close

सोलु करिडोर प्रसारण लाइनको टावर अन्यत्र सार्न माग गर्दै कटारी नगरमा ताला

सोलु करिडोर प्रसारण लाइनको टावर अन्यत्र सार्न माग गर्दै कटारी नगरमा ताला

Trulli
ADVERTISEMENT

उदयपुर- राष्ट्रिय गौरवको सोलु करिडोर डबल सर्किट १३२ केभी प्रसारण लाइनको एलाइमेन्ट परिवर्तन गर्न माग गर्दै उदयपुरको कटारी नगरपालिका वडा नम्बर ४ मरुवाका स्थानीयले पालिकाको कार्यालयमा ताला लगाइदिएका छन् । 


कटारी नगरपालिकामा सोलु कोरिडोर विद्युत प्रशारण लाइनको विवादले ३ वर्षदेखि रोकिएको काम आयोजनाले सुरु गर्न थालेपछि स्थानीयले नगरपालिकामा तालाबन्दी गरेका हुन् । 

 

 विद्युत् प्रसारण लाइनको टावर मरुवा हरित सामुदायिक वन क्षेत्रमा निर्माण गर्न र बस्तीमा टावर निर्माण गर्न नदिने अडानसहित उनीहरुले तालाबन्दी गरेका हुन ।


लामो समयको अवरोधपछि आयोजनाले सुरक्षाकर्मी परिचालन गरेर काम अगाडि बढाइएको छ । निर्माणाधीन सोलु करिडोर प्रसारण लाइनको विवादित क्षेत्रमा स्थानीय प्रशासनले सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरी काम सुरु गरेको छ । 


माग सम्बोधन नगरी प्रहरी परिचालन गरिएपछि नगरपालिकाको कार्यालयमा तालाबन्दी गर्नुपरेको स्थानीय डाकबहादुर थापाले बताए । 

 

रुट परिवर्तन गर्न प्रधानमन्त्री कार्यालय, ऊर्जामन्त्री, विद्युत प्राधिकरणका कार्यकारी निर्देशकलाई भेटेर माग राख्दै आएको कटारी नगरपालिका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताए । 

 

कटारी नगरपालिकाले सोलु करिडोरको रुटमा पर्ने मरुवा क्षेत्रका १६ घरपरिवारले भोगचलन गर्दै आएको जग्गाको प्रतिधुर २ लाख ५० हजार रुपैयाँका दरले मुआब्जा दिन सिफारिस गरेको थियो । तर, प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको समितिले प्रतिधुर १ लाख रुपैयाँ मात्र दिने निर्णय गरेपछि समस्या आएको नगर प्रमुख श्रेष्ठले बताए ।

 

मरुवा क्षेत्रका ऐलानी तथा नम्बरी जग्गाको प्रतिकठ्ठा ४ लाख नपर्ने जग्गालाई २० लाख रुपैयाँ मूल्यांकन गर्दा अवरोध नहटेपछि बाध्य भएर प्रहरी परिचालन गरेर काम थालिएको प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईंले जानकारी दिए ।

 

९० किलोमिटर प्रसारण लाइनमध्ये ४५ किलोमिटरमा डबल सर्किट लाइन (तार) टांग्ने काम सकिएको छ ।  योे प्रसारण लाइन निर्माण भएपछि सोलु र आसपास क्षेत्रका आयोजनाबाट हाल उत्पादित र निर्माणाधीन विद्युत् सोलु, ओखलढुंगा र उदयपुरमा वितरण गरी बाँकी राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ ।