छि ! फोहोर : अपरिपक्वताको नमूना


  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरभित्रका चोक, गल्लि मात्र होइन, मुख्य सडकमा समेत जताततै फोहोरको डंगुर देखिन्छ । पालिका खबरका फोटो पत्रकार हर्क घलानको क्यामेराले खिचेका केही तश्विरहरु प्रस्तुत गरेका छौं । 

 

कसरी थुप्रियो फोहोर ?

काठमाडौं उपत्यकाको फोहर नियमितरूपमा उठ्न सकेको छैन । गत साउन ३२ देखि नै कामपाले सार्वजनिकरूपमा सूचना जारी गरेर नगरवासीलाई एक हप्ता घर बाहिर फोहर ननिकाल्न आग्रह गरेको थियो । 

 

सो सूचना सार्वजनिक भएको पनि एक हप्तापछि फेरि अर्काे सूचना आयो । सूचनामाथी सूचना अनि फोहोर भने थुप्रिंदै गइरहेको छ । यसले गर्दा नदी किनार र सडक छेउछाउमा दुर्गन्ध फैलिन थालिसकेको छ । कामपा वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले सहरी विकास मन्त्रालयले समयमा नै दीर्घकालीन ल्याण्डफिल साइट निर्माणको काम सम्पन्न नगर्दा थप समस्या भएको बताए । उनले भने, ‘निर्माणाधीन बञ्चरेडाँडामा फोहर व्यवस्थापनको काम शुरु नगरिएसम्म समस्या समाधान हँदैन, सिसडोलमा अब व्यवस्थापन गर्ने ठाउँ छैन ।’

 

सिसडोलमा  २०६२ मा दुई वर्षको मात्र फोहर व्यवस्थापन गर्न सकिने क्षमताको ल्याण्डफिड निर्माण गरिएको थियो तर पटक पटक त्यसैमा माटोले पुर्दै केही विस्तार गरेर अहिलेसम्म नै फोहर व्यवस्थापन गरिँदै आइएको छ । हरेक दिन उपत्यकाबाट १ हजार २०० मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । यसमध्ये सबैभन्दा बढी कामपाको मात्र ५०० मेट्रिक टन फोहर निस्किने गर्दछ । निजी र कामपाको गरी दैनिक कम्तीमा २०० गाडी फोहर लाने गरिएकामा अहिले मुस्किलले ५० गाडीमात्र सिसडोल पुग्ने गरेका छन् । 

 

हाल फोहर व्यवस्थापन गरिँदै आएको सिसडोलभन्दा २ किलोमिटर टाढा बञ्चरेडाँडामा दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माण गरिएको छ । हाल निर्माण भइरहेको दीर्घकालीन ल्याण्डफिल साइट नुवाकोट र धादिङको सिमानामा पर्छ । १३ वर्षदेखि नुवाकोटको सिसडोलमा उपत्यकाको १८ स्थानीय तहको फोहर विसर्जन गरिँदै आएको छ । काठमाडौँ उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करीब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ ।