close

जुम्लामा खेलकुद : खेलमैदानबिनाका खेलाडी छ्यापछ्याप्ती

जुम्लामा खेलकुद : खेलमैदानबिनाका खेलाडी छ्यापछ्याप्ती

Trulli
ADVERTISEMENT

जुम्ला–नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने धावक हरिबहादुर रोकाया, विश्वरुपा बुढा, सुनमाया बुढा जुम्लाकै खेलाडी हुन् । उनीहरूले खेलकुदबाट अन्तर्राष्ट्रिय स्तरमा जुम्लाको पहिचान र नाम चिनाएका हुन् ।


यस्तै, खेल क्षेत्रका धेरै खेलाडी जुम्लाले जन्माएको छ । यहाँका युवामा एथलेटिक्ससहित फुटबल, भलिबल विभिन्न विधाका खेलप्रति चासो बढे पनि खेलमैदान भने छैनन् ।


उनीहरू भीरपाखामै खेलकुदको अभ्यास गर्दै अन्तर्राष्ट्रिय स्तरका खेल प्रतियोगितामा जित हासिल गर्दै आएका छन् । वर्षको एक पटक एन्फाले जुम्लामा फुटबल प्रतियोगिता गर्ने गरेको छ । यही प्रतियोगिता गर्न रंगशाला नहुँदा समस्या हुने गरेको छ । जुम्ला मुकाम खलंगामा नेपाली सेनाले तालिम खेल्ने टुँडिखेल मैदान छ । 


सेनासँग समन्वय गरी फुटबल प्रतियोगिता गर्ने गरेको एन्फाका अध्यक्ष भरत बुढ्थापा बताउँछन् । उनी भन्छन्, ‘जुम्लामा खेल आवश्यक छ ।’ जुम्लाका स्थानीय तहले एक पालिका एक रंगशाला निर्माणको नीति लिएका छन् । स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएको चार वर्षसम्म पनि रंगशाला बनाउनेतर्फ चासो दिएको पाइँदैन ।

 

खेल मैदान नहुँदा यहाँको राजासिम सानो चौरमा टुर्नामेन्ट खेलाइने गरिएको छ । पातारासी गाउँपालिकाको छुमचौरमा हाइअल्टिच्युट प्रशिक्षण मैदान बनेको छैन । 

संघ, प्रदेश र स्थानीय तहका कुनै पनि सरकारी निकायले चासो देखाएका छैनन् । तीन वटै तहका निकायले हाइअल्टिच्युट प्रशिक्षण मैदानलाई प्राथमिकतामा नराखेपछि तोकिएको समयभित्र निर्माण सम्पन्न हुनेमा शंका उब्जिएको जिल्ला खेलकुद विकास समिति जुम्लाले जनाएको छ । 


असोज दोस्रो सातासम्म जुम्लामा फुटबल प्रतियोगिता सञ्चालन भयो । यो प्रतियोगिता खेलकुद मैदान रंगशालामा भएको होइन । सेनाको परेड खेल्ने मैदानमा सञ्चालन भएको हो । खेल सञ्चालन भएको मैदान पनि सेनाकै हो । कुनै खेलकुद आयोजना गर्दा सेनासँग हारगुहार गर्नुपर्ने अवस्था रहेको अन्तर्राष्ट्रिय धावक हरि रोकाया बताउँछन् । 


हाइअल्टिच्युट मैदानको डिपिआर ३२ करोड ३ लाख रुपैयाँको बनेको छ । ५५ लाख खर्चेर मैदान सम्याउने कामबाहेक अरू संरचना निर्माण भएका छैनन् । २ हजार ८ सय मिटर उचाइमा रहेको छुमचौरस्थित मालिका मावि लोडचौरमा बनिरहेको मैदान निर्माणका लागि डिपिआर तयार भएको हो ।

 

हाइअल्टिच्युट मैदानमा भलिबल, फुटबल, कराते, बक्सिङ, तेक्वान्दो, बास्केट बल, एथलेटिक्सलगायत दुई दर्जन बढीका खेलमैदान निर्माण गरिने डिपिआरमा उल्लेख छ । 

त्यसैगरी स्विमिङ पुल, लैंगिकमैत्री छात्रावास, सुरक्षागार्ड, पाहुनाघर, टिकट काउन्टरसमेत निर्माण गरिनेछ । जिल्ला खेलकुद विकास समिति जुम्ला हाताभित्र भलिबल मैदानमा प्याराफिट निर्माण गर्न थालिए पनि अधुरै छ । डिपिआरअनुसार प्याराफिट निर्माणका लागि १ करोड रुपैयाँ बढी लागत अनुमान गरिएको छ ।

 
जुम्लाका हरेक स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भइसकेपछि पद वहालीको पहिलो बर्षमा एक स्थानीय तह एक खेलकुद मैदान निर्माणको नीति लिए पनि त्यसले पूर्णता पाइएको छैन । केही स्थानीय तहले खेलमैदानमा बजेट खर्च गरे पनि उपलब्धिमूलक नदेखिएको खेलाडीको गुनासो छ । 

 

जिल्ला खेलकुद विकास समिति जुम्लाका अध्यक्ष धनकृष्ण पाण्डेका अनुसार लामो समयसम्म समिति पदाधिकारीविहीन भयो । उनले भने, ‘अब पदाधिकारी आएका छौँ । खेल क्षेत्रको विकास गर्ने योजना बनाएका छौँ । संघ प्रदेश र स्थानीय सरकारको सहयोग आवश्यक छ ।’