close

पोखरा महानगर र लन्डन मितेरी साइनोमा गाँसिँदै

पोखरा महानगर र लन्डन मितेरी साइनोमा गाँसिँदै

Trulli
ADVERTISEMENT

कास्की- कास्कीको पोखरा महानगरपालिका र बेलायतको लन्डन बरो अफ बार्नेटबीच भगिनी सम्बन्ध गाँसिने भएको छ । लन्डन बरो अफ बार्नेटको बैठकले पोखरा महानगरपालिकासँग भगिनी सम्बन्ध गाँस्ने निर्णय गरेको हो ।

 

बेलायत र नेपालबीच ऐतिहासिक सम्बन्ध रहेको र दुई नगरबीच भगिनी सम्बन्ध कायम हुँदा सम्बन्ध जनस्तरमा विस्तार हुने विश्वास लिइएको छ ।

 

लन्डन बरो अफ बार्नेटकी मेयर डा. क्यारोलिन स्टकले बार्नेटमा नेपालीको बसोबास बाक्लो रहेकाले उनीहरूको नेपालसँगको सम्बन्ध सम्झाइराख्न यो सम्बन्ध महत्त्वपूर्ण हुने बताइन् । ‘यसले नेपाल र बेलायतबीच सम्बन्ध थप प्रगाढ हुनेछ । सम्बन्ध गाँसेपछि एकापसमा सहकार्य र सहयोगसमेत मिल्नेछ’, उनले भनिन् । 

 

यो सम्बन्धले दुई नगरबीच सांस्कृतिक, आर्थिक, शैक्षिक तथा सामाजिक क्षेत्रमा सहयोग पुग्ने विश्वास लिइएको छ । भगिनी सम्बन्धको पहल बार्नेटका उपमेयर लक्ष्य गुरुङले गरेका थिए । भगिनी सम्बन्धले दुई मुलुकबीचको ऐतिहासिक सम्बन्ध थप मजबुत हुने गुरुङको भनाइ छ । 


‘२००५ देखि नै यसको पहल गरेको थिएँ । पहिले पदमा नभएर पनि गाह्रो भयो’, उनले भने, ‘अहिले सर्वसम्मत प्रस्ताव पास भएको छ । निकै खुसी छु ।’

 

आउँदो १९ मेमा सार्वजनिक कार्यक्रम गरेर भगिनी सम्बन्धबारे घोषणा हुनेछ । उक्त समारोहमा भर्चुअल माध्यमबाट पोखरा महानगरका जनप्रतिनिधि पनि सहभागी हुनेछन् । 

 

बेलायतको सहरसँग पोखरालाई जोड्ने निर्णय सुन्दा खुसी लागेको पोखराका प्रमुख मानबहादुर जिसी बताउँछन् । ‘यो देशकै लागि खुसीको कुरा हो । पोखराका लागि झनै खुसी थपेको छ’, जिसीले भने, ‘यो सम्बन्ध जुनीजुनीसम्म रहनेछ । एकअर्कालाई दुःख पर्दा साथ र समर्थन मिल्ने विश्वास छ ।’

 

ब्रेकन सिटी र कास्कीकै धम्पुसबीच पनि मितेरी साइनो गाँसिएको छ । पोखराले दक्षिण कोरिया, चीन, जापानलगायत विभिन्न देशका नगरसँग सम्बन्ध गाँसिसकेको छ ।