close

बाजुरामा कांग्रेस अधिवेशन : ९ मध्ये ८ पालिकामा सर्वसम्मत

बाजुरामा कांग्रेस अधिवेशन : ९ मध्ये ८ पालिकामा सर्वसम्मत

Trulli
ADVERTISEMENT

बाजुरा– नेपाली कांग्रेस बाजुराको जारी स्थानीय तहको अधिवेशनमा ९ मध्ये ८ पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ । एक पालिकामा भने मतदान भएको छ । स्वामीकार्तिक, हिमाली, जगन्नाथ, खप्तड छेडेदह, गौमूल गाउँपालिका, बूढीनन्दा, बूढीगंगा, बडिमालिका नगरपालिकामा सर्वसम्मत नतृत्व चयन भएको हो ।

 

त्रिवेणी नगरपालिकामा सहमति हुन नसकेपछि मतदान भएको कांग्रेस बाजुराले जनाएको छ । शनिबारदेखि जारी पालिका अधिवेशन तीन दिनसम्म सञ्चालन भई मंगलबार सम्पन्न भएको हो । आकांक्षी धेरै भएपछि सहजै नतृत्व चयन नहुँदा पालिका अधिवेशन लम्बिएको हो ।

 

बूढीनन्दा नगरपालिका


आइतबार सम्पन्न बूढीनन्दा नगरपालिको पालिका अधिवेशनमा डबलबहादुर खड्का सभापतिमा सर्वसम्मत चयन भएका छन् । डम्बर रोकाया र टेकबहादुर रोकाया उपसभापति, पान्सा कार्की कोषाध्यक्ष, नमराज मल्ल र नन्दलाल सार्की सचिव, रामचन्द्र कार्की र ललिचन्द्र भाट सहसचिव रहने गरी ५७ सदस्यीय नगर कार्यसमिति गठन भएको कार्यसमिति सदस्य शिवराज खड्काले जानकारी दिए । 

 

जगन्नाथ गाउँपालिका 


जगन्नाथ गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ । सुन्दर विष्ट सभापति, काला विष्ट र सैना डँडाल उपसभापति, छक्कीलाल भण्डारी सचिव र नवीन विष्ट सहसचिव रहने गरी गाउँ कार्यसमिति गठन भएको कांग्रेस नेता जयबहादुर रोकायाले बताए ।

 

बूढीगंगा नगरपालिका


बूढीगंगा नगरपालिकामा जयराज उपाध्याय सभापति चुनिएका छन् । उपसभापतिमा डम्बर सिंह र दयाराम खाति निर्वाचित भए भने मीनबहादुर रावल सचिव बनेका छन् । यो पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको हो ।

 

गौमूल गाउँपालिका

गौमूल गाउँपालिकामा राजबहादुर धामी सभापतिमा सर्वसम्मत चयन भएका छन् । खप्तड छेडेदह पालिकामा हर्क रावत सभापतिमा सर्वसम्मत चयन भए ।पालिका स्तरीय अधिवेशनमा रावत सभापति रहने गरी ४२ सदस्यीय कार्यसमिति चयन भएको हो ।


 
खप्तड छेडेदह गाउँपालिका


खप्तड छेडेदहमा हर्क रावत सभापतिमा सर्वसम्मत चयन भएका छन् । रावतको नेतृत्वमा ४२ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

 

हिमाली गाउँपालिका


हिमाली गाउँपालिकामा पनि सर्वसम्मत नेतृत्व चयन भएको छ । पालिका साभापतिमा अम्मलाल कार्की निर्विराध निर्वाचित भए । वडाध्यक्षसमेत रहेका कार्कीको नेतृत्वमा ४२ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

 

स्वामीकार्तिक खापर गाउँपालिका


स्वामीकार्तिक खापरमा महेश कट्टेलको नेतृत्वमा २४ सदस्यीय कार्यसमिति चयन भएको छ । समितिको उपसभापतिमा दीपु हमाल र देवराज गिरी, कोषाध्यक्षमा नरेन्द्र महतारा, सचिवमा उत्तम शाही र विर्जन विक, सहसचिवमा धु्रव कैला र तपेन्द्र शाही चयन भएका छन् ।

 

