close

बाजुरामा सर्तसहित खोलियो निषेधाज्ञा 

बाजुरामा सर्तसहित खोलियो निषेधाज्ञा 

Trulli
ADVERTISEMENT

बाजुरा- बाजुरामा गत २२ वैशाखदेखि जारी निषेधाज्ञा बजार खोल्न दिने गरी अर्को सूचना जारी नभएसम्मका लागि खुकुलो पारिएको छ ।


जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकले बिहान ६ देखि अपराह्न ६ बजेसम्म पसल तथा बजार खोल्न दिने निर्णय गरेको हो ।


बाजुरामा कोरोना संक्रमणदर कम हुँदै गएपछि निषेधाज्ञालाई खुकुलो बनाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए ।


बाजुरामा एक साताभित्र ५१ जनाको परीक्षण गर्दा ९ जनामा कोरोना संक्रमण पुष्टि भएपछि संक्रमण दर न्यून भएको भन्दै निषेधाज्ञा खुकुलो पार्ने निर्णय गरिएको उनको भनाइ छ ।


मंगलबारदेखि लागू हुने गरी सैलुनबाहेक होटल तथा मदिरा, अन्य पसल खुला राख्ने र जिल्लाभित्र सवारी साधन सञ्चालन गर्न दिने गरी निषेधाज्ञा खुकुलो पारिएको छ ।


जिल्लाबाहिर जाने सवारी साधनका लागि भने जिल्ला प्रशासन कार्यालय बाजुराबाट सवारी पास लिएर मात्र चलाउने र सरकारी तथा गैरसरकारी कार्यालयले भीडभाड नहुने गरी आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर सेवा प्रवाह गर्नुपर्नेछ ।


 त्यसैगरी कुनै स्थानीय तह तथा वडाहरूमा कोरोना संक्रमितको संख्या बढेको पाइए सम्बन्धित स्थानीय तह वा वडाले जुनसुकै बेला निषेधाज्ञा कडाइ गर्न सक्ने जिल्ला प्रशासनले बताएको छ ।


विद्यालयलाई स्वास्थ्य सावधानी अपनाएर विद्यार्थी भर्ना, पाठ्यपुस्तक वितरण अगाडि बढाउन स्थानीय तहले आवश्यक निर्देशन दिने र अनुगमन पनि गरिनेछ । पठनपाठनका लागि भने भौतिक उपस्थिति नगराई वैकल्पिक उपाय अवलम्बन गरिने भएको छ ।
 

बजारमा मास्क नलगाई हिँड्ने, सवारी साधन चलाउने तथा स्वीकृति नलिई जिल्लाबाहिर सवारी साधन लैजाने, सिट क्षमताभन्दा बढी यात्रु चढाउनेमाथि पूर्वसूचनाबमोजिमको जरिमाना गर्ने निर्णय यथावत राखिएको छ ।