close

तरकारी खेतीले बनायो लखपति

तरकारी खेतीले बनायो लखपति

Trulli
ADVERTISEMENT


जीवनको केही समय मलेसियामा पसिना बगाउँदै बिताए पनि राम्रो कमाइ गर्न नसकेपछि स्वदेश फर्किएर तरकारी खेतीमा लागेका जनार्दन प्रसाद चाई को आर्थिक अवस्थाले कोल्टे फेरेको छ ।


दुई वर्ष मलेसियामा पसिना बगाउँदैमा बित्यो । गरिबीका कारण घर मायादेवी गाउँपालिका–५ सेमरनाका जर्नादन प्रसादको खर्च चलाउन नसकेपछि मलेसिया हानिएका चाई त्यहाँ पसिना बगाए पनि खासै राम्रो कमाइ गर्न नसकेपछि घर फर्किए । घर फर्केर हलो र कोदाली बोकी आप्mनै खेतको माटोमा पसिना बगाउन थालेपछि चाइले आम्दानी गर्न थाले । 


‘सुरु–सुरुमा तरकारी खेतीबाट खासै राम्रो कमाइ गर्न नसके पनि मैले हिम्मत हारिनँ’, उनले भने, ‘कतिले मलाई विदेशमा त कमाउन नसकेको मान्छेले जाबो माटोमा पसिना बगाएर के कमाउलास् भनेर गिज्याए । तर, म आफ्नो काममा लागिरहें । अहिले तरकारी खेतीबाट राम्रो आम्दानी भइरहेको छ ।’


“करिब लाख रुपैयाँ खर्चेर मलेसियामा काम गर्न गएँ । त्यहाँको एउटा फर्निचर उद्योगमा काम थालें,’ उनले भने, ‘सबै खर्च कटाएर जसोतसो मासिक १५ हजार रुपैयाँ बचाउँथे । राम्रो कमाइ हुन नसकेपछि अब आफ्नै गाउँघरमा केही गर्नुपर्छ भनेर दुई वर्षपछि स्वदेश फर्किए ।’


स्वदेश फर्किएर तरकारी खेती गर्ने निधो गरेर त्यसमा लागे र अहिले तरकारी खेतीबाटै राम्रो आम्दानी भइरहेको उनको भनाइ छ ।
‘यही माटोमा पसिना बगाउन थालेपछि बुझें, विदेशमा बगाउने पसिना आफ्नो माटोमा बगाउने हो भने पैसा यही फल्दोरहेछ’, उनले खुसी साटे, ‘विदेश गएपछि बल्ल मलाई चेत आयो । सन्तानलाई स्वदेशमै परिश्रम गरे पैसा फलाउने माटो चिनाइदिएँ ।’
भैरहवा लुम्बिनी सडकखण्डको सेमरनामा ६ बिघा जग्गा लिजमा लिएर जनार्दनको परिवारले तरकारी खेती गर्दै आएको छ । उनले भने, ‘तरकारी खेती हाम्रो पुख्र्यौली पेसा पनि हो ।’

 

अहिले जनार्दनको खेतबारीमा गोलभेंडा, काँक्रो, करेला लटरम्मै छ । खेतबारीमा फलेको तरकारी बिक्री भएर आएको कमाइका कारण उनको घरपरिवारमा खुसी र सन्तुष्टि छाएको छ ।


तरकारी खेतीका लागि उर्बर जमिन भएपनि पर्याप्त लगानी नहुँदा उत्पादन बढाउन नसकिएको गुनासो जनार्दन गर्छन् । आफ्नो खेतबारीमा उत्पादित तरकारी किन्न बुटवल र भैरहवाबाट गाडी लिएरै खेतबारीमा ग्राहक आइपुग्ने गरेको उनले बताए । 


रुपन्देहीको मर्चवार क्षेत्रको समरीमाई, कोटहीमाई र मर्चवारी गाउँपालिकाको अधिकांश घरपरिवारको मुख्य आम्दानीको स्रोत कृषि उत्पादन हुने गरेको छ ।