close

चुनावी नारामा अल्झिएको बुटवलको ‘झुम्सा खानेपानी आयोजना’ : १५ वर्षमा ४ प्रतिशत मात्रै काम

चुनावी नारामा अल्झिएको बुटवलको ‘झुम्सा खानेपानी आयोजना’ : १५ वर्षमा ४ प्रतिशत मात्रै काम

Trulli
ADVERTISEMENT

रुपन्देही । २०५२  सालयताका सबैजसो निर्वाचनमा ठूला साना दलका  नेताहरूले मुख्य चुनावी नारा बनाउँदै आए पनि  बुटवलको खानेपानी समस्या वर्षेनी बढ्दो छ । 

 

बुटवलबासीले वर्षौंदेखि हिउँदमा धारामा पानी नआउने बर्खा लागेपछि धमिलो पानी खानुपर्ने समस्या झैल्दै आएका छन् । 

 

गर्मी लागेसँगै बुटवलको दीपनगर, सुख्खानगर, बटौली, बेलबासलगायत क्षेत्रमा धारामा पानी निकै कम आउँछ । बर्खा लागेपछि त्यही धारामा धमिलो पानी आउँछ । 

 

पश्चिम नेपालकै व्यापारिक केन्द्र बन्दै गएको बुटवल सहरमा निर्वाचनका बेला आकाशका जुनतारा झारिदिन्छु जस्तै गर्ने जनप्रतिनिधि जितेर गएपछि आप्mनै सेवा सुविधामा लिप्त हुँदा आमनागरिकले शुद्धपानी खान पाएका छैनन् । 

 

पानीको आसैआसमा जीवन बित्न थालेको गुनासो छ बुटवल सुख्खानगरकी  पुनम रजालीको । गर्मी याममा ट्यांकरको पानी किनेर गुजारा चलाउनुपर्ने अवस्था रहेको उनको भनाइ छ ।  बुटवलबासीले यस्तो समस्या भोग्न थालेको दुई दशक भयो । 

 

यो अवधिमा बुटवल क्षेत्रबाट खानेपानीकै नारा  उछालेर एमाले नेता विष्णु पौडेल तीनपटक चुनाव जिते सांसद्, मन्त्री बने । २०६४ कै चुनावमा पौडेलले झुम्सा खानेपानी आयोजनामार्फत् बुटवलबासीलाई पर्याप्त खानेपानी उपलब्ध गराउने  प्रतिबद्धता गरेका थिए ।

सांसद्÷मन्त्री बनेपछि उनी पटक–पटक अनुगमन निरीक्षणका नाममा त कहिले शिलान्यासका नाममा हुलका हुल कार्यकर्ता बोकेर आयोजना स्थलमा घुमफिर पनि गरे । 

 

तर, आयोजना कार्यान्वयनका लागि ठोस पहल नगरेको भने अहिलेसम्म देखिएको छैन । २०७४ को निर्वाचनमा यही नारा लिएर चुनावी मैदानमा उत्रिएका एमालेका शिव सुवेदीले बुटवलको मेयरमा जिते । 

 

जनतासँग भोट माग्न जाँदा उनले दुई वर्षभित्रै झुम्साको पानी बुटवल ल्याउने बाचा गरेका थिए । तर, पाँच वर्ष बित्दा न बुटवलबासीको मतले पटक– पटक सांसद र मन्त्री बनेका पौडेलले समस्या समाधानमा चासो देखाएनन् मेयरमा जितेका सुवेदीले  । 

 

२६ वर्षदेखि अलपत्र झुम्सा खानेपानी आयोजना अहिले पनि सुसुप्त अवस्थामै छ । निर्माणाधीन अवस्थामा छ ।

 

खानेपानी संस्थान बुटवलका अनुसार यहाँ दैनिक तीन करोड ३२ लाख लिटर पानीको माग छ  । वितरण पुगनपुग दुई करोड ४० लाख लिटर मात्रै छ । 

 

हाल संस्थानले ६० प्रतिशत पानी तिनाउ खोलाबाट पम्पले तानेर वितरण गर्छ । अहिले  १६ हजार धारामा  सो पानी आउँछ ।

 

