close

जुम्ला कांग्रेस अधिवेशन : प्रदेश मतगणना स्थगित

जुम्ला कांग्रेस अधिवेशन : प्रदेश मतगणना स्थगित

Trulli
ADVERTISEMENT

 जुम्ला– जुम्ला कांग्रेस अधिवेशनको प्रदेश क र ख दुवै क्षेत्रको मतगणना स्थगित गरिएको छ । प्रदेशको मतगणना शनिबार विहान ५ बजेदेखि स्थगित भएको हो ।मतपत्र गणना गर्ने क्रममा विवाद भएपछि मतगणना स्थगित गरिएको हो । 

प्रदेश (क) का मतदान अधिकृत हेमन्त महतका अनुसार तीन वटा पानाको मत थियो । ‘मतपत्र मिलाउने क्रममा केही प्राविधिक त्रुटिले नमिल्दा समस्या आयो । त्यो मतपत्र बदर गर्ने र पुनः मतगणना सुरु गर्ने सल्लाह गर्ने भन्दाभन्दै सहमति नहुँदा मतगणना सुरु हुन नसकेको हो’, उनले भने, ‘अन्य पदाधिकारीको दुई समूहबीच धेरै मतान्तर छ । २७ मतले मात्रै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका सभापति उम्मेदवार लक्षिमन बोहरा अगाडि छन् ।’ 


प्रदेश (क) मा ५०७ मत मतमध्ये ४९८ मत खसेको छ । ४२६ मत गणना भइसकेको पौडेल समूहका सचिव उम्मेदवार तीर्थराज न्यौपानेले बताए ।
उनले भने, ‘अब थोरै ७२ मात्रै मतगणना गर्न बाँकी थियो । मतगणना नै स्थगित भयो ।’ 

 

यस्तै, प्रदेश (ख) को पनि मतगणना पनि स्थगित भएको छ । मतगणनामा विवाद भएपछि स्थगित भएको बताइएको छ । ५१० मध्ये ४९० मत खसेको छ । कार्यसमितिको ११५ मत मात्रै गणना गर्न बाँकी रहेको छ । 

 

यो क्षेत्रमा पनि पौडेल समूहको प्यानल अगाडि रहेको कांगे्रेस जुम्लाले जनाएको छ । कांग्रेस जुम्लामा पौडेल समूहले प्रदेश (क) को सभापतिमा पातारासी गाउँपालिका अध्यक्ष लक्षिमन बोहरा, उपसभापतिमा रुपबहादुर रोकाया, तिलक न्यौपाने, सचिवमा तीर्थराज न्यौपाने र अर्जुनकुमार महतारा, सहसचिवमा बुद्धि तामाङ र छायादत्त बुढालाई उम्मेदवार बनाएको छ । 

 

यस्तै, संस्थापनबाट सभापतिमा विष्णुबहादुर शाही, उपसभापतिमा रत्नचन्द्र उपाध्याय र दिलबहादुर बुढा, सचिवमा जनक खत्री र राज गिरी, सहसचिवमा नन्द बोहरा र धन बुढा उम्मेदवार रहेका छन् । 

 

प्रदेश (ख) को सभापतिमा पार्टी सभापति शेरबहादुर देउवा समूहबाट भीमनिधि हमाल र पौडेल पक्षबाट कालीबहादुर बुढाले उम्मेदवार घोषणा गरेका छन् । 

 

जिल्लाको एक नगरपालिका र ७ पालिकामध्ये दुई स्थानीय तहमा मात्र संस्थापन समूहले सभापति जितेको छ । अरू सबै स्थानीय तहमा पौडेल समूहका सभापतिका उम्मेदवारले बाजी मारेका छन् ।