close

हिमाली क्षेत्रमा चिसो बढेपछि घरमा भोटे ताल्चा ठोकेर बेँसी झर्दै स्थानीय 

हिमाली क्षेत्रमा चिसो बढेपछि घरमा भोटे ताल्चा ठोकेर बेँसी झर्दै स्थानीय 

Trulli
ADVERTISEMENT

बाजुरा–बाजुराको उत्तरी क्षेत्र, हुम्ला र मुगुका स्थानीय चिसोका कारण बेँसी झर्न थालेका छन् । हिउँद लागेसँगै हिमाली क्षेत्रमा चिसो बढेपछि स्थानीय भेडा–च्यांग्रा, गाईवस्तु र परिवारसहित औल झरेका हुन् । 


यहाँका स्थानीय हिउँदको समय जाडो छल्न औलतिर लाग्ने गरेका छन् । हिमपातसँगै चिसो बढेपछि कात्तिक अन्तिम सातादेखि बेँसी झर्न लागेको स्थानीय गोलु भोटेले बताए ।


उनीहरू बाजुराको दक्षिणी क्षेत्रका बाह्रबिस, कुल्देवमाडौं, अछाम, डोटी र सुर्खेतलगायत स्थानमा बसाइँ सर्ने गर्छन् । चिसो सुरु भएपछि २ सातादेखि हिमाली भेगका सबैजसो बस्तीमा हिमपात भई जाडो बढ्ने हुँदा बेँसीतिर लागेका हुन् ।


बेँसी झेरर व्यापार, व्यवसाय गरी आम्दानी गर्न सकिने र चिसो समय बिताउन सजिलो हुने भन्दै प्राय भोटे समुदायका सपरिवार बस्ती छाडेर बेँसी झरिरहेका छन् । यसबेला घरमा भएका भेडाच्यांग्रा, घोडा, खच्चड गाई, गोरु र खाने सरसामानका साथ बसाइँ सरिरहेका छन् ।


बूढीनन्दा वडा नम्बर १० अगाउनीपानीका रमेश गुरुङ ५ परिवारसहित जाडो छल्न बेँसी झर्न थालेको बताउँछन् । उनीसहित २ छोरा, १ छोरी, श्रीमती भेडाबाख्रा, गाई–गोरु सँगै लिएर अछाम बसाइँ सर्न थालेका हुन् ।

 

गाउँमा हिउँदयाममा हिमपात र चिसो हुने भएकाले आफ्नो श्रीसम्पत्ति लिएर ६ महिनाका लागि अछाम जाने गरेको उनले बताए । उनी मात्र नभई जिल्लाको उत्तरी क्षेत्र, हुम्ला र जुम्लाका अधिकांश जनजाति (भोटे) केही महिनाको बसाइँ सर्ने गर्छन् ।


बाजुरामा मात्र करिब १० हजार बढी जनसंख्या रहेको भोटे जाति र अन्य समुदाय मानिस चार महिनासम्म उत्तरी भेगमा पर्ने चीनतिर जाने गर्छन् भने केही महिना गाउँमै बस्छन् । ‘परम्परागत पेसा, घरपरिवार पाल्न र आर्थिक आर्जनका लागि सपरिवारसहित चिसो लाग्ने समयदेखि नै बसाइँसराइ गर्ने गरेको कोल्टी नुरीका सुधी रोकायाले बताए ।

 

अहिले गाउँ नै खाली गरेर भेडाच्यांग्रासँगै भोटे जनजाति बेँसी झर्न थालेपछि बालबालिका पढाइबाट वञ्चित हुने गरेको स्थानीय अंग थापाले जानकारी दिए । हुम्लाका, मैला, मदेना, डाँडाफया, श्रीनगर, जयरलगायतका वासिन्दा पनि भेडा, च्यांग्रा, घोडा, खच्चड गाई, गोरुसहित बेँसीतिर झरेका छन् । 

 

हुम्ला डाँडाफयाका नन्द शाहीले भने, ‘चिसो बढेकाले औल झरिका हौँ । हिउँदको समय चिसोमा भेडापालन र जीविकोपार्जन गर्न समस्या भएकाले एक साता लगाएर अछाम जाँदै छौँ ।  सबै परिवार बेँसी झरेका छौँ । चैतमा मात्र घर फिर्ता हुन्छौँ’, उनले भने ।

 

मुगुको सेरी, खम्ला, गम्था, सुकाडिकलगायत गाविसबाट भेडा र परिवारसहित बेँसी झर्नेको लर्को लागिरहेको छ । बाजुरामा मात्र ६४० बढी परिवार मौसमी बसाइँ सर्ने गरेका छन् ।

 

हुम्ला डाँडाफयाका जुद्ध शाहीले भने, ‘हुम्ला र जुम्लाका अधिकांश पालिकामा  हिमपातका साथै चिसो हुने भएकाले प्रायः स्थानीय हिउँदमा बेँसी झर्ने गरेका छन् भने वर्षायाममा चीनतिर जाने गर्छन् ।’