close

महानगर दिवसमा काठमाडाैँमा बाँसुरी बादन प्रतियोगिता

महानगर दिवसमा काठमाडाैँमा बाँसुरी बादन प्रतियोगिता

Trulli
ADVERTISEMENT

काठमाडौँ - काठमाडौँ महानगरपालिकाले महानगरस्तरीय बाँसुरी बादन प्रतियोगिता आयोजना गर्ने भएकाे छ । २९ औँ महानगर दिवसको अवसरमा महानगर स्वर्णिम योजना ‘सांस्कृतिक महानगर’ कार्यक्रमअन्तर्गत मंसिर २७ गते  राष्ट्रिय सभा गृहमा  बाँसुरी बादन प्रतियाेगिता गर्न लागेकाे हाे ।

महानगरपालिकाले परम्परागत बाद्य सामग्री तथा शैलीको संरक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेकाे जनाइएकाे छ । प्रतियोगितामा सहभागी हुन विभागले दर्ता फाराम उपलब्ध गराएको छ । इच्छुक समूहले फारामा नां (नाम), थाय्वाय् (ठेगाना) सहित प्रतियोगितामा कुन बाँसुरी बजाउने हो, ठुलो बाँसुरी (घोर), मध्यम बाँसुरी (माझवाल), सानो बाँसुरी (तीप), स्केलसहितको विवरण भर्नुपर्छ ।

दर्ता फाराममा टोल, गुथि वा संघ संस्थाका गुरुः कजीः, नायः बाट शिफारिस गराउनुपर्छ । यसपछि वडाबाट शिफारिस गराएर मंसिर २० गतेभित्र सम्पदा तथा पर्यटन विभागमा पठाउनु पर्छ ।  

प्रतियोगितमा सहभागी हुने सर्तका विषयमा जानकारी दिँदै स्वर्णिम योजनाका सम्पर्क व्यक्ति धर्म मुनिकार भन्नुहुन्छ, ‘प्रतियोगीले प्रस्तुति हुने दिन परम्परागत भेषभुषा र गरगहना (सृङ्गार) लगाउनुपर्छ । बजाइने बाँसुरी बाँस, काठ वा प्लाष्टिकमध्ये जुनसुकै भए पनि हुन्छ ।’

मुनिकारकाअनुसार एउटा समूहमा १२ जनाले सहभागिता जनाउन सक्नेछन् । यसमा ८ जनाले बाँसुरी मात्र वादन गर्नु पर्नेछ । सकेसम्म तीनवटै बाँसुरी समावेश गर्नुपर्छ । यो सम्भव नभए कम्तीमा ठुलो र मध्यम वा मध्यम र सानो अनिवार्य बजाउनुपर्छ । 

२ जनाले पछिमा, खिं/कोचखिं, धाः/नायखिं/मादल/धिमे/धोलक /नगर वा अन्य नेवार समुदायका छालाका बाजामध्ये ३ वटा बाजा बजाउन सक्छन् । यस्तै २ जनाले ताः, झ्याली, बबू, भुस्याः, छुस्या, घौ, घंघलाजस्ता नेवार समूदायमा बजाइने धातुबाट बनेका बाजाहरु सहायक बाजाका रुपमा बजाउन पाउँछन् । 

प्रतियोगीले ५ वटा धुन छानेर पठाउनुपर्छ । यसमध्ये २ वटा धुन प्रतियोगितामा बजाउनु पर्छ । पहिलो आफैँले छानेको बजाउन पाइन्छ । दोस्रोमा गोलाबाट छान्दा जुन आउँछ, त्यही बजाउनुपर्छ । 

एउटा धुन ५ मिनेटभित्र सक्नु पर्छ । ४ मिनेटमा संकेत बज्नेछ । यदि छोटा धुन भए २ वटासम्म मिलाएर बजाउन पाइन्छ । गीत नेपाल भाषाकै हुनुपर्छ । 

प्रतियोगिताबाट प्रथम स्थान हासिल गर्नेलाई १ लाख ५० हजार रुपैयाँ र शिल्डमा चाँदीको ठूलो बाँसुरी प्रदान गरिनेछ । दोस्रो पुरस्कार १ लाख रुपैयाँ नगद र शिल्डमा चाँदीको मझौला बाँसुरी तथा तेस्रोमा ५० हजार रुपैयाँ नगदसहित शिल्डमा चाँदीको सानो बाँसुरी प्रदान गरिनेछ । 

सहभागी सबैलाई प्रोत्साहनस्वरुप १० हजार रुपैयाँ नगद र प्रमाण पत्रसँगै सबै सहभागीलाई प्रमाण पत्र दिइने मुनिकारले जानकारी दिए ।