close

धवलागिरिको विशेष गाउँसभा : पहिरोबाट विस्थापितलाई एकीकृत बस्ती निर्माण

धवलागिरिको विशेष गाउँसभा : पहिरोबाट विस्थापितलाई एकीकृत बस्ती निर्माण

Trulli
ADVERTISEMENT

म्याग्दी - म्याग्दीको धवलागिरि गाउँपालिकाको विशेष गाउँसभा बिहीबार मुनामा सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष थमसरा पुन अध्यक्षताको सभामा उपाध्यक्ष रेशम छन्त्यालले प्रस्तुत गरेको गत आवमा खर्च हुन बाँकी बजेट बाँडफाँट प्रस्ताव पारित भएको छ । 


३४ योजना तथा कार्यक्रमका लागि ३ करोड ४९ लाख हजार रुपैयाँ बजेट विनियोजन गरेको कार्यपालिकाका प्रवक्ता झकबहादुर छन्त्यालले जानकारी दिए ।


गत २५ र २६ असारमा गएको पहिरोका कारण ठूलो जनधनको क्षति बेहोरेको वडा-६ मराङ र वडा-७ ताकमका योजनालाई बजेट विनियोजनमा प्राथमिकता दिइएको छ । गत असारमा भएको आठाै‌ गाउँसभामा विकास आयोजना तथा कार्यक्रमका लागि पुँजीगत शीर्षकमा १२ करोड ६५ लाख ५२ हजार ५ सय ८० रुपैयाँको बजेट पारित भएको थियो ।


विशेष गाउँसभाले पारित गरेको बजेट, योजना तथा कार्यक्रममा समावेश गरेर कार्यान्वयन गरिने प्रमुख प्रशासकीय अधिकृत गोपाल शर्माले बताए । 


पहिरोपीडितको आवास पुनर्निर्माणका लागि ४९ लाख ७३ हजार रुपैयाँ विनियोजन गरेको गाउँसभाले प्रकोप व्यवस्थापन कोषमा ५० लाख छुट्याएको छ । स्वदेश तथा विदेशमा रहेकाहरूले ४२ लाख रुपैयाँ जम्मा गरेको प्रकोप व्यवस्थापन कोषमा पालिकाका जनप्रतिनिधि एवं कर्मचारीबाट ८ लाख संकलन भएको अध्यक्ष पुनले गाउँसभामा जानकारी गराए । 


‘पालिकाभित्र भौतिक संरचना पुनर्निर्माणका लागि कम्तीमा २६ करोड बजेट आवश्यक पर्ने प्रारम्भिक अनुमान छ’, अध्यक्ष पुनले भने, ‘गाउँपालिकाले सुरु पहिरोपीडितको पुनस्र्थापना, क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माणमा प्रदेश र संघ सरकारबाट पनि बजेट आउने अपेक्षा गरेका छौं ।’


मराङको रिख, राम्चे, कल्लेनी, ठूलोगाउँ र कुम्रीमा १९ को मृत्यु तथा २ जना बेपत्ता भएका थिए । धवलागिरिको वडा-६ मा २४, वडा-७ मा ४२ र ५ मा ४ घरमा पूर्ण  क्षति भएको छ । पहिरोबाट विस्थापितलाई एकीकृत बस्ती बनाएर पुनस्र्थापना गर्न भूगर्भविद्को टोलीबाट अध्ययन तथा डिपीआर बनाउने निर्णय गरेको कार्यपालिकाका प्रवक्ता छन्त्यालले बताए ।


गत आव ०७६/७७ को खर्च अनुमोदनसम्बन्धी प्रस्ताव भने सदस्यहरूले अध्ययनका लागि समय मागेपछि पारित हुन सकेन । 


पहिरो प्रभावित बिम-मराङ-मल्कवाङ सडक मर्मतका लागि १५ लाख, युवा स्वरोजगारलाई ३० लाख, पदाधिकारी सुविधाका लागि ४१ लाख, मुना–मुदी र मुना–लुलाङ सडक मर्मतका लागि १५ लाख, शिवाङ आवासीय विद्यालय होस्टेल कर्मचारी पारिश्रमिक र व्यवस्थापनमा १० लाख विनियोजन भएको छ ।


यस्तै, हेम नमुना आवासीय माविको भवनलाई ११ लाख ७० हजार, लुलाङ वडा कार्यालय भवनलाई ४ लाख, मुना स्वास्थ्य चौकी भवनमा ग्याबिन जाली लगाउन ५  लाख र जनता आवास कार्यक्रमलाई २५ लाख रुपैयाँ विनियोजन भएको छ ।


आवधिक योजना निर्माण गर्न १० लाख र मध्यकालीन खर्च संरचना बनाउन ५ लाख विनियोजन भएको छ । गाउँपालिका अध्यक्ष पुनले कोरोना रोकथाम, पहिरोपीडितलाई सुरक्षित बसोबास व्यवस्थापनसँगै नियमित सेवा प्रवाह र विकास निर्माणका कामलाई अघि बढाउने दायित्व पूरा गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिए । 


कार्यक्रममा गाउँसभा सदस्य झक छन्त्याल, देउप्रसाद छन्त्याल, पुर्म पुन, खर्ककुमारी छन्त्याल, राजाराज सुवेदी, तिलकुमारी केसीलगायतले बजेटबारे जानकारी दिएका थिए । 


गाउँसभालगत्तै बसेको कार्यपालिका बैठकले चाडपर्व समय कोरोना महामारी फैलन सक्ने सम्भावित जोखिम न्यूनीकरण गर्न अति आवश्यकबाहेकका काममा बिनाअनुमति पालिका भित्रन, एउटा बस्तीदेखि अर्को बस्ती आउजाउ गर्न रोक लगाएको छ । वडाध्यक्षलगायत जनप्रतिनिधिसँग समन्वय गरेर मात्र बाहिरबाट आएकालाई आजा गर्न दिने निर्णय बैठकले गरेको छ । 


सो अवसरमा आव ०७६/७७ को योजना तथा कार्यक्रम कार्यान्वयनमा उत्कृष्ट कार्यसम्पादन गर्ने प्राविधिक, कर्मचारी र कार्यालय सहयोगीलाई प्रशंसापत्रबाट सम्मान गरिएको थियो ।