close

लुम्बिनी प्रदेशमा पिसीआर परीक्षण अब स्वचालित मेसिनबाटै

लुम्बिनी प्रदेशमा पिसीआर परीक्षण अब स्वचालित मेसिनबाटै

Trulli
ADVERTISEMENT

रुपन्देही - प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा कोभिड-१९ को पिसीआर परीक्षणका लागि पूर्ण स्वचालित मेसिन जडान गरिएको छ । योसँगै लुम्बिनी प्रदेशमा ३ वटा पूर्ण स्वचालित मेसिन जडान भएका छन् । 


स्वचालित आरएनए एक्सट्रक्सन मेसिनबाट पिसीआर परीक्षण गर्दा एक घन्टामा रिपोर्ट तयार हुन्छ । म्यानुअली आरएनए एक्सट्रक्सन गर्दा ६ घन्टा समय लाग्थ्यो । प्रयोगशालामा जडान भएको स्वचालित मेसिनले एक पटकमा २४ वटा नमुना जाँच गर्न मिल्छ । 


म्यानुअलको तुलनामा स्वचालित मेसिनले जनशक्ति र समय दुवै कम लाग्ने प्रदेश जनस्वास्थ्य प्रयोगशालाका इन्चार्ज प्रेम यादवले जानकारी दिए ।


‘प्रदेशको सामाजिक विकास मन्त्रालयले एक पटकमा ९६ वटा पिसीआर जाँच गर्न मिल्ने पूर्ण स्वचालित मेसिन खरिद सम्झौता गरिसकेको छ । विश्व बजारमा प्रयोगमा आएका नयाँ प्रविधियुक्त उपकरण प्रयोगशालामा जडान गर्दै जाने योजना छ’, यादवले भने ।


कोरोना परीक्षणको दायरा बढाउन म्यानुअल र स्वचालित दुवै मेसिन प्रयोग भइरहेकाले दसैंअघि संक्रमण भएका सबैलाई पहिचान गरेर संक्रमण समुदाय स्तरमा फैलिन रोक्ने रणनीति बनाइँदै गरेको प्रदेश सामाजिक विकासमन्त्री सुदर्शन बरालले बताए ।


‘प्रदेश जनस्वास्थ्य प्रयोगशालामा अहिले ६ सय बढी नमुनाको चाङ छ । पूर्ण स्वचालित मेसिनले परीक्षण थालेपछि त्यो चाङ कम हुनेछ’, बरालले भने । अहिलेसम्म प्रयोगशालामा ३० हजार बढी नमुना परीक्षण भएको तथ्यांक छ । लुम्बिनी प्रदेशमा ६ सरकारी र २ निजी प्रयोगशालाबाट पिसीआर परीक्षण भइरहेको छ । 


बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल, बाँकेको भेरी अस्पताल र प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरी ३ वटा पूर्ण स्वचालित मेसिन छन् । प्रदेश प्रयोशालालाई संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) ले मेसिन उपलब्ध गराएको हो ।