ठाउँमा पार्किङकै तनाव छ । चौविसै घण्टाजस्तो यहाँका सडकमा पार्किङ शुल्क असुलिन्छ । सरकारी कार्यालयदेखि होटल रेष्टुरेष्टको अघि पुग्ने वित्तिकै चिट बोकेर आईपुग्छन्, पार्किङ शुल्क उठाउनेहरु । 


यो कार्यप्रति सेवाग्राही असन्तुष्ट छन् । पोखराभित्र उठाउने पार्किङको पोखरा ४ नम्बर वडाले विरोध गरेको छ । अध्यक्ष शंकर बास्तोलाले विज्ञप्ति नै जारी गरेर पार्किङ उठाउने काम नै बन्द गर्नुपर्ने बताए । ‘जे कुरामा पनि कर लगाउन हुँदैन । आफ्ना घरअघि गाडी राख्दा पनि पार्किङ शुल्क तिर्नुपर्ने ?,’ उनले भने, यो सरासर अन्याय हो । टेण्डर खारेज गरेर नयाँ अवधारणा अनुसार अघि बढ्नुपर्छ ।’ 


उनले निश्चित ठाउँमा पार्किङको व्यवस्था गरेर शुल्क लिनुपर्ने सुझाव दिए । बास्तोलाले ठेक्का प्रक्रियामा समेत शंका गरेका छन् । ‘कोरोना देखाएर १ वर्षपछि सम्झौता भएको छ । कार्यपालिका बैठकमै असहमति पनि भएको थियो,’ उनले अघि भने, ‘एकै पटक पार्किङ उठाउनेहरु छ्यापछ्याप्ती देखिन थाले । यो राम्रो भएन ।’ उनले मंसिरमै पार्किङ नउठाउन पत्र पठाएका थिए । तर अहिलेसम्म उनको पत्रको सुनुवाई भएको छैन ।


पार्किङकै कारण थला परेका व्यवसायमा थप धक्का लाग्ने भन्दै पोखरा उद्योग वाणिज्य संघका प्रतिनिधिहरुले पनि लिखित रुपमा विरोध गरे । ‘व्यापार चौपट छ । ग्राहकहरु पसलमा छिर्न मान्दैनन् । त्यसमाथि गाडी रोक्ने वित्तिकै पार्किङको चिट लिएर आएपछि किन्ने मान्छेहरुमा मुड हुँदैन र फर्किन्छन्,’ उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष अर्जुन पोखरेल भन्छन्, ‘निश्चित ठाउँ तोकेर पो शुल्क उठाउने । सार्वजनिक ठाउँमा यसरी उठाउँदा बिजनेस चेन विग्रिन्छ ।’ व्यवसायीका प्रतिनिधिहरुले पटक पटक महानगरको ध्यानाकर्षण गराउँदा पनि पार्किङ शुल्क लिने क्रम जारी छ । 


चौतर्फी विरोध भएपछि पोखराको पार्किङ विरुद्ध जिल्ला अदालतमा मुद्धा पर्‍यो । निवेदकले शुल्क खारेज गर्न माग गरेपनि अदालतले आवतजावत नविग्रिने गरी व्यवस्था मिलाउन फैसला गरिदियो । महानगरपालिकाका राजश्व शाखा प्रमुख गणेश पाण्डे सूचना अनुसार बैधानिक रुपमै टेण्डर निकालेर पार्किङको सम्झौता गरेको बताउँछन् ।

 

‘अघिल्लो वर्ष नै गर्ने तयारी थियो । कोभिडले पछि धकेलियो,’ उनले भने, ‘व्यवस्था अनुसार नै टेण्डर आह्वान भएको छ । सोही अनुसार ठेक्कामा गएको छ ।’ महानगरले २ वर्षका लागि ३ करोड १७ लाखमा ठेक्का दिएको हो ।