close

जुम्लाका दुर्गम गाउँबस्तीमा खनिए सडक 

जुम्लाका दुर्गम गाउँबस्तीमा खनिए सडक 

Trulli
ADVERTISEMENT

जुम्ला– जुम्लाको तिला गाउँपालिका वडा नम्बर ७, ८ र ९ नम्बर वडामा पर्ने जुम्लाकोट, मालापानी, राँसा, खोप्री, सुडी, घोडेमहादेव निकै दुर्गम र विकट गाउँबस्ती हुन् । यी गाउँबस्तीमा सडक खनिए पनि राष्ट्रिय सडक सञ्जालमा भने जोडिएका छैन ।


तिला गाउँपालिका वडा नम्बर १ रारालिहिस्थित तिला नदीमाथि गाडी गुड्ने पक्की पुल नबनेकाले यी बस्ती राष्ट्रिय सडक सञ्जालमा नजोडिएका हुन् । वडा नम्बर ९ मालापानी गाउँका स्थानीय मानबहादुर बुढाले भने, ‘स्थानीय सरकार नआएको भए यो ठाउँमा सडक पुग्न कयौँ वर्ष कुर्नुपर्ने अवस्था थियो । तर, संघ, प्रदेश र स्थानीय सरकारको पहलमा सडक पुग्यो । अब गाडी गुड्ने पर्खाइमा छौँ ।’ 


अहिले यहाँका मालवाहक गाडी भनेकै खच्चर र मानिसको पिठ्युँ नै हुन् । दैनिक उपभोग्य वस्तुदेखि विकास निर्माणका सामग्री खच्चर र पिठ्युँमै ओसारपसार गर्ने गरिन्छ ।गाउँघरमा सडक पुगेपछि स्थानीय खुसी छन् । सडक पुगेपछि गाडी पनि गाउँघरमै पुग्छ भन्ने आशा पलाएको उनी बताउँछन् ।

 

यो क्षेत्रमा सडक खन्ने प्रयत्न संघीयता आउनुअघि नै भए पनि स्थानीय सरकारले चार वर्षको अवधिमा सडक पु¥याएको हो । झन्डै ५ करोड रुपैयाँ बचेट खर्चेर निर्माण गरिएका सडकले दैनिकी सहज बनाउने अपेक्षा स्थानीयको छ । 


यो क्षेत्रलाई राष्ट्रिय सडक सञ्जालमा जोड्न सडक डिभिजन कार्यालय जुम्लाको १३ करोड रुपैयाँ लागतमा तिला नदीमाथि पक्की मोटरेबल पुल निर्माण गर्ने तयारी गरिएको छ । 

 

२ वर्षमा पक्की पुल निर्माण गर्ने सम्झौतामा उल्लेख गरिएको तिला गाउँपालिकाले जनाएको छ । गाउँपालिका उपाध्यक्ष विष्णुमाया बुढाले भनिन्, ‘स्थानीय सरकार आएपछि गाउँगाउँमा सडक पुग्नु निकै ठूलो उपलब्धि ठानेका छौँ । दूरदराजमा उत्पादित फलफूल, अन्नपात सबै बजारसम्म लैजान सहज हुनेछ । यो पालिकाको उपलब्धि हो ।’ गाउँमा सडक पुगिसकेकाले केही समयपछि तिला नदीमा पुले निर्माण हुने उनले बताइन् ।