बडिमालिका नगरपालिका


बडिमालिकाको नगर सभापतिमा गोपाल कार्की निर्विरोध निर्वाचित भए । उपसभापतिमा अविनाश बडुवाल र श्रीचन्द पाध्याय, सचिवमा कर्ण थापा र नन्दलाल खड्का, सह–सचिवमा धमेन्द्र साउद र लालबहादुर हमाल, कोषाध्यक्षमा दिलबहादुर सिंहसहित ५८ सदस्यीय कार्यसमिति गठन गरिएको नगर निर्वाचन आयोगले जनाएको छ ।

 

जिल्ला सदरमुकाममा अवस्थित बडिमालिकामा सुरुमा सहमति हुन नसकेपछि तीन दिनसम्म अधिवेशन लम्बिएको थियो । मतदान हुने भनिए पनि अन्तिममा सहमतिको आधारमा नगरकार्यसमिति चयन गरिएको हो ।  

 

त्रिवेणी नगरपालिका 


त्रिवेणीकाको पालिका अधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका सुरेन्द्रराज गिरी सभापतिमा निर्वाचित भए । अधिवेशनमा त्रिवेणी नगर कार्यसमिति सभापतिदेखि सबै पदाधिकारी पौडेल प्यानलबाटै विजयी भएको कांग्रेस बाजुराले जनाएको छ । सभापतिमा पौडेल समूहका गिरी र संस्थापनका गम्भीरसिंह बुढा प्रतिस्पर्धामा थिए ।


सभापतिमा विजयी भएका गिरीले ८० मत ल्याए भने साउदले ६९ मत प्राप्क्ष्त गरे । उपसचिवमा टेकबहादुर साउद विजयी भए भने उनका प्रतिद्वन्द्वी जगत साउदले ८ मत प्राप्त गरे । सचिवमा गणेश साउद ८२ मत ल्याएर विजयी भए ।


 
क्षेत्रीय सभापतिका लागि वडाध्यक्षदेखि जिल्ला समन्वय प्रमुखसम्म आकांक्षी 

कांग्रेस बाजुराको प्रदेश अधिवेशन मंगलबारबाट सुरु भएको छ । २ निर्वाचन क्षेत्र रहेको बाजुरामा प्रदेश अधिवेशन सुरु भएको हो । प्रदेश निर्वाचन क्षेत्र क र ख गरी २ निर्वाचन क्षेत्रमा नयाँ नेतृत्व चयनका लागि प्रदेश अधिवेशन सुरु भएको हो । वडादेखि पालिका अधिवेशन सम्पन्न गरेको कांग्रेस बाजुराले प्रदेश अधिवेशनबाट नयाँ नेतृत्व छान्न लागेको हो । यतिबेला जिल्लादेखि पार्टीको उच्च नेतृत्व तहसम्मका नेता कार्यकर्ता अधिवेशनमा केन्द्रित बनेका छन् । क्षेत्रीय अधिवेशनबाट चुनिने एक जना सभापतिका लागि चार उम्मेवार आकांक्षी देखिएका छन् ।


वडाध्यक्षदेखि जिल्ला समन्वय प्रमुखसम्मले क्षेत्रीय सभापतिका उम्मेवारी घोषणा गरिसकेका छन् । बूढीनन्दा वडा नम्बर ३ का वडाध्यक्ष रामबहादुर बोहरा, कांग्रेस बाजुराका कोषाध्यक्ष नारायण पाध्याय, जिल्ला समन्वय समिति प्रमुख तथा सहसचिव नरेन्द्र रोकाया र नेता जयबहादुर अधिकारीले उम्मेवारी घोषणा गरेका हुन् ।
बाजुराको निर्वाचन क्षेत्र ‘क’ मा मंगलबार नै प्रदेश निर्वाचन क्षेत्र अधिवेशन उद्घाटन     भएको छ ।

 

निर्वाचन क्षेत्र ‘क’ का सभापति तथा हिमाली गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य बद्रीप्रसाद पाण्डे सहभागी थिए ।


 
पूर्वभूमिसुधार सहायक मन्त्री जनकराज गिरी, बूढीनन्दाका नगर प्रमुख पदमकुमार गिरी, रामबहादुर बोहरा, महाधिवेशन सदस्य जंगकुमार गिरी, जिल्ला समन्वय प्रमुख नरेन्द्र रोकायालगायतले उपस्थिति जनाएका थिए । क्षेत्रीय अधिवेशनको बन्दसत्र बुधबारबाट सुरु हुँदै छ ।