close

जुम्लामा चाडपर्व लक्षित सहुलियत खाद्यान्न सकिँदै

जुम्लामा चाडपर्व लक्षित सहुलियत खाद्यान्न सकिँदै

Trulli
ADVERTISEMENT

जुम्ला–खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी विशेष छुटमा बिक्री गरिरहेको खाद्यान्न जुम्लामा सकिन थालेको छ । दसैँ अवधिमै नागरिकले अधिक खरिद गरेपछि तिहार, छठ नआउँदै छुट सुविधाको खाद्यान्न सकिन थालेको हो । 

 

तातोपानी गाउँपालिका वडा नम्बर २ का धनबहादुर बुढाले बाढीले धानमा क्षति भएको हुँदा किसान यो वर्ष सरकारी अनुदानकै चामलको भरमा रहेको बताए ।उनका अनुसार यो वर्ष सरकारले जुम्लामा सरकारी खाद्यान्न कोटा बढाउनुपर्ने देखिएको छ । सरकारी अनुदानकै चामल अभाव भए जुम्लामा भोकमरी हुने चिन्ता उनको छ ।


खाद्य तथा व्यापार कम्पनीले दसैँ, तिहा,र छठलाई लक्षित गरेर जुम्लाका लागि हजार क्विन्टल छुट्याएको थियो । यहाँका ७ गाउँपालिकालाई ७ सय क्विन्टल र चन्दननाथ नगरपालिकालाई ३ सय क्विन्टल कोटा छुट्याइएको थियो ।


तर, छुट सुविधाको चामल लिनेहरूको भीड लागेपछि सबैलाई मिलाएर दिइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा जुम्लाका प्रमुख तिलक सुनारले बताए । उनले भने, ‘छठ पर्वसम्म जुम्लाका लागि १ हजार क्विन्टल छुट्याइएको थियो । बिहीबारसम्मको तथ्यांकअनुसार ९ सय २२ दशमशल ६० क्विन्टल चामल बिक्री भइसकेको छ । अहिलेकै दरमा बिक्री भए तिहार, छठसम्म छुट सुविधाको खाद्यान्न सकिने अवस्था छ ।’


हाल छुट सुविधाको खाद्यान्न करिब ७८ क्विन्टल मात्रै बाँकी रहेको उनले बताए । चामल लिनेको भीड नरोकिएकाले थप १ हजार क्विन्टल चामल पठाउन माग गरेको व्यापार कम्पनी जुम्लाका प्रमुख सुनारले जानकारी दिए । उनका अनुसार १ हजार क्विन्टल माग भए पनि ५ सय क्विन्टल पठाउने केन्द्रले बताएको छ । गत १ असोजबाट सुरु भएको छुट सुविधाको चामल हालसम्म जुम्लाका १५ सय ३७ जनाले लिएका छन् ।


उनले भने, ‘बेमौसमी वर्षाले धानबालीमा क्षति पु¥याएकाले छुट सुविधाको चामल लिने सर्वसाधारणको अझै भीड लाग्ने देखियो । तिहार, छठ नजिकिँदै छ । चामल सकिन थालेको छ । त्यसैले छिट्टै १ हजार क्विन्टल मागेका छौँ ।’ सबैभन्दा बढी यहाँको पातारासी गाउँपालिका र चन्दननाथ नगरपालिकाका नागरिकले छुट सुविधाको चामल खरिद गरेका छन् । अन्य स्थानीय तहमा भने कम बिक्री भएको छ ।

 

हालसम्म ४ लाख ६३ हजार रुपैयाँ बराबरको छुट सुविधाको चामल बिक्री भएको खाद्य प्रमुख तिलक सुनारको भनाइ छ । खाद्य तथा व्यापार कम्पनीले जुम्लामा हाल थप साढे ७ सय क्विन्टल मौज्दात रहेको र थप ६ हजार क्विन्टल चामल आयात हुने क्रममा रहेको बताएको छ ।