close

कांग्रेस बाजुराका पार्टी सभापति उम्मेदवार शाहले गरे प्यानल घोषणा 

कांग्रेस बाजुराका पार्टी सभापति उम्मेदवार शाहले गरे प्यानल घोषणा 

Trulli
ADVERTISEMENT

बाजुरा–नेपाली कांग्रेस बाजुराको सातौँ जिल्ला अधिवेशन शनिबारदेखि सुरु भएको छ । नयाँ नेतृत्वका लागि जिल्ला सदरमुकाम मार्तडीमा कांग्रेसको अधिवेशन चलिरहेको छ । सुरुमा सहमति प्रयास भए पनि निष्कर्षमा नपुगेपछि कांग्रेस बाजुरा पार्टी सभापतिमा उम्मेदवारी दिएका चक्रबहादुर शाहले सिंगो प्यानल घोषणा गरेका छन् । आइतबार पत्रकार सम्मेलन गरी सिंगो प्यानलको नाम तय गरेका शाहले पार्टी सभापतिमा उम्मेदवारी घोषणा भने पहिले गरिसकेका छन् । 

 

युवा नेता शाहले आफू कुनै गुटको नभएर कांग्रेस बाजुराको साझा उम्मेदवार भएको दाबी गरे । उनले भने, ‘म देउवा, पौडेल, सिटौला कुनै पनि पक्षको होइन । कांग्रेसको पार्टी सभापतिको उम्मेदवार मात्र हुँ ।’


कांग्रेसलाई बलियो बनाउन र युवालाई देश विकासमा अगाडि बढाउन सभापतिको उम्मेदवारी घोषणा गरेको शाहले बताए । शाहको टिममा उपसभापति पदम बडुवाल, सचिवमा राजेन्द्र शाह, भरत रोकाया, सह–सचिवमा नन्द रोकाया र धनबहादुर रावल रहेका छन् । एक उपसभापति भने छलफलपछि मात्र घोषणा गरिने उनको भनाइ छ । 

 

कविराज पण्डित प्यानललाई बूढीनन्दा नगरप्रमुखको समर्थन


कांग्रेस नेता तथा बूढीनन्दा नगरपालिका प्रमुख पदमकुमार गिरीले सातौँ अधिवेशनमा कविराज पण्डितको टिमलाई सघाउने बताएका छन् । प्रदेश ‘क’ मा बलियो पकड बनाउँदै आएका गिरीले यो अधिवेशनमा संस्थापनबाट जिल्ला सभापतिको उम्मेदवारी घोषणा गरेका छन्। नगरप्रमुख गिरीले पण्डितको समूहबाटै महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिने बताए ।

 

नगरप्रमुख कांग्रेस नेता तथा पूर्वभूमिसुधार सहायकमन्त्री जनकराज गिरी नजिकका मानिन्छन् । नगरप्रमुख गिरीसँगै कांग्रेस बाजुराका कोषाध्यक्ष नारायण पाध्याय पनि प्रदेश क क्षेत्रमा पण्डितको टिमबाट उपसभापतिमा भिड्ने भएका छन् । प्रदेश ‘क’ बाट ४८१ कांग्रेस प्रतिनिधि जिल्ला अधिवेशनमा सहभागी छन् ।