close

शारीरिक रूपमा अशक्तलाई भक्तपुरको तालिम

शारीरिक रूपमा अशक्तलाई भक्तपुरको तालिम

Trulli
ADVERTISEMENT

भक्तपुर– भक्तपुर नगरपालिकाले शारीरिक रूपमा अशक्त भएका व्यक्ति वा तिनका संरक्षकलाई हस्तकला सामग्री बनाउने तालिम सञ्चालन गरेको छ । नगरपालिकाले शारीरिक रूपमा अशक्त भएका व्यक्ति र उनीहरूको संरक्षण गर्ने व्यक्तिलाई रोजगारी सिर्जना गरी आर्थिक रूपमा सक्षम बनाउने उद्देश्यले तालिम सञ्चालन गरेको । 

 

व्यासीस्थित औद्योगिक क्षेत्रमा सञ्चालन हुने उक्त तालिममा २० जना स्थानीयको सहभागिता हुने पालिकाले जनाएको छ । तालिममा खेर जाने वा गएका नेपाली कागजको प्रयोग गरी विभिन्न घर, कोठा तथा विद्यालय सजावट सामग्री बनाइने नगरपालिका उपप्रमुख रजनी जोशीले बताइन् ।


उनले एक महिने तालिम लिएपछि अशक्तले सीप विकास गरी आत्मनिर्भर हुने विश्वास व्यक्त गरिन् । नगरप्रमुख सुनील प्रजापतिले अपांगता भएका व्यक्ति वा संरक्षकलाई पालिकाले दिएको तालिममा आफूले सिकेको सीपलाई सदुपयोग गरी सोही विषयमा पारंगत हुन एडभान्स कोर्सका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने जानकारी दिए । उनले भने, ‘समयमा सिकेको सीपले जीवन परिवर्तन गर्न सकिन्छ । त्यसबाटै अवसर पनि लिन सकिन्छ ।’


नगरपालिकाले स्थानीय सरकारको रूपमा जनताको नजिक रहेर काम गरिरहेको र उनीहरूलाई हरेक वर्ष ह्विल चियर, ट्वाइलेट चियर, सेतो छडीलगायत सहायक सामग्री वितरण र स्वास्थ्य शिविर सञ्चालन गरिरहेको बताए । 

 

कार्यक्रमा प्रशिक्षक हिमालयश्वर लाल मूलले भक्तपुर नगरपालिकाले अपांगता भएका व्यक्ति वा संरक्षकलाई हस्तकला तालिम सञ्चालन गर्न लागेकामा खुसी व्यक्त गरे । तालिमले अपांगता भएका व्यक्ति र अभिभावकलाई आर्थिक भार कम गराउन तथा रोजगारी अभिवृद्धि गर्न सहयोगी हुने उनले विश्वास व्यक्त गरे । तालिमका लागि आवश्यक नेपाली कागज, कैंचीलगायत सामग्री पालिकाले वितरण गरेको छ ।