close

फर्किनै सकेनन् गाउँका सरकार 

फर्किनै सकेनन् गाउँका सरकार 

Trulli
ADVERTISEMENT

पोखरा– बाढी र पहिरोले विस्थापित भएका गण्डकीका दुई गाउँ सरकार अझै गाउँ फर्किन सकेका छैनन् । १ असारदेखि परेको अविरल वर्षाका कारण मनाङको नाशों गाउँपालिका पूरै मर्स्याङदीमा बग्यो । कागजपत्र समेत नरहने गरि पालिका कार्यालय बगेपछि नाशोंको कार्यालय धारापानीबाट लमजुङ सदरमुकाम सारियो । लमजुङबाटै बजेट समेत ल्याएको छ । तर बाढी आउने क्रम नरोकिएकोले अझै गाउँ फर्किने सुरसार छैन । 

 

‘भदौ अघि त फर्किन गाह्रो छ । त्यता गएर पनि कहाँ बस्ने ? कार्यालय कहाँ राख्ने ? कागजपत्र केही छैन, सबै नयाँ संरचना बनाउनुपर्छ,’ अध्यक्ष चन्द्र घलेले भने,‘यो महिना यतैबाट चलाउनुपर्ला । भदौ लागेपछि केहि उपाय हुन्छ कि ?’ 

 

यसपालिको बजेट पनि पूरै विपद् न्युनिकरण र कोभिड नियन्त्रणमा केन्द्रीत गरिएको उनले सुनाए । ‘गाउँलेका घर छैनन् । मर्स्याङदीले हुनुसम्मको दुख दियो,’ उनी भन्छन्, ‘कोरोनाले उस्तै सताएको छ । अब सकेजति काम गर्नैपर्‍यो । अहिलेको बजेट त्यतैतिर लगाएका छौं ।’ नाशोंमा बैंक र प्रहरी कार्यालय पनि बगाएको छ । 

 

नाशों जस्तै गोरखाको धार्चे गाउँपालिका पनि धादिङबाट संचालित छ । पालिकामा विद्युत र इन्टरनेट नभएपछि आर्थिक कारोबारमा समस्या भएकोले आरुघाटबाट कार्यालय चलाइएको उपाध्यक्ष फूलमाया गुरुङले बताईन् । ‘हामी धेरै बस्दैनौं । आर्थिक हिसावकिताव भयो । धेरै योजनाको फरफारक पनि भैसकेको छ,’ उनले भनिन्, ‘अब उतै जाने होला । जसोतसो काम चलाउनुपर्छ ।’ आर्थिक वर्षको अन्तिम भएकोले पालिकाबाट काम गर्न नसकेको उनले सुनाइन् । 

 

उनका अनुसार अर्को सातासम्म माछिखोलामा कार्यालय सार्ने तयारी छ । नाशोंले भने भदौबाट दानाक्यूबाट कार्यालय चलाउने भएको छ । मस्र्याङदीको कटान बढी भएपछि समथर जमिन पनि कम छ ।

 

 केही सुरक्षित रहेको दानाक्यूमा अस्थायी कार्यालय सुरु गर्ने योजना रहेको अध्यक्ष घलेले जानकारी दिए । मनाङ ङिस्याङ गाउँपालिकाले पनि गाउँसभाका सदस्यहरु भेला हुने अवस्था नभएपछि भर्चुअल माध्यमबाट बजेट ल्याएको थियो । 

 

अहिले गण्डकीका अधिकांश स्थानीय सरकार बाढी पहिरोको चपेटामा छन् । अधिकांशले बजेट ल्याएका छन् भने केही पालिकाले अझै बजेट सार्वजनिक गर्न सकेका छैनन् । कतिपय पालिकाहरु बजेट सार्वजनिक गरेपनि बाढी पहिरोको डरले सदरमुकाम झरेका छन् ।