close

'राजाले गरेको संसद विघटन त पुनर्स्थापना भयो, रैतीले गरेको विघटन पुनर्स्थापना हुन्छ' 

'राजाले गरेको संसद विघटन त पुनर्स्थापना भयो, रैतीले गरेको विघटन पुनर्स्थापना हुन्छ' 

Trulli
ADVERTISEMENT

नवलपरासी- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई रैतीको संज्ञा दिएका छन् । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले रैतीले गरेको संसद विघटन पुनर्स्थापना हुने दाबी गरे ।  


‘राजाले गरेको संसद त पुनर्स्थापना भयो, रैतीले गरेको संसद विघटन पुनर्स्थापना नहुने कुरै हुँदैन’, पूर्व कृषिमन्त्रीसमेत रहेका भुसालले भने, ‘रहस्यमय तरिकाले संसद विघटन गरियो । यस प्रतिगमनकारी कदमको विरुद्ध संघर्ष गर्छौं ।’


प्रचण्ड-माधव खेमाका नेता भुसालले जुन कारण देखाएर प्रतिनिधिसभा विघटन गरिएको हो, त्यो वास्तविक नभएको बताए । ‘कामै गर्न दिइएन भन्ने जुन मिथ्या प्रचार गरिएको छ’, उनले भने, ‘त्यसमा सत्य छैन ।’ आफू मन्त्री हुँदा मन्त्रिपरिषद्मा कुनै विषयमा छलफल र बहस नभएको उनले बताए । ‘एमसीसीबारे बहस भयो’, भुसालले भने, ‘अरू कुनै विषयमा छलफल हुनै सकेन ।’


उनले प्रतिनिधिसभा विघटन गरेर संविधान च्यात्ने कामको सुरुवात भएको बताए । प्रधानमन्त्री ओलीले चालेको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै कुनै पनि हालतमा संसद पुनर्स्थापना गरेरै छाड्ने भुसालले बताए । 


उनले सर्वोच्च अदाललतले जनताको हितमा फैसला गर्नेमा आशावादी रहेको जनाए । भुसालले सर्वोच्च अदालतसँग कुनै पनि विमति नरहेको पनि बताए । अहिलेको परिस्थितिले लोकतन्त्रमाथि नै आघात पुर्‍याएको उनको ठहर  छ । प्रतिनिधिसभाको पुनर्स्थापनाको माग कम्युनिस्टहरूको मात्र नभएर सबै नागरिकको भएको उनले दाबी गरे ।


प्रतिनिधिसभा पुनर्स्थापना हुन नसके लोकतन्त्रविरोधी शक्ति हावी हुने र त्यसले देशलाई  ठूलो क्षति हुने भुसालको भनाइ छ  । लोकतन्त्रमाथि पटक पटक आक्रमण हुँदा राष्ट्रवादी शक्तिहरू एक भएर लाग्नुपर्नेमा भुसालले जोड दिए । संसद पुनर्स्थापना गर्ने कार्यमा नेपाली कांग्रेस पनि सँगसँगै रहने उनले बताए ।


त्यस्तै, प्रचण्ड-नेपाल खेमाले पाल्हिनन्दनस्थित बेलासपुरमा सोमबार अगुवा कार्यकर्ता प्रशिक्षण सम्पन्न गरेको छ । प्रशिक्षणमा नेकपाका स्थायी समिति सदस्य घनश्याम भुसालले पुष्पलाल २०१७ सालमा संसद पुनर्स्थापनाको पक्षमा उभिएको बताउँदै अहिलेको कार्यभार संंसद पुनर्स्थापना रहेको बताए । 


कार्यक्रममा पूर्वसभामुख ओनसरी घर्तीले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमै नभएको संसद विघटनको काम गरेर प्रतिगामी कदम चालेको बताइन् । उनले दुई तिहाइ नजिकको बहुमत प्राप्त दलको प्रधानमन्त्रीले संसद विघटन गर्दा जनमतको अपमान भएको उल्लेख गरिन् । ‘उहाँले कामै गर्न दिइएन भन्ने जुन प्रचार गर्नुभएको छ, त्यो सरासर भम्र पार्नका लागि मात्र हो’, नेकपा केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशकी अध्यक्षसमेत रहेकी घर्तीले भनिन् ।


उनले प्रचण्ड-नेपाल खेमा नै नेपाल कम्युनिस्ट पार्टीको वैधानिक भएको बताइन् । घर्तीले बहुमत केन्द्रीय सदस्य आफूहरूतिरै रहेकाले सूर्य चिह्न पनि आफूहरूकै हुने दाबी गरिन् । नेपाली जनताको ठुलो त्याग र तपस्याले अहिलेको संविधान जारी भएकोमा कुनै व्यक्तिको सनकको भरमा संविधान नै धरापमा पर्ने स्थिति आउन नहुने घर्तीको भनाइ थियो ।


संविधानमाथि भएको कुको जनताले सजिलै प्रतिवाद गर्न सक्ने भन्दै घर्तीले आफ्नो चाहना त्यो परिस्थितिको सिर्जना नहोस् भन्ने नै रहेको सुनाइन् । 


सर्वोच्च अदालतले निष्पक्ष रूपमा आफ्नो भूमिका र दायित्वलाई ख्याल गर्दै जनताको पक्षमा फैसला गर्नुपर्ने उनको विचार थियो ।