close

जुम्ला कांग्रेसको स्थानीय तहमा पौडेल समूहको वर्चस्व

जुम्ला कांग्रेसको स्थानीय तहमा पौडेल समूहको वर्चस्व

Trulli
ADVERTISEMENT

जुम्ला– जुम्लाका स्थानीय पालिकामा कांग्रेसको अधिवेशन सम्पन्न भएको छ । जिल्लाको एक नगरपालिका र ७ पालिकामध्ये दुई स्थानीय तहमा मात्र संस्थापन पार्टी सभापति शेरबहादुर देउवा समूहले सभापति जितेको छ । अरू सबै स्थानीय तहमा पौडेल समूहका सभापतिका उम्मेदवारले बाजी मारेका हुन् ।

 

जुम्लाका सात स्थानीय तहमा सर्वसम्मत सभापति चयन भएकामा चन्दननाथमा मात्रै निर्वाचनमार्फत नगर सभापति चयन भएका हुन् । कनकासुन्दरीमा लालु बुढा, सिंजा गाउँपालिकामा गोविन्द शर्मा, हिमामा नरबहादुर शाही, तातोपानीमा धनकृष्ण चौलागाईं, तिलामा भक्तबहादुर रोकाया, पातारासीमा गोरखबहादुर बोहरा र गुठीचौरमा टेकबहादुर भण्डारी चयन भएका हुन् ।

 

उनीहरूमध्ये सिंजाका शर्मा र गुठीचौरका भण्डारी देउवा खेमाबाट चुनिएका हुन् । अरू सबै वरिष्ठ नेता पौडेल समूहबाट निर्वाचित भएको जुम्ला कांग्रेसले बताएको छ । जुम्लाको एक मात्र चन्दननाथ नगरपालिकामा पौडेल समूह विजयी भएको छ । नगर सभापतिमा पौडेल समूहका रवि थापा र देउवा खेमाका अंगराज चौलागाईंले उम्मेदवारी दिएका थिए ।


चुनावमार्फत पौडेल पक्षधर थापाको प्यानलै विजयी भएको वर्तमान जिल्ला पार्टी सभापति दीपबहादुर शाहीले बताए । उनले भने, ‘पातारासी गाउँपालिकामा पनि चुनावमार्फत नै नेतृत्व चयन भएको हो । 

 

प्रदेश (क) र मा दुवै पक्षबाट उम्मेवारी घोषणा 

कांग्रेस जुम्लामा पौडेल समूहले प्रदेश (क) मा पनि उम्मेदवारी घोषणा गरेको छ । सभापतिमा पातारासी गाउँपालिका अध्यक्ष लक्षीमन बोहरा, उपसभापतिमा रुपबहादुर रोकाया, तिलक न्यौपाने, सचिवमा तीर्थराज न्यौपाने र अर्जुनकुमार महतराले उम्मेदवारी घोषणा गरेका हुन् ।

 

यस्तै, सहसचिवमा बुद्धि तामाङ र छायादत्त बुढाले उम्मेदवारी घोषणा गरेको वर्तमान पार्टी सचिव कार्मा बुढाले बताए । यस्तै, संस्थापनबाट सभापतिमा नारायण शाही, उपसभापतिमा रत्नचन्द्र उपाध्याय र दिलबहादुर बुढाले उम्मेदवारी घोषणा गरेका छन् ।

 

सचिवमा जनक खत्री र राज गिरी, सहसचिवमा नन्द बोहरा र धन बुढाले उम्मेदवारी घोषणा गरेको कांग्रेस जुम्लाले जनाएको छ ।  प्रदेश (ख) को सभापतिमा देउवा समूहबाट भीमनिधि हमाल र पौडेल पक्षबाट कालीबहादुर बुढाले उम्मेदवार घोषणा गरेका छन् । 

 

जिल्ला सभापतिमा आकांक्षी धेरै 

कांग्रेसको वडा र पालिका स्तरका अधिवेशन सम्पन्न भएलगत्तै प्रदेश र जिल्ला अधिवेशन सुरु हुँदै छ । जिल्ला सभापतिमा वर्तमान सभापति दीपबहादुर शाही, पार्टी सचिव कर्णबहादुर शाही, नेता खड्क सेजुवाल, पूर्ववनमन्त्री भक्तबहादुर रोकाया, लंकबहादुर शाही र चन्दननाथ नगरप्रमुख कान्तिका सेजुवालको नाम चर्चामा छ ।

 

जिल्ला अधिवेशन नजिकिँदै गएपछि जिल्ला सभापतिका लागि आधा दर्जन आकांक्षी नेताहरूको नाम चर्चामा आएको हो । सभापतिको तयारीका लागि कार्यकर्ता भेटघाट तथा नेतासँग लबिइङ चलिरहेको छ । १४औँ महाधिवेशनमा वर्तमान सभापति शाहीले दोहोरिने इच्छा देखाएका छन् । पौडेल पक्षले शाहीलाई एकल उम्मेदवारको रूपमा उभ्याएको छ ।

 

पार्टी सभापति देउवा प्यानलबाट पाँच जना आकांक्षी देखिएका छन् । सचिव कर्णबहादुर शाही, खड्कबहादुर सेजुवाल, भक्तबहादुर रोकाया, लंकबहादुर शाही र कान्तिका सेजुवाल आकांक्षी देखिएको कांग्रेस जुम्लाले जनाएको छ ।

 

आकांक्षी धेरै देखिए पनि अन्तिममा सभापति शाही र सचिव शाही नै भिड्ने सम्भावना बढी छ । अहिले दुवै पक्षले कार्यकर्ता भेटघाटलाई तीव्र बनाएका छन् । पौडेल पक्ष निकटले पार्टी सचिव कर्णबहादुर शाही पर्यटक नेता भएको भन्दै स्वीकार्न नसक्ने बताउँदै आएको छ । उनी सचिव भइसकेपछि जिल्ला बसेनन् ।

 

जिल्ला सभापतिका आकांक्षी धेरै देखिएपछि कार्यकर्ताले सहमति गरेर सर्वसम्मत नेतृत्व चयनका लागि दबाब दिन थालेका छन् । कार्यकर्ताले दीपबहादुर शाही र कर्णबहादुर शाहीले दुवै आफ्नो कार्यकालमा सन्तोषजनक कार्य नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

 

तुलनात्मक रूपमा दीपबहादुर शाही जुम्लामै रहेर काम गरेकाले कार्यकर्ताको नजरमा परेका छन् । तत्कालीन कांग्रेस सभापति मानव सेजुवालको निधनपछि शाहीले कार्यवाहक सभापतिको रूपमा जिल्लाको पार्टी चलाउँदै आएका थिए । दुई कार्यकाल बितिसकेकाले सभापति शाहीले नयाँ व्यक्तिलाई अवसर दिनुपर्ने कार्यकर्ताको धारणा छ ।