हरेक वर्ष करिब एक हजारको हाराहारीमा नयाँ धारा जडानको निवेदन पर्छ । त्यसबाहेक १९ वटा बोरिङमार्फत् पानी वितरण गरिएको छ । तर, तिनाउ र चुरेको अनियन्त्रित दोहनले जमिनमुनिको पानीको सतह घट्दै जाँदा बोरिङबाट पानी कम आउँछ । जसका कारण  बुटवलमा पानीको अभाव वर्षेनी चुलिँदो छ ।

 

बुटवलको त्यही खानेपानी समस्या समाधान गर्ने उद्देश्ले २६ वर्षअघि  सिस्नेखानेपानी आयोजना सुरु भएको थियो । पाल्पाको झुम्सा स्थित सिस्ने खोलाबाट दैनिक सात लाख लिटर पानी बुटवल ल्याउने योजनासहित २०५२/०५३ मा आयोजना सुरु भएको थियो । 

 

आयोजना सुरु भएको एक दशकपछि सिस्नेको पानीले बुटवलको माग धान्न नसक्ने ठहर गर्दै मूल फेरियो । सिस्नेको सट्टा हालको तिनाउ गाँउपालिका ३ र ४ मा पर्ने झुम्सा खोलाको फिरफिरे घाटबाट दैनिक तीन करोड २० लाख लिटर पानी बुटवल ल्याउने योजनासहित २०६४÷२०६५ मा झुम्सा खानेपानी आयोजनामा परिमार्जित गरियो । 

 

यो आयोजनामा करोडाैं रकम खर्च  भइसकेको छ । तर, हाल सम्म कुल आयोजनाको काम जम्मा ४.१६  प्रतिशत मात्रै भएको छ ।  यो आयोजनामा एक दशक अघि नै मुहानमा बनाइएको बाँध ६ वर्षअघि बाढीले बगाइदियो ।

 

बाँध निर्माणको डिजाइन र प्राविधिक पक्ष कमजोर हुँदा ६ वर्ष अघिको बर्र्खे बाढीले घोराबन्दीघाटनजिकै बनाइएको बाँध नै भत्किएको थियो । खानेपानी संस्थान कर्मचारीका अनुसार इन्जिनियरिङ सर्भेविनै बाढी र पहिरोको जोखिमस्थलमै निर्माण गरिएको बाँध वर्षाले भत्काइदिएको हो । 

 

लामो समय काम नहुँदा बिछ्याइएका पाइप फुटेर कामै नलाग्ने भएपछि ती फालिएका छन् ।  १५ करोड बढीका  संरचना त त्यसै खेर गएको आयोजनामा काम गरेका अधिकारी बताउँछन् ।

 

बाँध निर्माणमा लापरबाही सँगै पाइप खरिदमा समेत २५ करोडको भ्रष्टाचार भएको भन्दै २०७५ को वैैशाखमा अख्तियारमा उजुरी परेको थियो । मुद्दा परेसँगै २५ करोडका २० इन्च र १० इन्चका पाइप झन्डै ६  वर्षदेखि शिवनगर जंगलमा अलपत्र छन् । 

 

अहिले के हुँदैछ ? 

 

पछिल्लो पटक २०७७ जेठमा ड्याम निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । आयोजनाका उपप्रमुख मन्दीप श्रेष्ठले ११ करोडको लागतमा ड्याम निर्माणको काम सकिएको बताए । 

 

ड्यामदेखि बुटवलको रामफेदीसम्म पाइपलाइनका लागि २०७७ जेठ १ गते अर्को ठेक्का लागेको थियो । १४ करोडमा लागेको ठेक्काको करिब ६० प्रतिशत मात्रै काम भएको छ । 

 

जसअन्तर्गत ६ किलोमिटर पाइप बिछ्याइको छ । बाँकी ५ किलोमिटर पाइप लाइनको काम रोकिएको छ । झुम्सा–दोभान खण्डमा मुख्य सडक पर्ने भएकाले सडकले पाइप बिछ्याउन अनुमति नदिँदा काम रोकिएको आयोजना प्रमुख मोहनदत्त भट्टले बताए ।

 

