close

ताप्लेजुङबाट प्रत्यक्ष निर्वाचित सबै सांसद मन्त्री ! 

ताप्लेजुङबाट प्रत्यक्ष निर्वाचित सबै सांसद मन्त्री ! 

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– २०७४ मा भएको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा ताप्लेजुङबाट प्रत्यक्ष निर्वाचित सबै सांसदले मन्त्री बन्ने अवसर पाएका छन् । प्रतिनिधिसमा निर्वाचित एमाले सचिवसमेत रहेका प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईले संघीय सरकारको पर्यटन मन्त्रीको जिम्मेवारी त्यागेको केही समयपछि प्रदेश १ सरकारको आर्थिक मामला तथा योजनामन्त्रीको जिम्मेवारी टंक आङबुहाङले पाए । 


उनी ताप्लेजुङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ (ख) बाट २०७४ को प्रदेशसभा निर्वाचनमा तत्कालीन माआवादी (केन्द्र) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।


पछि उनी माआवादी केन्द्र त्याग गरी नेकपा एमाले प्रवेश गर्दै प्रदेश अर्थमन्त्री बनेका थिए । आङबुहाङको जिम्मेवारी सकिएलगत्तै भीम आचार्य प्रदेश १ को मुख्यमन्त्री बनेपछि बलबहादुर साम्सोहाङ प्रदेश १ सरकारको सामाजिक विकासमन्त्री भएका छन् । 


उनी ताप्लेजुङको प्रदेशसभा निर्वाचन क्षेत्र १ (क) बाट २०७४ को प्रदेशसभा निर्वाचनमा प्रदेशसभामा एमालेबाट निर्वाचित भएका हुन् । प्रतिनिधिसभामा १ र प्रदेशसभामा २ निर्वाचन क्षेत्र रहेको ताप्लेजुङबाट २०७४ को निर्वाचनमा प्रत्यक्षतर्फ निर्वाचित ३ जनाले नै मन्त्री बन्ने अवसर पाएका छन् । 
 

पार्टी फेरेर आङबुहाङ र गुट फेरेर साम्सोहाङ मन्त्री 

 

टंक आङबुहाङ कुनै बेला माओवादी अध्यक्ष प्रचण्डका विश्वासपात्रका रूपमा परिचित थिए । माओवादी नेता वर्षमान पुनका बहिनीज्वाइँ नाता पर्ने आङबुहाङ २०६३ मा बनेको अन्तरिम व्यवस्थापिका संसद् सदस्यसमेत थिए । 


२०६४ र २०७० मा भएको संविधानसभा निर्वाचनमा ताप्लेजुङको निर्वाचन क्षेत्र २ बाट पराजित भए पनि २०७४ को प्रदेशससभाको निर्वाचनमा तत्कालीन वाम गठबन्धन उम्मेदवार आङबुहाङ प्रदेशसभा सदस्यमा निर्वाचित भए ।


उनी माओवादी केन्द्रबाट नेतृत्व गर्दै प्रदेश सरकारमा मुख्यमन्त्रीपछिको प्रमुख पदमा जान चाहन्थे । तर, पार्टीले यो अवसर पाँचथरबाट निर्वाचित प्रदेशसभा सदस्य इन्द्र आङ्बोलाई दियो ।


माओवादी केन्द्र संसदीय दलको नेता भए पनि आङबुहाङले अरू अवसर पाएनन् । माओवादीभित्र आङ्बोभन्दा आङबुहाङ सिनियर नेतामा गनिन्थे ।

 

कुनै बेला रामबहादुर थापाका विश्वासपात्र आङ्बोले अवसर लिएर शेरधन राई मुख्यमन्त्री भएका बेला प्रदेश अर्थमन्त्रीको पद सम्हाले । एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई सर्वोच्च अदालतले अलग–अलग पार्टीको रूपमा रहने निर्णय गरेसँगै आङबुहाङ एमालेमा लागे । 


एमाले बनेका उनलाई मुख्यमन्त्री राई आफैंले बर्खास्त गरेका आङ्बोले सम्हालेको प्रदेश अर्थमन्त्रीमा नियुक्त गरे । आङबुहाङले चालू आर्थिक वर्ष २०७८÷७९ का लागि प्रदेश १ सरकारको बजेट, नीति तथा कार्यक्रमसमेत प्रस्तुत गरेका थिए ।

 

माओवादी केन्द्रमा रहँदा केन्द्रीय सचिवालय सदस्यसमेत रहेका आङबुहाङ अहिले एमाले केन्द्रीय सदस्य छन् । एमालेमा गएपछि माओवादी केन्द्रले कारबाही गरेका कारण उनको सांसद पद छैन ।


शुक्रबार मात्र प्रदेश सरकारको सामाजिक विकासमन्त्री बनेका साम्सोहाङ कुनै समय तत्कालीन एमाले नेता माधवकुमार नेपाल निकट थिए । उनले आफूलाई नेपाल पक्षको भनेर खुला रूपमै प्रस्तुत गरेका थिए ।


एमालेभित्रको आन्तरिक संघर्ष पार्टी विभाजनसम्म पुगे पनि योगेशकुमार भट्टराई र प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यसहितका नेता एमालेमै रहेपछि साम्सोहाङ पनि माधवको पक्षमा खुलेनन् । 


आचार्यको मन्त्रिमण्डलमा उनी समाजिक विकासमन्त्री भए । अब उनी एमाले सचिव आचार्यले नेतृत्व गरेको प्रदेश सरकारको मन्त्रीमण्डलका सदस्य भएका छन् ।