close

जुम्लाको भेडाखर्क पाटनमा चट्याङमा परेर एकै पटक मरे ४० भेडा 

जुम्लाको भेडाखर्क पाटनमा चट्याङमा परेर एकै पटक मरे ४० भेडा 

Trulli
ADVERTISEMENT

जुम्ला– जुम्लाको गुठीचौर गाउँपालिकाको पाटनमा सोमबार चट्याङ लागेर भेडाबाख्रा मरेका छन् । चट्याङ लागेर करिब ४० भेडा मरेका छन् भने १५ भेडा घाइते भएका छन् ।

 

गुठीचौर गाउँपालिकाको वडा नम्बर ४ स्थित सामुदायिक वनको चिमारा लेक नजिकै डाबमा चट्याङ लागेर सोही वडाका स्थानीय नानो भण्डारीका १०, मुनबहादुर भण्डारीका ४, मुणिप्रसाद अधिकारीका १७ र देवीप्रसाद अधिकारीका ९ भेडा मरेको इलाका प्रहरी कार्यालयका गुठीचौरका इन्चार्ज कमल श्रेष्ठले बताए । उनले भने, ‘चट्याङ लागेर भेडाबाख्रा मरेपछि करिब ६ लाख ५० हजार रुपैयाँको बराबरको क्षति भएको छ ।’ 

 

भेडाखर्क पाटन क्षेत्रमा परेको चट्याङबाट भेडापालक किसानको पुख्र्यौली पेसा संकटमा परेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अम्मराज गिरीले बताए ।


यो क्षेत्रका अधिकांश स्थानीयको मुख्य आम्दानीको स्रोत भनेकै भेडापालन हो । गिरीले भने, ‘भेडापालक किसानलाई राहतका लागि गाउँपालिकामा छलफल भइरहेको छ ।’


भेडा मरेपछि व्यावसायिक रूपमा भेडा पालेरै जीविकोपार्जन गर्दै आएका किसानलाई रोजीरोटी जुटाउन मुस्किल पर्ने स्थानीय बताउँछन् । ठूलो मात्रामा क्षति भएपछि स्थानीयले राहतको माग गरेका छन् । जुम्लामा गत २०७० मा निरन्तर परेको असिना, पानी र हावाहुरीले करिब सात सय भेडाबाख्रा मरेका थिए भने २०७७ मा ५ सय भेडा मरेको तथ्यांक छ ।