प्रमुख भट्टका अनुसार बिछ्याइएका पाइप २० र १० इन्चका छन् । पाइप क्रस गर्नुपर्ने स्थानमा बनाउनुपर्ने तीनवटा ट्रस्स ब्रिजमध्ये अहिलेसम्म एउटाको मात्रै काम सुरु भएको छ । यसपालि पनि  तोकिएको समयमा आयोजना सम्पन्न नहुने पक्का भएपछि अहिले ठेक्काको म्याद थपको तयारी भइरहेको छ ।

 

झुम्साको पानी बुटवलको रामफेदीमा ल्याएर ओभरहेड ट्याङ्कीमा खन्याइनेछ । तिनाउवारीको बुटवलमा ३ वटा तिनाउ पारीको बुटवलमा ३ वटा गरी ६ वटा ओभरहेड ट्याङ्की बनाइनेछ । बुटवलमा जग्गा पाउन नसकेकाले शुद्धीकरण प्लान्ट झुम्सा क्षेत्रमै निर्माण गरिने आयोजनाले जनाएको छ । 

 

ओभरहेड ट्याङ्की,सुद्धीकरण प्लान्ट,पानी वितरण प्लान्ट, रिर्जबवायर, पानी वितरण पाइपलाइनजस्ता कामका लागि जग्गा सुनिश्चित गरेपछि बल्ल ठेक्का लगाइनेछ ।  यी सबै काम निर्वाध रूपमा अगाडि बढ्यो भने पनि आयोजना सम्पन्न हुन कम्तीमा ५÷६ वर्ष लाग्ने आयोजनामा काम गरेका अधिकारी बताउँछन् ।

 

आयोजना सम्पन्न गर्न  कुल ६ अर्ब ३५ करोड बजेट लाग्ने भनिए पनि हालसम्म जम्मा २५÷२६ करोडको काम भएको आयोजनाका उपप्रमुख श्रेष्ठले बताए ।

 

यही अपुरो आयोजनालाई नारा बनाएर बुटवलबाट पटक पटक निर्वाचन जितेका नेता वर्षौंदेखि आयोजना अलपत्र पारिँदा र करोडौँको चलखेल हुँदा पनि मूकदर्शक बन्ने गरेका छन् । 

 

बुटवलका पुर्वमेयर पुनाराम पोखरेलले पच्चीसौँ  वर्षदेखि नगरबासीले कुरेको आयोजनालाई मेलम्चीजस्तै बनाउने चलखेल यस क्षेत्रबाटै जितेर पटक–पटक मन्त्री र सांसद भएकाहरूबाटै हुने गरेको बताए । 

 

वैशाख ३० को  स्थानीय निर्वाचनको प्रचारका लागि बुटवलमा खटिएका प्रतिनिधिसभा सांसद विष्णु पौडेलले फेरि यसपालि पनि झुम्सा खानेपानी आयोजनालाई नै अगाडि सारेर खानेपानी समस्या समाधान गर्ने बाचा गर्दै नगरबासीलाई झुक्याइरहेको पोखरेलको दाबी छ ।

 

बुटवलको मेयरमा एमालेका बाबुराम भट्टराई  र उपमेयरमा सावित्रा अर्याललाई जिताए खानेपानी समस्या तत्काल समाधान गरिदिने प्रतिबद्धता  भट्टराई र पौडेलले गर्दै हिँडेका छन् । 

 

बुटवल उपमहानगरमा गठबन्धनको तर्फबाट मेयरमा कांग्रेसका खेलराज पाण्डे र उपमेयरमा एकीकृत समाजवादीका चिनबहादुर गुरुङ उम्मेदवार छन् । उनीहरूले पनि बुटवलको खानेपानी समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धतासहित नगरबासीसँग मत मागिरहेका छन् । 

 

अलपत्र योजना सम्पन्न गर्नका लागि योग्य  उम्मेदवारलाई चुनाव जिताउने गरी भोट हाल्ने बुटबलवासीको भनाइ छ । उनीहरू भन्दछन् अब भुक्किने अवस्थामा छैन सचेत भएका छौँ विचार पुराएर भोट हाल्छौँ  र नगरमा अलपत्र अवस्थामा रहेको खानेपानी बाटोलगायत विभिन्न अधुरा र अलपत्र कामलाई सम्पन्न गर्नसक्ने क्षमतावान् र इमानद्वारालाई भोट दिने बताए ।