हिउँले ढपक्कै रारा


  • change font
  • change font
  • change font

मुगु– कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य राराताल बिहीबारदेखि परेको हिमपातले यतिबेला बिछट्टै सुन्दर र मनमोहक देखिएको छ । महेन्द्र तालको नामले पनि चिनिने राराताल समुद्र सतहदेखि २९९० मिटर उचाइमा रहेको छ ।

 

रारा यतिबेला हिमपातले चाँदीझैँ टल्किनुका साथै ढपक्कै ढाकिएको छ । चारैतिर हिमपातले सेताम्य बीचमा आकाशगंगाझैँ नीलो राराताल रमणीय तथा प्राकृतिक सौन्दर्यमा डुबुल्की मार्दै निश्चल भएर बसेको छ ।


रारामा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ हुन थालेका छन् । प्राकृति सौन्दर्यको अनुपम नमुना रारा ताल वरपर पर्यटक भित्र्याउन साइकल लेन निर्माण गरिनुका साथै आतिथ्य सत्कारका लागि नेचर गाइडको पनि व्यवस्था गरिएको छ ।


हिमाली जिल्ला मुगुमा माघ अन्तिम साता हिमपात भएपछि रारासँगै आसपासका स्थान सेताम्ये देखिएका छन् । मनै लोभ्याउने रारातालमा यतिबेला युवायुवतीको भीड थामिनसक्नु छ । हिमपात भएपछि राराताल छेउछाउका होटल, होमस्टेहरू पनि भरिभराउ भएको रारा मुर्मा होमस्टे सञ्चालक देवकृष्ण रोकायाले सुनाए । तपाईं–हामी पनि कर्णालीको पहिचान बोकेको रारातालको फन्को मार्न जाने कि ?