close

बाजुराका उच्च हिमाली क्षेत्रमा हिमपात भएपछि विद्यालय बन्द

बाजुराका उच्च हिमाली क्षेत्रमा हिमपात भएपछि विद्यालय बन्द

Trulli
ADVERTISEMENT

बाजुरा– बाजुराका उच्च हिमाली भेगमा हिमपात भएपछि यहाँको जनजीवन प्रभावित भएको छ । मंगलबार रातीदेखि उच्च हिमाली क्षेत्रका धेरै ठाउँमा परेको हिमपातले जनजीवन कष्टकर बनाएको हो । लामो समयदेखि पानी नपर्दा समस्यामा परेका किसान भने खुसी भएका छन् । सिँचाइ सुविधा नहुँदा गहुँ बाली नलगाएका किसानले पानी र हिउँ परेपछि राहत भएको बताएका छन् ।

 

‘कात्तिकमै लगाउनुपर्ने गहुँबाली लामो समयसम्म पानी नपर्दा लगाउन पाएका थिएनौँ । ढिलो गरी हिमपातसहितको पानी परेपछि राहत भएको छ’, गौमूल गाउँपालिका वडा नम्बर ६ का प्रेम विकले भने । हिउँदे वर्षाका कारण पहाडी क्षेत्रमा लगाइएका बालीलाई फाइदा पुगेको किसानले बताए । हिमपातसहितको वर्षाले अन्नबाली, फलफूल र तरकारीलगायत बालीको उब्जनी बढी हुने देखिएको जिल्ला कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।

 

बाजुरामा गत वर्षको तुलनामा यो वर्ष हिमपात ढिलो परेको स्थानीय सुनाउँछन् । बडीमालिका, बूढीनन्दा नगरपालिका, हिमाली गाउँपालिकालगायत उच्च हिमाली क्षेत्रमा कात्तिक अन्तिम साताबाट हिमपात हुने गरेकामा यो वर्ष भने पुस मध्यतिर हिमपात भएको हो ।

 


हिमाली गाउँपालिका, बूढीनन्दा नगरपालिका, बडिमालिका नगरपालिका, गौमूल गाउँपालिका, त्रिवेणी नगरपालिकाका, खप्तड छेडेदह गाउँपालिका, स्वामीकार्तिक खापर गाउँपालिका र जगन्नाथ गाउँपालिकाका लेकाली भेगमा हिमपात भएपछि जनजीवन कष्टकर बनेको छ ।

 

 

हिमपातका कारण यहाँका विद्यालयसमेत प्रभावित भएका छन । चिसोसँगै हिमपात भएपछि विद्यालयको पढाइ अवरुद्ध भएको बडिमालिका नगरपालिका वडा नम्बर ७ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक हस्तबहादुर धामीले बताए ।

 


वर्षासँगै अत्यधिक चसो बढ्न थालेपछि हिमाली गाउँपालिका र बूढीनन्दा नगरपालिकाका उच्च हिमाली क्षेत्रका विद्यालय बन्द भएको उनले जानकारी दिए । यसअघि पनि बाजुरामा अत्यधिक चिसो हुँदा विद्यालयमा आगो बालेरै पठनपाठन गर्ने गरिएको थियो । आधारभूत तहका बालबालिकालाई चिसोबाट जोगाउन सकस भएको शिक्षक बताउँछन् ।

 

 

हिमाली गाउँपालिकाको गुम्बा, बडिमालिका नगरपालिकाको ढम्कने, बूढीनन्दा नगरपालिकाको पाण्डुसैन क्षेत्रका केही विद्यालयमा अत्यधिक चिसोका कारण विद्यार्थी अनुपस्थित भएपछि शिक्षण संस्था बन्द गरिएका छन् । हिमपातका कारण बाजुराको उत्तरी क्षेत्रका चार स्थानीय तह र हुम्ला, मुगु र कालइीकोटका केही स्थानीय तह जोड्ने मार्तडी–कोल्टी सडक खण्डको पोरखे लेकमा हिमपात हुँदा यातायात सेवा बन्द भएको छ । सेवा बन्दा हुँदा यात्रु सदरमुकामक मार्तडी र कोल्टी विमानस्थलमै अलपत्र परेका छन् ।

 

 

बाजुरामा मंगलबार रातीदेखि पानीसँगै हिमपात परेपछि हवाई सेवा पनि प्रभावित भएको छ । नेपालगञ्ज र धनगढीदेखि नियमित हुने हवाई उडान वर्षाका कारण प्रभावित भएको तारा एयरलाइन्सका बजार व्यवस्थापक बविन सिंहले जानकारी दिए । बिहानैदेखि पानीसँगै हिमपात भइरहेकाले कुनै पनि एयरलाइन्सले आफ्ना नियमित उडान गर्न नसकेको उनको भनाइ छ ।