close

मोहन्यालमा पहिलो पटक पुग्यो बस

स्थानीयले लगाइदिए फूलमाला र अबिर 

मोहन्यालमा पहिलो पटक पुग्यो बस

स्थानीयले लगाइदिए फूलमाला र अबिर 

Trulli
ADVERTISEMENT

धनगढी– कैलालीको मोहन्याल गाउँपालिकामा पहिलो पटक बस पुगेको छ । सुगम जिल्लाको विकट क्षेत्र मानिने मोहन्याल गाउँपालिका वडा नम्बर १ खिमडीमा पहिलो पटक बस पुगेको हो । 

 

मोटर बाटोको ट्रयाक खोलिएको १४ वर्षपछि पहिलो पटक बस पुगेसँगै स्थानीय हर्षित भएका छन् । मोहन्याल गाउँपालिकाको कार्यालयसम्म पहिलो पटक बस पुगेपछि स्थानीयले फूलमाला र अबिरले स्वागत गरे ।

 

‘पहिलो पटक हाम्रो घरआँगनमै बस आइपुग्यो’, खिमडीका स्थानीय पुष्प कुँवरले भने, ‘सडकको स्तरोन्नतिसँगै अब बस सेवालाई नियमित गर्नुपर्छ ।’

 

घोडाघोडी नगरपालिकाको डोके बजारदेखि मोहन्याल गाउँपालिका कार्यालय रहेको खिमडीसम्म साना जिप र ट्रयाक्टर सञ्चालनमा आए पनि सडक समस्याका कारण ठूला गाडी गाउँ पुग्न सकेका थिएनन् । केन्द्र, प्रदेश र गाउँपालिकाको समन्वयमा सडक निर्माण भएपछि गाउँमा बस पुगेको हो ।

 

मोहन्यालमा बस पुगेसँगै स्थानीय उत्पादनले पनि सहजै बजार पाउनेछन् । ‘हामीले उत्पादन गरेका तरकारी, सुन्तला तथा अन्यबाली बजार नपाउँदा खेर गइरहेका थिए’, स्थानीय हर्कबहादुर थापाले भने, ‘अब बसमा सजिलैसँग बजारसम्म पुर्‍याउन सकिने भयो ।’

 

स्थानीय बिरामी हुँदासमेत यातायातको असुविधाका कारण उपचार पाउन वञ्चित थिए । खिमडीकी गीता ओलीले भनिन्, ‘अस्पतालसम्म जान नसक्दा कति गर्भवती महिलाले बाटोमै ज्यान गुमाउनुपरेको थियो । अब गाउँमा गाडी पुगेको छ । सजिलो हुन्छ ।’

 

यसअघि साँघुरा सडकमा जिप तथा ट्रयाक्टरले स्थानीयबाट महँगो भाडा असुलिरहेका थिए । अब त्यो समस्याबाट पनि छुटकारा मिलेको छ ।

 

पौण्डन–खिमडी सडक स्तरोन्नति तथा कालोपत्रेका लागि संघको ७५ प्रतिशत, प्रदेशको १० र स्थानीय सरकारको १५ प्रतिशत लागतमा सडक निर्माण भइरहेको वडा नम्बर २ का वडाध्यक्ष देवीदत्त उपाध्यायले जानकारी दिए ।

 

‘गाउँपालिकाको कार्यालय खिमडीसम्म बस पुगेको छ’, उपाध्यायले भने, ‘सडक निर्माणको काम जारी छ । अबको केही समयमै मोहन्याल गाउँपालिकाभरि यातायात सञ्चालन हुनेछ ।’

 

गाउँपालिकाको कार्यालयसम्म पहिलो पटक शनिबार गुराँस सुपर यातायात प्रालिको बस घोडाघोडीको डोके बजार– सिमली–बढिखर्क–बजाडी–पौण्डन हुँदै खिमडी पुगेको हो । सिमलीबाट खिमडीसम्म पुग्न ५२ किलोमिटरको दूरी पार गर्नुपर्छ ।