close

जुम्ला कारागारमा कोरोना प्रभाव, भेटघाट बन्द

जुम्ला कारागारमा कोरोना प्रभाव, भेटघाट बन्द

Trulli
ADVERTISEMENT

जुम्ला–कोरोना संक्रमण बढेसँगै जुम्ला कारागारमा उच्च सतर्कता अपनाइएको छ । कारागार प्रशासनले कोरोना सर्न सक्ने भन्दै कैदीबन्दीलाई आफन्तसँग भेटघाट बन्द गरेको छ । कारागार जुम्लाका जेलर विष्णुबहादुर महतले भेटघाटका क्रममा कोरोना फैलन सक्ने हुँदा बन्द गरिएको बताए । उनले भने, ‘कारागार व्यवस्थापन विभागको परिपत्रअनुसार प्रत्यक्ष भेटघाट बन्द गरिएको हो । कारागार घेराबारदेखि बाहिर कम्तीमा १५ मिटर टाढाबाट मात्रै कैदीबन्दी र तिनका आफन्तको भेटघाटसहित कुराकानी हुने गरेको छ ।

 

सार्वजनिक स्थलमा स्थानीय प्रशासनले २५ भन्दा बढी जमघट र भेला हुन रोक लगाएको छ ।  उनले भने, ‘जोखिम बढेसँगै कैदीबन्दीका आफन्तसँग भेटघाटमा रोक लगाएका छौँ ।’ अहिले पनि कारगारामा १६ कैदीबन्दी बिरामी छन् । उनीहरूलाई ज्वरो आउने, टाउको, जिउ दुख्ने लक्षण देखिएको छ । 

 

उनीहरूलाई अहिले औषधी चलाइरहेको कारागारका अहेब महेश महतले बताए । ‘अहिले जुम्लामा साइन्याक्स र राइन्याक्स अभाव भएकाले बाहिरबाट मगाएका छौँ । लक्षण देखिएका कैदीबन्दीलाई औषधी चलाएकाले कोरोना संक्रमण परीक्षण गर्नुपरेको छैन ।’ 


पहिलो र दोस्रो कोरोना संक्रमणको लहरमा जुम्ला कारागारका कैदीबन्दी प्रभावित भएका थिए । दोस्रो कोरोना संक्रमणको लहरमा १४ संक्रमितमध्ये एक जनाको मृत्यु भएको थियो । अहिले कारागारमा एक महिलासहित ११५ जना कैदीबन्दी छन् । 

 

जुम्लामा संक्रमित ६० पुगे


कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका ३२ स्वास्थ्यकर्मीसहित ६० जनालाई कोभिड–१९ संक्रमण देखिएको छ । ९८ जनाको एन्टिजेन परीक्षण गर्दा ४५ र १७ को पिसिआर परीक्षण गर्दा १५ जनालाई संक्रमण देखिएको हो । 


संक्रमणको तेस्रो लहरमा लक्षण देखिएकालाई कोभिड परीक्षण गर्ने अवस्थामा ३२ जना स्वास्थ्यकर्मीलाई संक्रमण भएको प्रतिष्ठानका मेडिकल रेकर्डर मेघराज बुढाले बताए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आइसोलेसनमा ४ जना उपचाररत छन् । अन्य सबैमा होम आइसोलेनमा छन् ।