जुम्ला–जुम्लाकी एक महिलाले बाँके प्रहरीमा मुगुका समानुपातिक सांसद तथा पूर्वमन्त्री मोहन बानियाले बलात्कार गरेको आरोपको जाहेरी दिएको तीन दिन बितिसक्दा पनि मुद्दा दर्ता हुन सकेको छैन । प्रहरीले मुद्दा दर्तामा ढिलाइ गरेको पीडित पक्षले गुनासो गरेको हो । सांसद बानियाले आफूलाई बलात्कार गरेको विषयमा बाँके प्रहरी नेपालगन्जमा जाहेरी दिए पनि अहिलेसम्म ढिलाइ भएको ती महिलाको गुनासो छ ।
पीडित महिलाले बुधबार पुनः जिल्ला प्रहरी कार्यालय बाँकेमा गएर मुद्दा दर्ता नभएको विषयमा सोधीखोजी गर्दा उल्टै प्रहरीले यो मुद्दा दर्ता भएजस्तै मान्नू भन्दै सम्झाएको र आधिकारिक मुद्दा दर्ता नभएको बताएको पीडित महिलाले जानकारी दिइन् । संवेदनशील मुद्दामा प्रहरी सक्रिय भएर दोषीलाई पक्राउ गर्नुपर्ने, मुद्दा दर्ता गर्नुपर्नेमा विभिन्न बहानामा बाँके प्रहरीले आलटाल गरिरहेको पीडित महिलाको दाबी छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले बहालवाला सांसदविरुद्धमा जाहेरी आएको र अहिले संसद् चलिरहेकाले सभामुखबाट अनुमति लिनुपर्ने हुँदा केही ढिलाइ भएको बताए । उनले भने, ‘पीडितको जाहेरी अनुसन्धान भइरहेको छ । पीडित महिलाले जाहेरी दिइसक्नुभएको छ । मेडिकल जाँचदेखि घटना स्थल जाँचसमेत भइसकेकाले मुद्दा दर्ता हुन्छ ।’
बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले घटनाको अनुसन्धान भइरहेको बताए । घटना अनुसन्धानसँगै मुद्दा दर्ता प्रक्रिया अघि बढिरहेको उनले जानकारी दिए । पीडितले न्याय पाउने र दोषीलाई कारबाही गर्ने विषयमा तलमाथि नहुने उनको दाबी छ । पीडित महिलाले जाहेरीअनुसारको घटना भएको दाबी गर्दै दोषीलाई न्यायको कठघरामा ल्याउन सहयोगका लागि आग्रह गरेकी छन् ।
सांसद बानियाले बलात्कार मात्रै नभई २५ लाख रुपैयाँसमेत आफूबाट लगेको ती महिलाको दाबी छ । जाहेरीमा उल्लेख भएअनुसार ८ मंसिर ०७६ मा २५ लाख रुपैयाँ सांसद बानियालाई दिएको र माग्दा आफू काठमाडौंमा रहेको र संयुक्त व्यापार गर्ने क्षेत्र खोजी गरिरहेको जवाफ दिएको पीडित महिलाले बताइन् । तर, लामो समयसम्म पनि कुनै व्यापार, व्यवसाय नगरेकाले रकम ब्याजसहित फिर्ता माग्दा चेक दिए पनि बैंकमा नसाटिएको उनले बताइन् ।
सांसद बानियाले नेपालगन्जमा रकम दिन्छु भनेपछि अप्सरा होटलको २१५ नम्बर कोठामा बसेको उनको दाबी छ । सोही होटलमा बसेका बानियाले बिहान ५ बजे तपाईंको रकम आयो, ढोका खोल्नुस् भनेपछि ढोका खोलेको मौका छोपेर बलात्कार गरेको महिलाले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ ।
जाहेरीमा मुगुका समानुपातिक संघीय सांसद बानियालाई यथाशीघ्र खोजतलास एवं पक्राउ गरी जबर्जस्ती करणीसम्बन्धी कसुरमा हदैसम्म सजाय मागदाबी गरिएको छ ।