close

कुमाले छन्, अनि पो तिहारमा पालामा बत्ती बल्छ !

कुमाले छन्, अनि पो तिहारमा पालामा बत्ती बल्छ !

Trulli
ADVERTISEMENT

भक्तपुर । फुल र बत्तीको पर्व तिहार नेपालीको घर नजिकै आइपुगेको छ । मानिसहरू तिहारको बत्तीको उज्यालोमा रमाउन आतुर देखिन्छन्। हुनत विज्ञानले परम्परामा केही तगारो नहालेको हैन । तर, माटोको पालामा बत्ती नबलेसम्म तिहार, तिहार जस्तो बन्दैन । मानिसहरूको त्यही सोचलाई उज्यालो बनाउन अहिले भक्तपुरका स्थानीय कमाले समुदायलाई भ्याइनभ्याइ छ ।

तिहारमा बजारमा चिनियाँ बत्तीको माग कम भएको छैन । तर, अरू वर्षभन्दा यसपाली पालाको पनि अत्यधिक माग देखिएकाले विशेष गरी प्रजापति समुदायलाई श्वास फेर्ने समेत फुर्सद छैन ।

भक्तपुरका बोलाछें र तालाक्वको पोर्टरी स्क्वायर तथा मध्यपुरथिमिका नगदेश, बोडे, चपाचो, पाँचोलगायतका स्थानमा माटोको आकर्षक सामग्रीहरू उत्पादन हुने गर्छन् । त्यही भएर यी टोलका प्रजापति समुदायका कोही पनि अहिले फुर्सदमा देखिँदैनन् । सबै परिवार तिहारका लागि आवश्यक पाला बनाउन, सुकाउन र रङ भर्न व्यस्त देखिन्छन् ।

'तिहार आइ नै सक्यो पाला, भिउँट, धुपौरोको निकै माग आएको छ, तिहारको सामान हो । जसरी पनि दिनै पर्छ । भ्याइनभ्याइ छ,' वर्षौँदेखि माटोका भाँडा बनाउँदै आएका तालाको पोर्टरी स्क्वायरका ३८ वर्षका विनोदकुमार प्रजापति भन्छन् ।

वर्षभरिमा राम्रो आम्दानी गर्ने समय नै यही नै भएको उनको भनाइ छ । यो मौकालाई गुम्न नदिन स–परिवार बिहानैदेखि रात नपरेसम्म काममै व्यस्त हुने गरेको उनी सुनाउँछन् । 

माटोको भाँडा बनाउने आधुनिक मेसिनमा उनीहरूको हात सलबलाइरहेको हुन्छ । कसैलाई एकछिन हात खाली राख्ने फुर्सद छैन । बोल्न पनि नपरोस् जस्तो हुन्छ । विनोदले यो वर्ष ४० हजार पाला बनाएर बिक्री गर्ने लक्ष्य लिएको बताए । उनको परिवार पालासहित पूजामा प्रयोग हुने धुपौरो, घैँटो बनाउन व्यस्त छन् । यसपाली साना र ठुला दुवै प्रकारका पालाको माग बढेको उनले जानकारी दिए । मागअनुसारको उत्पादन गर्न निकै गाह्रो भइरहेको उनी बताउँछन् ।

पोटरी स्क्वायरका करिब ४० घर परिवार सबैको व्यस्तता विनोदको भन्दा फरक छैन । कसैको हात एकछिन खाली देखिँदैन ।

परिवारका सबैको जिम्मेवारी फरक फरक छ । कोही  भाँडा बनाइरहेका छन् । कोही सुकाइरहेका । कोही आधुनिक भट्टीमा काँचो भाँडा पोलिरहेका छन् । अनि कोही रंग रोगन गर्दै छन् । यति गर्दा पनि काम सकिँदैन । अन्त्यमा सबै जना मिलेर भाँडालाई प्याकिङ गर्छन् । 

'यतिले काम कहाँ सकिन्छ र' विनोद भन्छन्, 'अर्डर मुताबिक डेलिभरी पनि त दिन पर्छ । त्यसमा पनि व्यस्त भइन्छ ।'

पोटरी स्क्वायरकै दयाराम प्रजापतिले पनि बाबु बाजेदेखिको पेसा त्यागेका छैनन् । उनी पनि यस वर्ष पालाको अत्यधिक माग रहेको बताउँछन् । त्यसैले उनी र उनको परिवारलाई पनि भ्याइनभ्याइ छ ।

भक्तपुरमा उत्पादन भएका पाला यतिखेरले उपत्यकालाई मात्र तिहारमा उज्यालो बनाउँदैन । यहाँ उत्पादित माटोका सामग्री काभ्रे, बनेपा, पनौती, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, पोखरा, नारायणगढ, वीर गन्जलगायत देशभर पुग्छ । दयारामलाई यी सबै ठाउँबाट पालाको अर्डर आएको छ । 'माटो र काठको निकै अभाव छ, सरकारले इलेक्ट्रिक चुलोको व्यवस्था गरिदिए सहज हुन्थ्यो,' दयाराम भन्छन्, 'भक्तपुरमा माटो पाउन छाडेको आठ वर्ष भइसक्यो । साँखुबाट माटो ल्याउनु पर्छ, त्यो पनि मागअनुसार आउँदैन, माटोको अभावले पेसा नै संकटमा पर्ने अवस्था आएको छ ।'

अहिले भक्तपुरमा बन्ने पालाको माग विदेशमा बस्ने नेपालीले पनि गर्ने गर्छन् । त्यही कारण कुमाले समुदायलाई पाला बनाउन भ्याइनभ्याइ भएको मध्यपुरथिमिका रुजेन प्रजापतिको भनाइ छ ।

विगतमा भक्तपुरका कुमालेले मोफसलमा गएरै माटोका भाँडा बनाउने गर्थे । कतिपय जिल्लामा बसोबास गर्दै आएका कुमाले परिवारले समेत स्थानीय स्तरमै भाँडा बनाउने गरेका छन् । तर, आधुनिकताले यो पेसालाई नै संकटमा पार्न थालेको गुनासो कुमालेहरू गर्छन् । त्यसैले अहिले सारा नेपालको माग भक्तपुर एक्लैले धान्दै छ । गर्व गर्नु पर्छ, कुमाले धानेका छन् र' पो तिहारमा माटाका पालामा बत्ती बाल्न पाइएको छ । नत्र चिनियाँ बत्ती र पालाले नेपालीको दोस्रो महान चाडलाई उज्यालो बनाउनु पर्थ्यो ।

भक्तपुर र थिमिका कुमालेले अन्य समयमा बनाउने पाला, खुत्रुके, अम्बरा, धुपौरो, गमला, सुराई, कलिन्चाजस्ता सामानको माग केही घटेको छ । तर, जतिपनि यो पेसामा सक्रिय छन्, उनीहरुको व्यस्तता भने घटेको छैन ।

थोरै भाँडा बनाउनेले पनि तिहारमा एक लाखभन्दा बढी आम्दानी गर्ने गरेको उनीहरू बताउँछन् । बाहिरबाट आएको मागलाई पुरा गर्न सक्नेले त एउटै तिहारमा पाँच लाखसम्म आम्दानी गर्ने दयाराम प्रजापति बताउँछन् ।