close

ड्रागन खेतीमा रमाउँदै सुवेदी भन्छन्: विदेश किन जानु ?

ड्रागन खेतीमा रमाउँदै सुवेदी भन्छन्: विदेश किन जानु ?

Trulli
ADVERTISEMENT

चितवन - ड्रागन फ्रुट्स (सिउँडी फल) यहाँको बजारमा नयाँ फलका रुपमा लोकप्रिय छ । पछिल्लो समय धेरै किसानले रुचाएको यो नयाँ फल फलाउन यहाँका ६० वर्षीय शम्भु सुवेदी निकै मेहनतका साथ लागेका छन् । आफ्नो जीवनको अधिकांश समय नेपाली राजनीतिमा बिताएका सुवेदीको अहिलेको दिनचर्या ड्रागन फ्रुट्स खेतीमा बित्ने गरेको छ ।

बिरुवा उत्पादनदेखि बिक्रीसम्म उनी जुट्दै आएका छन् । रोजगारीको सिलसिलामा युवा विदेश पलायन हुँदै गर्दा उनले व्यावसायिक कृषि गरेर यहीँ सम्भव छ भन्ने देखाएका छन् । भरतपुर महानगरपालिका –७ निवासी सुवेदीले विगत तीन वर्षदेखि दुई बिघा जमिन भाडामा लिएर व्यावसायिक रुपमा ड्रागन खेती गर्दै आएका छन् । यो खेतीसँगै उनले सोही जमिनमा तरकारी, मकै लगायतको खेती गर्दै आएका थिए ।

सुवेदीले चितवन एकेडेमी फर टेक्निकल कलेजको भरतपुर–७ प्रेमबस्तीमा रहेको जग्गा वार्षिक प्रतिकठ्ठा रु दुई हजार पाँच सयमा भाडामा लिएर खेती गर्दै आएका छन् । 

 उनले अहिले सो जमिनमा सूर्यमुखी फूल, तरकारी र ड्रागनखेती गरेर वार्षिक रु पाँच लाखदेखि सात लाखसम्म बचत गर्दै आएका छन् । आफू रोजगारीको सिलसिलामा काठमाडौँ बस्दा ड्रागन खाएको र सानैदेखि यसको खेती गर्ने सोच भएकाले अहिले त्यसलाई पूरा गर्न  लागेको उनले बताए । उनले मलेसियाबाट नेपाल ल्याएर हुर्काएका एक हजार, भियतनामका दुई हजार र भारतको राजस्थानका दुई हजार गरी पाँच हजार बिरुवाबाट खेती गरेका हुन् । सुरुमा उनले मेसियाबाट ल्याइएका बिरुवाबाट खेती थालेका हुन्।

उनले क्रमशः अन्यत्रबाट बिरुवा ल्याएका हुन् । उनले भने, 'सुरुमा मैले मलेसियाबाट ल्याएको ड्रागनको बिरुवाबाट यो खेती सुरुवात गरेको हुँ ।' सुवेदीले तिनै बिरुवा उत्पादन गरेको एक सय किलो ड्रागन फुट्स गतवर्ष दुबई पठाए । उनले भने, 'अहिले पनि कतारमा कुरा भइरहेको छ ।' यसको माग विदेशमा समेत बढ्दो मात्रामा रहेको उनको भनाइ छ । विदेशमा राम्रो माग रहेको जनाउँदै उनले उत्पादन गर्न सके बजारको अभाव नहुने बताए ।  
 
सुवेदीको बारीमा अहिले छ प्रकारका ड्रागनका बिरुवा छन् । त्यसमध्ये सेतो र तीन थरी रातो रङ्गको ड्रागनको उत्पादन भइरहेको उनले बताए । अहिले उनको बारीमा भियतानाम र अमेरिकाबाट ल्याइएका बिरुवा उत्पादन दिने तयारीमा छन् । उनले भने, 'गतवर्ष मैले रु १० लाखको ड्रागन बेचेको हो, अहिले पनि रु तीन लाखको फल बिक्री गरिसकेको छु ।' 

बिरुवा बेच्न सके नाफा बढ्ने उनको भनाइ छ । गतवर्ष रु तीन लाख बराबरका बिरुवा बिक्री गरेको सुवेदीले बताए । सुरुवातमा लगानी धेरै लागे पनि अन्य वर्षमा खासै लगानी नहुने उनले जानकारी दिए । बिरुवा रोपेपछि हरेक वर्ष मजदुर, मल र जग्गा भाडामा मात्रै खर्च हुने उनकाे भनाइ छ ।

विदेशमा यस फलबाट वाइन, साबुन, स्याम्पु, टुथपेष्ट, फेस क्रिम जस्ता मानव जीवनमा आवश्यक प्रसोधित सामग्रीको उत्पादन हुने गरेको सुवेदीले जानकारी दिए । उनले यस खेतीमा एक पटकमा लगानी गरे पछि २५ वर्षसम्म उत्पादन लिन सकिने बताए । उनको तीन वर्षको अनुभवले आफ्नो जमिन हुनेले थोरै ठाउँमा धेरै आम्दानी गर्न सक्छन् । उनले भने, 'आफ्नो बारी बाझै छाडेर विदेश जानुपर्दैन ।' बिरुवा लगाएको पाँच/छ महिनाबाट उत्पादन लिन सकिने उनको भनाइ छ ।

 वर्षमा १५ देखि २० पटकसम्म एउटै बोटबाट उत्पादन लिन सकिने यो फल विशेष गरी जेठदेखि कात्तिकसम्म उत्पादन हुने गर्दछ । जिल्लामा ५० देखि ६० बिघा क्षेत्रफलमा यो खेती गरिएको अनुमान छ । यहाँको उत्पादन स्थानीय बजार, काठमाडौँ, पोखरा लगायतका सहरमा पुग्ने गरेको छ । कतिपय उत्पादन विदेशसमेत जाने गरेको छ । सुवेदी नेकपा (एमाले)को प्रदेश समिति सदस्य हुन् । विदेशमा रु ३०/४० हजार कमाउन जानुभन्दा यही व्यावसायिक कृषि कर्म गर्नु उत्तम हुने उनको सुझाव छ ।