close

हिमपातका कारण डेढ महिना बन्द गरियो विद्यालय 

हिमपातका कारण डेढ महिना बन्द गरियो विद्यालय 

Trulli
ADVERTISEMENT

बाजुरा– बाजुराको हिमाली गाउँपालिका वडा नम्बर ३ गुम्बामा रहेको हिमाल भक्ति आधारभूत विद्यालय बन्द गरिएको छ । दुर्गम पालिकाको वडा नम्बर ३ हिमाली क्षेत्रमा रहेको विद्यालयमा हिमपातसँगै चिसो बढेपछि करिब डेढ महिनाका लागि बन्द गरिएको हो ।

 

अत्यधिक हिमपात र चिसोका कारण विद्यार्थीलाई अध्ययनमा समस्या हुँदा आगामी फागुन पहिलो सातासम्म विद्यालय बन्द गरिएको शिक्षक देवीलाल बुढथापाले जानकारी दिए । उनका अनुसार गुम्बामा अहिले पनि करिब २ फिटसम्म हिउँ जमेको छ । विद्यार्थीलाई आउजाउमा समस्या भइरहेको छ । चिसोका कारण बर्सेनि बन्द हुँदै आएको विद्यालय यो वर्ष पनि १६ पुसदेखि आगामी फागुन पहिलो सातासम्म बन्द भएको प्रधानाध्यापक भीम गिरीले बताए ।

 


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छेवाङ लामाको अध्यक्षतामा गत ५ पुसमा बसेको बैठकको निर्णयबमोजिम विद्यालय बन्द गरिएको प्रधानाध्यापक गिरीले जानकारी दिए । हिमपात परेसँगै चिसोका कारण अध्ययन अगाडि बढाउन नसक्दा विद्यालय बन्द गर्नुपर्ने बाध्यता आइको उनको भनाइ छ ।


कक्षा ३ सम्म पढाइ हुने हिमाल भक्ति आधारभूत विद्यालयमा ३० बढी विद्यार्थी अध्ययनरत छन् । हिमाली पालिकाका अधिकांश विद्यालयमा बर्सेनि हिमपात हुँदा बन्द गरिएपछि विद्यार्थीको अध्ययन अवरुद्ध हुने गरेको शिक्षक बताउँछन् । पालिकाको केन्द्र धुलाचौरबाट करिब ३ दिनको पैदल दूरीमा रहेको गुम्बा छिमेकी चीनसँग नजिक पर्छ ।

 


पालिकामा हुने प्रधानाध्यापकको भेला, संघ–संस्थाको तालिम, गोष्ठीलगायत महत्त्वपूर्ण काम सम्पन्न भएको १ सातापछि मात्र गुम्बामा चिठ्ठी पुग्ने गरेको शिक्षक बुढथापाको भनाइ छ । चिसोका कारण हिमाली गाउँपालिकाको गुम्बा, कोट, बिच्छ्यालगायत स्थानका विद्यालय बर्सेनि बन्द हुने गरेका छन् ।