close

मार्तडीमा खेल मैदानको जग्गा खोजिँदै

मार्तडीमा खेल मैदानको जग्गा खोजिँदै

Trulli
ADVERTISEMENT

बाजुरा– बाजुरा सदरमुकाम मार्तडीमा खेल मैदान निर्माण गर्न उपयुक्त जग्गा खोजीका लागि गठन गरिएको टोलीले सम्भाव्यता अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । बडीमालिका नगरपालिकाले मार्तडीभित्र खेल मैदानका लागि उपयुक्त जग्गा खोज्न बनाएको सम्भाव्यता अध्ययन टोलीले बाउली र गणखेतमा रहेका जग्गाको सम्भाव्यता अध्ययन गरेको थियो ।

 


मार्तडीमा खेल मैदानका लागि जग्गाको सम्भावित अध्ययन गर्न बडीमालिका नगरप्रमुख पदम बडुवालको संयोजकत्वमा सदस्य धर्मराज पाध्याय, कर्ण रावल, मानवबहादुर विक, काँसी, पत्रकार महासंघका पूर्वसचिव प्रेम विकसहितको नेतृत्वमा जग्गा सम्भाव्यता अध्ययन समिति बनाइएको थियो ।

 

सम्भाव्यता अध्ययन टोलीले मार्तडीको बाउली र गणखेतको जग्गामा खेल मैदानका उपयुक्त रहेको सिफारिस गरेको छ । टोलीले आइतबार जग्गा खोजी अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । खेल मैदानका लागि बाउलीको भौगोलिक अवस्था, सरकारी जग्गा रहेकाले अधिग्रहण गर्नु नपर्ने, बाउली खोलाको नजिकै जोखिम क्षेत्र बढी भएकाले जोखिम न्यूनीकरणका लागि आर्थिक लागत बढी हुने, भविष्यमा आवश्यकताबमोजिम थप खेल मैदान सरकारी जग्गामै निर्माण गर्न सकिने सम्भाव्यता अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

 

 

त्यस्तै, गणखेत क्षेत्रमा भौगोलिक अवस्था, सरकारी जग्गा नभई खेतीयोग्य जग्गा रहेोले अधिग्रहण गर्नुपर्ने, खेतीयोग्य जग्गा भएकाले जोखिम क्षेत्र कम रहेको, जग्गा खरिद गर्दा आर्थिक रूपमा महँगो पर्ने निष्कर्ष प्रतिवेदनमा औँल्याइएको छ । नगरपालिकाले खेल मैदानका लागि जग्गा उपलब्ध गराउन वडा नम्बर ८ को बाउली र वडा नम्बर ९ को गणखेतमा रहेको जग्गामध्ये उपयुक्त रहेको गणखेतका जग्गाधनीलाई २१ पुसमा नगरपालिकामा बोलाएर छलफल गर्ने भएको छ ।

 

 

जग्गाधनीले खेल मैदानका लागि जग्गा दिन तयार भए गणखेतमा खेल मैदान बनाउने निर्णय हुने बडीमालिकाका प्रमुख प्रशासकीय अधिकृत रंगमल विकले बताए । सुदूरपश्चिम प्रदेश सरकारले सदरमुकाम मार्तडीमा खेल मैदान निर्माणका लागि २ करोड रुपैयाँ विनियोजन गरेको छ । बडीमालिका नगरपालिकाले सदरमुकाम मार्तडीमा उपयुक्त जग्गा उपलव्ध गराएपछि खेल मैदान निर्माण अगाडि बढाइने जिल्ला खेलकुद विकास समिति अध्यक्ष राकेश थापाले जानकारी दिए ।

 


सदरमुकाम मार्तडीमा पर्याप्त खेल मैदान नहुँदा जिल्लाका खेलाडीले खेल प्रतिभा देखाउन सकेका छैनन् । खेल मैदान अभावकै कारण यहाँका खेलाडीले सदरमुकाममा आयोजना गर्ने खेलकुदका कार्यक्रम सञ्चालन गर्न बाजुरा क्याम्पस र मालिका माविको मैदान प्रयोग गर्नुपर्ने बाध्यता छ ।