close

नागरिकको सहभागिताबिनै चाँगुनारायणको सार्वजनिक सुनुवाइ

नागरिकको सहभागिताबिनै चाँगुनारायणको सार्वजनिक सुनुवाइ

Trulli
ADVERTISEMENT

भक्तपुर– भक्तपुरको चाँगुनारायण नगरपालिकाले चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो चौमासिकको सार्वजनिक सुनुवाइ गरेको छ । नगरपालिकाले वडा नम्बर ७ को तपादम्फोमा सार्वजनिक सुनुवाइ गरेको हो । 

 

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले चालू आर्थिक वर्षको पहिलो चौमासिकमा तयार पारिएको प्रतिवेदन प्रस्तुत गरे । प्रतिवेदनमार्फत आर्थिक वर्षमा भएका खर्च, कार्यालयको सेवा प्रक्रियाबारे उनले जानकारी दिए । 

 

उनका अनुसार पालिकाले पहिलो चौमासिकमा पुँजीगततर्फ १२.७५ प्रतिशत र चालू खर्चको अवस्था २१.७ रहेको छ । चालू र पुँजीगत गरी कुल ३० करोड ६५ लाख ९० हजार अर्थात् १६.८ प्रतिशत खर्च भएको तथ्यांक उनले प्रस्तुत गरे । 

 

नगरपालिकाले कात्तिक मसान्तसम्म ४ करोड ४० लाख ५० हजार ८ सय ४ रुपैयाँ राजस्व संकलन गरेको छ, जुन कुल प्रक्षेपित राजस्वमध्ये १५.३ प्रतिशत हो । अन्य स्रोतमार्फत १ करोड ६६ लाख ६६ हजार रुपैयाँ संकलन भएको पालिकाले जनाएको छ । 

 

हालसम्म पालिकाले ६० वटा नगरस्तरीय, ४२६ वटा वडास्तरीय, ७ वटा जिल्ला समन्वय समितिमार्फत एवं २४७ वटा गत आवका योजनाले निरन्तरता पाई कुल ७ सय ४० योजना यो आवमा कार्यान्वयनमा आउने बताएको छ । 

 

नागरिकको उपस्थितिबिनाको सार्वजनिक सुनुवाइ

सार्वजनिक सुनुवाइ कार्यक्रममा नागरिकको उपस्थिति नभएको स्थानीयले बताए । वडा नम्बर ३ का विष्णुप्रसाद न्यौपानेले कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र पत्रकार तथा सरोकारवाला निकायको मात्रै सहभागिता रहेको बताए । ‘यो कार्यक्रम नागरिकका लागि हो । कार्यक्रममा हामीले आफ्ना दुःखपीडा पाउनुपर्ने हो । जनताको कुरा सुन्ने कार्यक्रम हो,’ उनले भने, ‘तर, सेवाग्राही कोही आएनन् । अनि, कसरी थाहा हुन्छ जनताका गुनासा वा पीडा ?’

 

नगरपालिकाको क्षेत्र ठूलो भएको र भौगोलिक विकटता रहेकोले नागरिकको पीडा बुझ्न आगामी सार्वजनिक सुनुवाइ कार्यक्रम वडागत रूपमा गर्न सहभागीले सुझाव दिए । नगरप्रमुख सोमप्रसाद मिश्रले सर्वसाधारण र सरोकारवाला निकायलाई पालिकाले पत्राचार गरे पनि कोही नआएको बताए । सार्वजनिक सुनुवाइ कार्यक्रम ३० कात्तिकमा तय भए पनि बन्दको हल्लाले केही व्यक्ति फर्केर गएका र केही महाधिवेशनका कारण सहभागी हुन नसकेको दाबी गरे ।

 

उनले चालू आर्थिक वर्षमा एक घर एक धारा कार्यक्रम, छोरी बचत खाता, मेयर उद्यमशीलतालगायत कार्यक्रम सञ्चालनमा ल्याइएको जानकारी दिए । ‘मेयर उद्यमशीलता उदाहरणीय कार्यक्रम बनेको छ । अरू पालिकाले चाँगुनारायण मोडल भन्दै लागू गरेका छन्,’ उनले भने, ‘उदाहरणीय भए पनि सोचेअनुरूप कार्यान्वयन हुन सकेको छैन । बैंकमा कार्यक्रमका लागि छुट्टै शाखा नभएको र स्थानीयले राम्रोसँग नबुझेका कारण कार्यान्वयनमा कमी आएको हो ।’

 

नगरबासीको स्वास्थ्य अवस्थामा प्रतिकूल असर पार्ने इँटाभट्टा उद्योग सञ्चालन गर्न नदिइने भने पनि सञ्चालनमा आइसकेको उनले बताए । नगरप्रमुख मिश्रका अनुसार उद्योग सञ्चालनका लागि जिल्ला प्रशासन कार्यलयबाट स्वीकृत पाएका र स्थानीयले जग्गा भाडामा दिएकाले सञ्चालनमा रोक लगाउन नसकिएको हो ।
तर, नगरपालिका सञ्चालनको पक्षमा नरहेको उनले स्पष्ट पारे ।