close

बेलकाको कबुलियती वन विवादः स्थानीय र प्रहरीबीच झडप, प्रहरीले चलायो गोली 

बेलकाको कबुलियती वन विवादः स्थानीय र प्रहरीबीच झडप, प्रहरीले चलायो गोली 

Trulli
ADVERTISEMENT

उदयपुर– उदयपुरको बेलका नगरपालिका घेर्न पुगेका स्थानीयबासीलाई नियन्त्रण गर्न प्रहरीले २५ राउण्ड अश्रु ग्यास र १० राउण्ड हवाई फायर गर्दा दर्जन बढी घाइते भएका छन । 

 

बेलका नगरपालिका घेर्न पुगेका स्थानीयबासी र प्रहरीबीच झडप हुँदा दर्जन बढी प्रहरी र आन्दोलनकारी घाइते भएका छन् ।


नगरपालिकामा कबुलियती वनको विषयमा स्थानीय र प्रहरीबीच झडप भएको हो । सरकारको ६ जेठको निर्णय अनुसार बेलका नगरपालिका वडा नम्बर ३ स्थित कोशी टप्पुको करिब १ सय ७६ दशमलव २३ हेक्टरमा कबुलियती वन बनाउने निर्णयसँगै स्थानीय आन्दोलित भएका हुन् ।


कबुलियती वन ठेक्का लिने बराह हर्बल एण्ड एग्रो प्रालि सुनसरीका संचालक निलहरि काफ्लेले स्थानीयबासीलाई उठाउने प्रयास गरेपछि स्थानीयबासी नगरपालिका घेर्न आएका थिए । आन्दोलनकारीले बेलका नगरपालिकामा ढुंगामुढा गरी तोडफोड गर्न थालेपछि प्रहरीले २५ राउण्ड अश्रुग्यास प्रहार गरेको स्थानीय पत्रकार ललित चाम्लिङ राईले जानकारी दिए ।

 

उनका अनुसार आन्दोलनकारी माथि २५ राउण्ड अश्रुग्यास प्रहार गर्नुको साथै १० राउण्ड हवाइ फायर गरेको छ ।आन्दोलनकारी र प्रहरीबीच भएको भिडन्तमा १० जना भन्दा बढी घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पताल र केहीलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । 

 

१४ जना आन्दोलनकारीलाई प्रहरीले पक्राउ गरेको छ । विरोधमा उत्रिएका स्थानीयबासी बेलका नगरपालिका वडा नं. ३, ८ र ९ का स्थानीयबासी हुन् । आन्दोलनकारीको ढुंगामुढाले बेलका नगरपालिका भवनको सिसामा क्षति पुगेको छ भने प्रमुख प्रकासकीय अधिकृत चढ्ने गाडी पनि तोडफोड भएको छ ।


जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी बेदप्रसाद गौतमका अनुसार आन्दोलनकारीलाई नियन्त्रण गर्न केही राउण्ड अश्रु ग्यास र हवाइ फायर भएको हो  । आन्दोलनकारी र प्रहरी दुवै पक्ष घाइते भएकोले घाइतेको तथ्याङ्क संकलन भइरहेको जनाएको छ । अहिले घटना स्थलमा ६ राजनीतिक दलको बैठक जारी रहेकोले घटनाको थप विवरण आउँन बाँकी छ ।