close

सुदूरपश्चिम पहाडी जिल्लामा जहाजभित्रै नेवानिको कार्यालय !

सुदूरपश्चिम पहाडी जिल्लामा जहाजभित्रै नेवानिको कार्यालय !

Trulli
ADVERTISEMENT

बाजुरा–सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा उडान गरिरहेको सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले जहाजभित्रै कार्यालय बनाई सेवा प्रवाह गर्न थालेपछि सर्वसाधारण यात्रु मर्कामा परेका छन् ।

 

चाडपर्व मनाउन गृहजिल्ला पुगेका यात्रु गन्तव्य स्थान फर्किने क्रम बढेसँगै कोल्टीमा यात्रुको चाप बढेको छ । तर, नेवानिले उडानमा आफ्ना ८ जना कर्मचारी बोकेर हिँड्ने गरेपछि सर्वसाधारणले सेवा पाउन समस्या भएको हो ।


सुदूरपश्चिमको बाजुरा, बझाङ, अछाम, दार्चुला र डोटीलगायत जिल्लामा उडान भरिरहेको नेवानिले प्रत्येक जिल्लामा जहाज उडानको पेपर बनाउन कर्मचारी नभएको भन्दै ८ जना कर्मचारी बोकेर उड्न थालेपछि सर्वसाधारणले सेवा पाउन नसकेका हुन् । नेवानिले प्रत्येक उडानमा १८ जना यात्रु बोक्नुपर्नेमा ८ जना कर्मचारी बोक्न थालेपछि सर्वसाधारण १० जनाले मात्रै यात्रा गर्न पाएका छन् ।

 

हाल उडान भरिरहेका जिल्लामा नेवानिका कर्मचारी नभएका कारण नेपालगञ्जबाटै कर्मचारी बोक्नुपर्ने भएकाले सर्वसाधारणले सेवा नपाएको नेवानिका बाजुरा प्रमुख उमाकान्त न्यौपानेले बताए ।


नेवानिले यात्रुलाई सेवा दिन उडान गरिरहे पनि कर्मचारी अभावका कारण जहाजको क्षमताअनुसार यात्रुले सेवा नपाएको र यसको व्यवस्थापन माथिल्लो निकायको भएको उनको भनाइ छ ।

 

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका वडा नम्बर ३ जुकोटका लोकेन्द्र शाहीले वर्षाका कारण बाटो अवरुद्ध रहेकाले सुदूरपश्चिम प्रदेशका बाजुरालगायत पहाडी जिल्लामा जहाजले सेवा दिनु राम्रै भए पनि सरकारी कम्पनीले कर्मचारी छैनन् भनेर जहाजभित्रै कार्यालय बनाई एयरपोर्ट एयरपोर्टमा घुम्नु हास्यास्पद भएको बताए ।


८ जना कर्मचारीको सट्टामा ८ जना सर्वसाधारण यात्रुले सेवा पाउने भएकाले यो व्यवस्था तुरुन्त हटाई आवश्यक कर्मचारी व्यवस्थापन गर्न र हवाई सेवालाई प्रभावकारी बनाउनुपर्ने उनको माग छ । 


उनले घटनास्थलबाटै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेलाई फोन गर्दै सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा सेवा प्रवाह गरिरहेको नेवानिको अवस्थाबारे जानकारी गराएको जानकारी दिए । फोनमा मन्त्री आलेले नेवानिको कर्मचारी समस्या हटाउन पहल थाल्ने आश्वासन दिएको उनले बताए ।