close

निर्वाचन सुरक्षामा खटिँदा मृत्यु हुने सुरक्षाकर्मीलाई सरकारले २० लाख दिने

निर्वाचन सुरक्षामा खटिँदा मृत्यु हुने सुरक्षाकर्मीलाई सरकारले २० लाख दिने

Trulli
ADVERTISEMENT

काठमाडौँ । सरकारले निर्वाचनको सुरक्षामा खटिएका सुरक्षाकर्मीको मृत्यु भए परिवारलाई २० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ । साथै घाइते भएको खण्डमा सम्पूर्ण उपचार खर्च समेत व्यहोर्ने भएको छ ।

 

आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा निर्वाचन सुरक्षामा खटिने म्यादी प्रहरीसहितका सुरक्षाकर्मीको मृत्यु भएमा आश्रित परिवारलाई २० लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको हो ।

 

मन्त्रिपरिषद् बैठकको निर्णयमा 'निर्वाचन सुरक्षामा खटिएको समयमा सुरक्षाकर्मी (नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग) तथा म्यादी प्रहरीको मृत्यु भएमा निजको आश्रित परिवारलाई २० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने’  उल्लेख छ ।

 

बैठकले निर्वाचनको क्रममा घाइते भएका सुरक्षाकर्मीको उपचारमा लागेको खर्च पनि सरकारले व्यहोर्ने निर्णय गरेको छ । बैठकले हिमाली जिल्लामा खटिने म्यादी प्रहरीलाई प्रहरी जवान सरह जिल्लागत दररेट अनुसार रासन भत्ता उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।