close

नक्कली भुटानी शरणार्थी प्रकरण : धरौटीमा छुटे १० जना

नक्कली भुटानी शरणार्थी प्रकरण : धरौटीमा छुटे १० जना

Trulli
ADVERTISEMENT

काठमाडौं- उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीसहित नौ जनालाई थुनामै राख्न आदेश दिएको छ । न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासले रायमाझीलाई थुनामै राख्न आदेश दिएको हो ।

तर यो प्रकरणमा संलग्न भएको अहिले नै प्रमाण नदेखिएकाले टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई भने ३० लाख रुपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । 

यता पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई धरौटीमा छाड्ने निर्णयमा भने न्यायाधीशको मत बाझिएको छ । एक जना न्यायाधीशले  बालकृष्ण खाँणलाई ३० लाख रुपैयाँ धरौटीमा छुटाउन आदेश दिए पनि अर्का न्यायाधीशले थुनामै राख्न आदेश दिएपछि अब उनको मुद्दा अर्को इजलासमा जानेछ । बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसी भने धरौटीमा रिहा भएका छन् ।

यस्तै, अदालतले भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई धरौटीमा छाड्न आदेश दिएको छ । रिजाललाई १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । भुटानी शरणार्थीलाई अमेरिका लैजाँदा पैसा लिएको अहिले नै प्रमाणित नभएको र उनको स्वास्थ्य अवस्था नाजुक रहेको तथा शरणार्थी भएकाले भागेर विदेश जान नसक्ने देखिएकाले रिजाललाई १५ लाख रुपैयाँ धरौटीमा छाड्न उचित हुने अदालतले जनाएको छ । 

यस्तै, धरौटीमा छुट्नेहरूमा टेकनाथ रिजाल, नरेन्द्र केसी र सन्दीप रायमाझीसहित हरिभक्त महर्जन, लक्ष्मी महर्जन, शमशेर मियाँ, आशिष बुढाथोकी, टेक गुरुङ, रामशरण केसी र केशव तुलाधर रहेका छन् ।