close

भोजपुरमा पूर्ण सरसफाइ अभियान

भोजपुरमा पूर्ण सरसफाइ अभियान

Trulli
ADVERTISEMENT

भोजपुर- भोजपुर जिल्लामा पूर्ण सरसफाइको दोस्रो चरणको अभियानको सुरुवात गरिएको छ । यसअघि खुला दिसामुक्त जिल्ला घोषणा गरिएको भए पनि सरसफाइको थप निरन्तरताका लागि सो अभियान थालनी गरिएको हो ।

यस वर्षबाट खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरले दोस्रो चरणको पूर्ण सरसफाइ अभियान अघि बढाएको छ । सरसफाइको कार्यक्रमलाई निरन्तरता दिनका लागि स्थानीय तह तथा अन्य सरोकारवाला पक्षलाई पूर्ण सरसरफाइसम्बन्धी तालिम दिइएको छ । कार्यालयले विगतमा भएका कामको निरन्तरतास्वरुप पुनः सरसफाइको कार्यक्रम अघि बढाएको हो ।

खुला दिसामुक्त भएपश्चात जिल्लाको सरसरफाइको अवस्थाबारेमा स्थानीय तहसँगको सहकार्यमा आवश्यक तथ्याङ्क सङ्कलन गरेर सोहीअनुरुप भावी कार्यक्रमलाई अघि बढाउने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरका प्रमुख देवनाथ सिंहले जानकारी दिए । कार्यालयले खानेपानी आयोजना सञ्चालनपूर्व स्थानीयको शौचालयको प्रयोगसँगै सरसफाइको अवस्थाबारे आवश्यक सूचना सङ्कलन गरिरहेको उनको भनाइ छ ।

'हामीले खानेपानी योजनासँगै सरसफाइका कार्यक्रमलाई पनि एकसाथ अघि बढाएका छौँ', उनले भने, 'यसअघि खुला दिसामुक्त जिल्ला घोषणा भएको भए पनि त्यसयता स्थानीय नागरिकको सरसफाइको अवस्थाबारेमा थप कार्यक्रम सञ्चालन गर्न आवश्यक छ । यहाँको सरसफाइलाई ध्यानमा राखेर पुनः दोस्रो चरणको कार्यक्रम सञ्चालन गरेका हौँ ।'

विसं २०७६ असोज ४ गते भोजपुर पूर्ण खुला दिसामुक्त घोषणा भएयता पहिलोपटक सरोकारवाला पक्षलाई समेटेर पूर्ण सरसफाइको कार्यक्रम सञ्चालन गरिएको कार्यालयले जनाएको छ । सरसफाइ  निरन्तर गरिने प्रक्रिया भएकाले पुनः अभियानलाई निरन्तरता दिन सरोकारवाला पक्षलाई तालिम दिइएको प्रमुख सिंहको भनाइ छ ।

'सरसफाइ निरन्तर गरिने प्रक्रिया हो', उनले भने, 'एकपटक घोषणा गरेरमात्र यसले पूर्णता पाउने होइन । यहाँका ८१ वटै वडाको सरसफाइको अवस्था बुझेर थप कार्यक्रम बढाउने लक्ष्य छ ।'

जनताको सबैभन्दा महत्त्वपूर्ण पक्ष स्वास्थ्य र सरसफाइ भए पनि राज्यले यसलाई कम प्राथमिकतामा राखेको प्रमुख सिंहले बताए । नागरिकको स्वस्थ्यसँग सरोकार राख्ने सरसफाइका लागि बजेट विनियोजन गर्दा विषेश ध्यान दिनुपर्ने उनको भनाइ छ ।

'मानिसको महत्त्वपूर्ण पक्ष भनेको सरसरफाइ हो', उनले भने, 'तर सरसफाइको पक्षमा प्राथमिकताका साथ बजेट विनियोजन भएको अवस्था छैन । नागरिकको जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने भएकाले सरसफाइको क्षेत्रमा प्राथमिकताका साथ काम गर्न आवश्यक छ ।'

मानव जीवनको महत्त्वपूर्ण पक्ष सरसफाइ रहेकाले यो विषयमा सबै पक्ष गम्भीर हुनुपर्ने प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताए । जिल्लामा दोस्रो चरणमा सुरु भएको सरसफाइ अभियानलाई पूर्णरूपमा कार्यान्वयनका लागि स्थानीय सरकार पनि जिम्मेवार बन्नुपर्ने उनको भनाइ छ । 

सरसफाइ कार्यक्रम सरकारी कार्यालय, होटल, सार्वजनिकस्थल लगायतमा पनि सञ्चालन गर्न सके अझ प्रभवाकारी हुने सहभागीले बताएका छन् । नेपाल जनस्वास्थ्य संस्थाको सहजीकरण र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको आयोजनामा भएको तीनदिने पूर्ण सरसफाइसम्बन्धी कार्यक्रममा विभिन्न क्षेत्रका २९ जनाले सहभागिता जनाएका छन् ।