close

प्रदेश राजधानी नहुँदैमा बुटवलको विकास रोकिन्न : गृहमन्त्री खाँड 

प्रदेश राजधानी नहुँदैमा बुटवलको विकास रोकिन्न : गृहमन्त्री खाँड 

Trulli
ADVERTISEMENT

रूपन्देही–गृहमन्त्री बालकृष्ण खाँणले प्रदेश राजधानी नहुँदैमा बुटवलको विकास नरोकिने बताएका छन् । आफ्नै बलबुताले बुटवल अहिलेको अवस्थामा स्थापित भएको उल्लेख गर्दै गृहमन्त्री खाँणले राजधानी नरहे पनि बुटवल बुटवलै हुने बताए । गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाको नवौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन उद्घाटन गर्दै गृहमन्त्री खाँणले सबैको साझा प्रयत्नबाट बुटवललाई अब्बल बनाउन सकिएको जिकिर गरे ।


उनले रूपन्देहीको विकासका लागि आफ्नो क्षेत्रबाट धेरै प्रयास भइरहे पनि यसको पहल भने नलिने बताए । ‘जनताले विकासका लागि नै जनप्रतिनिधि निर्वाचित गरेका हुन् । जे कामका लागि जनताले पठाएका हुन्, त्यही काम गर्दा केको जस लिनू ?’ उनले भने । गृहमन्त्री खाँणले विज्ञान र प्रविधिको विकासले स्वास्थ्य क्षेत्रमा चामत्कारिक उपलब्धि हासिल गरे पनि गरिबीको संख्या भने बढेको बताए । स्वास्थ्य क्षेत्रमा सरकारी अस्पताल कमजोर हुँदा जनताले निजी अस्पतालमा महँगो उपचार लिन बाध्य भएकाले सरकारी तथा सामुदायिक अस्पताल प्रवद्र्धमा सरकार अग्रसर रहेको जानकारी दिए ।


‘नागरिक जीवन लम्ब्याउन भएको सम्पत्ति सबै बिक्री गरेरै भए पनि निजी अस्पतालमा उपचार गर्न बाध्य छन्, जसले उपचारपछि अस्पतालबाट फर्किदा घरजग्गा सबै सकिने अवस्थामा पुगेका छन्’, गृहमन्त्री खाँणले भने । उनले गौतमबुद्ध सामुदायिक अस्पतालका लागि तिलोत्तमा नगरपालिकामा प्रस्ताव गरिएको जग्गा हालसम्म पनि उपलब्ध हुन नसक्नु दुःखद रहेको उल्लेख गर्दै आफूले जग्गा उपलब्ध गराउन पहल गर्ने प्रतिबद्धता जनाए ।


अस्पतालका अध्यक्ष एजाज आलमले सरकारले जग्गा उपलब्ध गराए दुई वर्षभित्र ८ सय बेडको सुविधासम्पन्न अस्पताल निर्माण गर्न तयार रहेको बताए । रूपन्देही उद्योग संघको संरक्षकत्वमा १० पुस ०७० बाट सेवा सञ्चालन गरेको अस्पतालले एक वर्षे अवधिमा ओपिडी, इमर्जेन्सी र भर्ना गरी ४८ हजार ७२२ जना बिरामीलाई उपचार सेवा उपलब्ध गराएको छ ।


आलमले एक वर्षे अवधिमा अस्पतालको तर्फबाट साढे ६७ लाख र विभिन्न दाताको सहयोगमा १० लाख रुपैयाँ बढी छुट उपलब्ध गराएको जानकारी दिए । अस्पतालमा बुटवलबाट २४५, दाङको लमहीबाट ६८ र पाल्पाबाट ३१ गरी ३४४ जना मिर्गौलाका बिरामीले नियमित डायलासिस सेवा लिँदै आएको अस्पतालका अस्पतालका निर्देशक डा. समीर गौतमले जानकारी दिए ।


कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्यद्वय भोजप्रसाद श्रेष्ठ र विष्णु पन्थीले कतिपय सरकारी नियम र कार्यविधि नै विकासका बाधक बन्ने गरेकाले सरकारले त्यस्ता नीति–नियम र कार्यविधि परिमार्जन गर्न आवश्यक रहेकामा जोड दिए । संस्थाका सचीव दिनेशराज रेग्मीको सञ्चालनमा भएको कार्यक्रममा तिलोत्तमा नगर उपप्रमुख जगेश्वरदेवी चौधरी, रूपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेल, रोटरी इन्टरनेसनल डिस्ट्रिक ३२९२ नेपाल–भुटानका गभर्नर नोमिनी राजेन्द्र ध्वजु, तिलोत्तमा उद्योग वाणिज्य संघ अध्यक्ष गुणनिधि भण्डारीलगायतले बोलेका थिए ।