close

भक्तपुरमा बिमा अन्तरक्रिया

भक्तपुरमा बिमा अन्तरक्रिया

Trulli
ADVERTISEMENT

भक्तपुर– भक्तपुर नगरपालिका र बिमा समितिको संयुक्त आयोजनामा स्थानीय तहसँग बिमाबारे सरोकारवाला निकायसँग अन्तरक्रिया गरिएको छ । बिमाबारे स्थानीय नागरिकलाई जानकारी दिन र बिमामा स्थानीय सरकार तथा सरोकारवाला निकायलाई सचेत बनाउन कार्यक्रम गरिएको हो ।

 

बिमा समितिका उपनिर्देशक सन्तोष कार्कीले नेपालको बिमा बजारको अवस्थाबारे प्रस्तुतीकरण गरे । उनले बिमा संस्थानको कुल लगानी ४ खर्ब रुपैयाँ रहेको जानकारी दिए ।


उनले भने, ‘नेपालमा बिमा समितिबाट इजाजतप्राप्त १९ वटा जीवन बिमा कम्पनी, २० वटा निर्जीवन बिमा कम्पनी र २ वटा पुनर्बीमा कम्पनी छन् ।’ नगर प्रमुख सुनील प्रजापतिले बिमा समिति नियमनकारी निकाय भएकाले नागरिकको विश्वसनीयता हुनुपर्ने र जनतालाई यसको महत्त्वबारे अवगत गराउनुपर्नेमा जोड दिए ।


सरकारको स्वास्थ्य बिमा कार्यक्रमबाट भक्तपुरका ७५ प्रतिशत नागरिक लाभान्वित भएको र यसलाई ९० प्रतिशतको पहुँचमा पुर्‍याउने लक्ष्य रहेको उनले बताए । स्वास्थ्य बिमाअन्तर्गतको रकम समयमै निकासा नगरिँदा नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउन समस्या भएको उनको भनाइ छ ।

 

नगर प्रमुख प्रजापतिले बिमा कम्पनीबाट हुने झन्झटका कारण नागरिकले दुःख पाउने र बिमाप्रतिको विश्वास हट्दै जाने अवस्था रहेको बताए । प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले बिमा व्यवसाय जनविश्वासमा अडिएको र यस क्षेत्रबाट प्रशस्त रोजगारी सिर्जना भइरहेकाले ग्रामीण क्षेत्र एवं न्यून आय भएका नागरिकमा यसको पहुँच हुनुपर्नेमा जोड दिए । 


    
कार्यक्रममा वडा नम्बर ७ का वडाध्यक्ष उकेश कवांले बिमा कम्पनीले जनताको विश्वास जित्न नसकेको सुनाए । समितिले करिब १ सय स्थानीय तहमा अन्तरक्रिया गर्ने योजना बनाएको छ । यसमध्ये ४० वटा स्थानीय तहमा कार्यक्रम सम्पन्न भएको कार्कीले बताए ।