close

सार्वजनिक जनगणनाको तथ्यांकमाथि मिथ्यांकको आशंका

सार्वजनिक जनगणनाको तथ्यांकमाथि मिथ्यांकको आशंका

Trulli
ADVERTISEMENT

जुम्ला–राष्ट्रिय जनगणना, २०७८ ले नेपालको जनसंख्यासम्बन्धी प्रारम्भिक तथ्यांक सार्वजनिक गरेको छ । राष्ट्रिय जनगणना, २०७८ अनुसार जुम्लाको जनसंख्या १ लाख १९ हजार ३७७ छ । यसअघि ०६८ मा १ लाख ८ हजार ९२१ थियो । १० वर्षको अन्तरमा जुम्लाको जनसंख्या १० हजार ४५६ मात्रै वृद्धि भएको छ । जुम्लाको वार्षिक जनसंख्या वृद्धिदर शून्य दशमलव ८८ प्रतिशत रहेको छ । 

 


तर, सार्वजनिक तथ्यांकमाथि नै नागरिकले आशंका गरेका छन् । सार्वजनिक भएको जनसंख्याको तथ्यांकसम्बन्धी समाचार प्रकाशन भएपछि नागरिकले सामाजिक सन्जालमा टिप्पणी गरेका छन् । 

 

राष्ट्रिय जनगणना २०७८ का गणक नै आप्mनो घरमा नआएर परिवार संख्या गणना नगरेको टिप्पणी भइरहेका छन् । सिंजा गाउँपालिका वडा नम्बर ३ धितालिहका जयाशंकर धितालले ०७७ मा कैलालीदेखि बसाइँसराइ गरी जुम्ला आए पनि आफ्नो घरमा गणक नआएको बताए । उनले भने, ‘यस्तै धेरै नागरिकका गुनासा छन् । अहिले सार्वजनिक भएको जनसंख्याको संख्या तथ्यपरक भए÷नभएको विश्वास गर्न सकिने खालको छैन ।’ 

 


चन्दननाथ नगरपालिका वडा नम्बर २ का रुपेश तिमिल्सिनाले सार्वजनिक जनसंख्याको तथ्यांक नै गलत भएको बताए । उनले भने, ‘हाम्रो घरका तीन जना परिवार सदस्य नै जनगणनामा छुटेका छन् ।’ १ नगरपालिका र ७ गाउँपालिका रहेको जिल्लाका ८ वटा स्थानीय तहमध्ये सबैभन्दा बढी जनसंख्या चन्दननाथ नगरपालिकाको छ भने सबैभन्दा कम गुठीचौर गाउँपालिकाको रहेको राष्ट्रिय जनगणना, २०७८ मा उल्लेख छ ।

 

चन्दननाथ नगरपालिकाको जनसंख्या २० हजार ९७३ छ । पुरुष १० हजार ४७५ र महिला १० हजार ४९८ छन् । नगरपालिकाभित्र ४ हजार १६६ घरधुरी संख्या र ५ हजार ३६७ परिवार संख्या रहेको छ । गुठीचौर गाउँपालिकाको जनसंख्या १० हजार ८९१ छ । पुरुष ५ हजार ३४४ र महिला ५ हजार ५४७ जना छ । गुठीचौर गाउँपालिकाको घरधुरी संख्या २ हजार २०५ र परिवार संख्या २ हजार ४५१ रहेको जिल्ला तथ्यांक कार्यालय जुम्लाले जनाएको छ । 


यस्तै, हिमा गाउँपालिकाको जनसंख्या १२ हजार ८०४ रहेको छ, जसमा पुरुष ६ हजार ३८८ र महिला ६ हजार ४१६ जना छन् । हिमाको घरधुरी संख्या २ हजार ६२ र परिवार संख्या २ हजार १०४ रहेको छ । कनकासुन्दरी गाउँपालिकाको जनसंख्या १३ हजार ६८७ छ । पुरुष ६ हजार ८०७ र महिला ६ हजार ८८० छन् ।  पातारासी गाउँपालिकाको जनसंख्या १६ हजार ८८१ छ, जसमा पुरुष ८ हजार ३४९ र महिला ८ हजार ५३२ छन् । पातारासीको घरधुरी संख्या ३ हजार १९१ वटा र परिवार संख्या ३ हजार ३७४ रहेको राष्ट्रिय जनगणना, २०७८ को प्रतिवेदनमा उल्लेख छ ।


सिंजा गाउँपालिकाको जनसंख्या १२ हजार ७५५ छ, जसमा पुरुष ६ हजार ५६१ र महिला ६ हजार १८३ छन् । सिंजामा घरधुरी संख्या २ हजार २७१ र परिवार संख्या २ हजार ४२७ रहेको छ । तातोपानी गाउँपालिकाको जनसंख्या १५ हजार ७२१ छ । पुरुष ७ हजार ७२८ र महिला ७ हजार ९९३ छन् । तातोपानीमा घरधुरी संख्या ३ हजार १९० र परिवार संख्या ३ हजार ३२१ छन् ।


तिला गाउँपालिकाको जनसंख्या १४ हजार ६९२ रहेको छ, जसमा पुरुष ७ हजार २६१ र महिला ७ हजार ४३१ छन् । घरधुरी संख्या २ हजार ५८२ र परिवार संख्या २ हजार ६६६ रहेको जनगणना २०७८ को प्रतिवेदनमा उल्लेख छ । जिल्ला तथ्यांक कार्यालय जुम्लाका अनुसार अहिले राष्ट्रिय जनगणना २०७८ को प्रराम्भिक प्रतिवेदनअनुसार जनसंख्याको तथ्यांक सार्वजनिक भएको हो । अहिले सार्वजनिक तथ्यांकमाथि मिथ्यांकको कुरा आएको देखिन्छ ।

 

सचेत नागरिकले आफ्नो घरमा गणक आए÷नआएको विषयमा त्यतिबेलै सचेत हुनुपर्ने हो । तर, अहिले मिथ्यांकको कुरा गरेर कुनै उपलब्धि नहुने तथ्यांक कार्यालय जुम्लाले जनाएको छ ।