close

रेल्वेमा जागिर खान प्रदेश २ बाट ७० प्रतिशत बढीको निवेदन

१ सय २९ कर्मचारीको माग, ३२ हजार ६ सय ८६ जनाले दिए आवेदन

रेल्वेमा जागिर खान प्रदेश २ बाट ७० प्रतिशत बढीको निवेदन

१ सय २९ कर्मचारीको माग, ३२ हजार ६ सय ८६ जनाले दिए आवेदन

Trulli
ADVERTISEMENT

धनुषा– नेपाल रेल्वे कम्पनीले रेले सेवा सञ्चालन गर्ने उद्देश्यले प्रशासनिकसहित प्राविधिक भर्ना गर्न १ सय २९ कर्मचारी माग गरेको छ ।  १ सय २९ कर्मचारीका लागि ३२ हजार ६ सय ८६ जनाले आवेदन दिएका छन् ।  

 


सबैभन्दा बढी सहायक स्टेसन मास्टर पदका लागि आवेदन दर्ता भएको छ । ९ सहायक स्टेसन मास्टर पदका लागि ८ हजार ६७ जनाले आवेदन दिएका छन् ।

 


विज्ञापन आह्वान गर्दा रेल्वेले अन्तर्वार्ता प्रक्रियाबाट कर्मचारी पदपूर्ति गरिने जनाएको थियो । यसअघि छनोटमा परेका योग्य उम्मेदवारमध्ये अन्तर्वार्तामा उत्कृष्ट ठहरिनेलाई जागिर दिइने रेल्वेले जनाएको थियो ।


नेपाल रेल्वे कम्पनीका प्रबन्धक गुरु भट्टराई पदपूर्ति गर्न दरखास्त दिएका उम्मेदवारहरूको लिखित परीक्षा लिने तयारी भइरहेको बताउँछन् ।


‘यसअघि छनोटमा परेका उम्मेदवारको अन्तर्वार्ता गर्ने सोच बनाएका थियौं,’ भट्टराईले भने, ‘कर्मचारी चयन प्रक्रियालाई थप प्रभावकारी बनाउन लिखित परीक्षा लिने तयारी गरिरहेका छौं ।’


१ सय २९ पदका लागि ३२ हजारभन्दा बढीले आवेदन दिएको भन्दै भट्टराईले अहिले उम्मेदवारहरूले बुझाएका शैक्षिक योग्यताको प्रमाणपत्रलगायत कागजात परीक्षण गर्ने कार्य भइरहेको जानकारी दिए ।


यसअघि शैक्षिक योग्यता र मौखिकलाई आधार बनाइए पनि अब परीक्षातर्फ जाने कुरा भइरहेकाले निर्णय भएलगत्तै सूचना प्रकाशित गरिने भट्टराई बताए ।


शाखा अधिकृत, कानुन अधिकृत, स्टेसन मास्टर, सबइन्जिनियर, सहायक स्टेसन मास्टर, प्रमुख प्रशासन सहायक, लेखापाल, कम्प्युटर अपरेटरलगायतका पदका लागि कर्मचारी भर्ना गरिने रेल्वेले जनाएको छ ।


उनका अनुसार आवेदनकर्तामध्ये सबैभन्दा बढी ७० प्रतिशतले प्रदेश २ बाट दरखास्त दिएका छन् । रेल्वेले ६ महिनासम्म करारमा काम गर्न २९ पदका लागि १ सय २९ जना कर्मचारी भर्ना गर्न लागेको हो ।