close

किन बेपत्ता भए सांसद सिंह ?

किन बेपत्ता भए सांसद सिंह ?

Trulli
ADVERTISEMENT

बझाङ- बझाङबाट निर्वाचित विघटित प्रतिनिधिसभाका सासंद भैरवबहादुर सिंह १२ पुसमा काठमाडौंबाट बझाङ पुगे । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-नेपाल खेमाले मंगलबार चैनपुरमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्न उनी बझाङ पुगेका थिए । सिंह १३ पुसमा प्रचण्ड-नेपाल खेमाले नै आयोजना गरेको जिल्लाको विस्तारित बैठकमा समेत सहभागी भए ।


नेकपा सुदूरपश्चिम प्रदेश कमिटी सहइन्चार्ज भानुभक्त जैशी, केन्द्रीय सदस्य देवराज रेग्मी, प्रदेशसभा सदस्य देवकी मल्ललगायतका नेताहरू सहभागी बैठकमा सिहंले प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को विरोध गरे ।


उनले ओलीले चालेका कदम संविधानविरोधी, पार्टी एकताको मर्म र जनभावनाविपरीत भएको भन्दै जिल्लाका नेता, कार्यकर्तालाई प्रतिकार गर्न र विरोधमा उत्रिन आह्वान गरे । सिंहले बैठकमा ओलीले संघीय व्यवस्था र देशलाई नै बर्बाद पार्न खोजेको आरोपसमेत लगाए ।


बैठक सकेर केन्द्रीय सदस्य देवराज रेग्मीसँगै चैनपुरको एक गेष्ट हाउसमा सुतेका सांसद सिंह मंगलबार बिहान एकाएक गायब भए । उनी मंगलबार चैनपुरमा भएको विरोधसभामा सम्बोधन गर्ने दोस्रो वक्तामा थिए ।


चार दिनदेखि सँगसँगै रहेका सिंह एकाएक किन गायब भए ? भन्ने विषयमा सँगै सुतेका रेग्मीसमेत अनभिज्ञ छन् । ‘छुट्टिने बेला एकचोटि पनि यो काममा जाँदै छु भन्नुभएन । किन त्यसरी निस्किनुभयो, अहिलेसम्म जवाफ पाउन सकेको छैन । उहाँका दुवै फोन अफ छन्’, रेग्मीले भने ।


काठमाडौंबाट प्लेनमा धनगढी र धनगढीबाट बझाङ सँगै आएको उल्लखे गर्दै रेग्मीले भने, ‘उहाँले काठमाडौं छाडेपछि धेरै नै फोनहरू आउन थाले । यात्राकै क्रममा मलाईसमेत भन्नुभयो- यता आएपछि धेरै फोन आउन थाले, के गर्ने होला ?’


आएका फोनहरूको बेवास्ता गर्दै प्रचण्ड-नेपाल खेमाले आयोजना गरेको जिल्लाको विस्तारित बैठकमा सहभागी भएका सासंद सिंह हिजो भएको विरोधसभालाई पनि सम्बोधन गर्ने तयारीमा थिए ।


रेग्मीले भने, ‘हिजो बिहान उठ्नेवित्तिकै उहाँले मेरो त राती फोन आयो कमरेड, के गर्ने होला ? भन्नुभयो । मैले फोन आइरहन्छन् छोड्दिनुस् बरु चिया खान जाऔँ भनेर दुवै जना चिया खान निस्कियौँ । चिया खाइसकेपछि उहाँलाई भेट्न केही मान्छेहरू आए । तपाईं भेटघाट गर्नुस्, म अरू नेताहरूलाई भेट्न जान्छु भनेर एकछिन् निस्किएँ ।’


‘जिल्लाको पार्टी कार्यालय नजिक भानुभक्त जैशी र जिल्लाका अध्यक्ष मीनबहादुर कुँवर र हामी बसिरहेका थियौँ, भानुजीले भैरवजीलाई पनि बोलाउनुस् भनेपछि उहाँको खोजी सुरु भयो’, रेग्मीले भने, ‘फोन अफ रहेछ । यसो खोजी गर्दै जादाँ उहाँ त सम्बोधन कार्यक्रम छाडेर झानाना भन्दा अगाडि गइसक्नुभएछ ।’


विरोध कार्यक्रमलाई छाडेर एकाएक सम्पर्कविहीन भएपछि सांसद सिंह जिल्लाका कुनै पनि नेताको सम्पर्क आएका छैनन् ।


सांसद सिंहलाई सम्पर्क गर्दा आफू अहिले जिल्लाको बुङ्गल नगरपालिकामा रहेको बताएका छन् । ‘कालङ्गा हाइड्रो पावरको काम विशेषले बुङ्गल गएको हुँ, म कसैलाई असहयोग गर्ने किसिमले छाडेर भागेको होइन’, उनले भने, ‘हाइड्रोको जरुरी मिटिङ भएकाले आएको हुँ, कोणसभा गर्ने कार्यक्रम थियो, बोल्ने वक्ताहरू छँदै छन् भनेर यता आएँ । आजै धनगढी फर्किने तयारीमा छु ।’


तपाईंले प्रचण्ड-नेपाल खेमा छाडेर ओली लाइनतिर गएको भन्ने हल्ला छ नि ? भन्ने प्रश्नमा उनले भने, ‘प्रचण्ड-नेपाल लाइन, केपी लाइन भन्ने छैन । म पार्टी एकताको पक्षमा छु, फुटेर होइन, जुटेर जानुपर्छ भन्ने मेरो धारणा हो । मैले प्रचण्ड-नेपाल लाइन छाडेर प्रधानमन्त्री केपी ओलीतर्फ गएको भन्ने कुरा झूटो हो । माननीयको हिसाबले बोलाएका कारणले यहाँ आएको हुँ । मैले कुनै लाइन छाडेको छैन ।’


सांसद सिंह नेकपा उपाध्यक्ष वामदेव गौतम निकट मानिन्छन् । अहिले नेकपामा दुई खेमाबीच विवाद चर्किएका बेला वामदेव तटस्थ छन् । वामदेव तटस्थ भएकै कारण सासंद सिंहले कार्यक्रममा सम्बोधन गर्न नचाहेर भागेको जिल्लाका नेताहरूले बताएका छन् ।